• १२ कात्तिक २०८१, सोमबार

अर्बुद रोगीलाई दस लाखको औषधी निःशुल्क

blog

काठमाडौँ, कात्तिक १० गते । नेपालमा अर्बुद (क्यान्सर) रोगका बिरामीले मासिक १० लाख रुपियाँसम्मको औषधी निःशुल्क प्राप्त गरिरहेका छन् । अर्बुद रोगको उपचारमा ‘दी म्याक्स फाउन्डेसन’ ले महिनामा १० लाख रुपियाँसम्मको औषधी निःशुल्क उपलब्ध गराएको हो । 

पाटन अस्पतालका दुई जना बिरामीले २१ हजार ६३४ अमेरिकी डलर अर्थात् झन्डै २८ लाख ९८ हजार रुपियाँ पर्ने क्यान्सरको औषधी सेवन गरिरहेका छन् । क्यान्सरको स्केम्बिक्स नामक औषधीको २१ हजार ६३४ अमेरिकी डलर पर्छ । 

क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले नेपालमा क्यान्सर रोगको उपचार निःशुल्क पाउने विषयले प्रचार नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय क्यान्सरका औषधीलाई निःशुल्क प्रदान गरिएको छ । २१ हजार डलर पर्ने औषधी सेवनकर्ता दुई जना छन्, तीबाहेक मासिक १० लाख रुपियाँसम्मको औषधी निःशुल्क पाइरहेका छन् ।” 

म्याक्स फाउन्डेसनले दिन्छ औषधी

नेपालमा उक्त औषधी ‘दी म्याक्स फाउन्डेसन’ ले उपलब्ध गराएको हो । म्याक्सकी आमा एवं फाउन्डेसनकी कार्यकारी प्रमुख प्याट गार्सिया गोन्जालोजले आफ्नो छोरालाई रगतको क्यान्सर हुँदा औषधी नपाएर मृत्यु भएकाले आफूले छोराको नाममा फाउन्डेसन सञ्चालन गरेर क्यान्सरका निःशुल्क औषधी वितरण गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मेरो छोरालाई १३ वर्षको उमेरमा क्यान्सर लाग्यो, १७ वर्ष हुँदा निधन भएपछि क्यान्सरविरुद्ध अभियान सञ्चालन गरिरहेकी छु ।” 

गार्सियाले नेपालसँगै विश्वका ८३ देशमा फाउन्डेसनमार्फत क्यान्सरका बिरामीलाई औषधी उपलब्ध गराउनुहुन्छ । उहाँले छोराको मृत्यु भए पनि अहिले छोरा म्याक्सलाई ८३ देशमा रहेको अनुभूति गरिरहेको बताउनुभयो । म्याक्सको मृत्यु भएको छ वर्षपछि सन् १९९७ मा ल्याटिन अमेरिकी परिवारले ‘दी म्याक्स फाउन्डेसन’ को स्थापना गरेको थियो । संस्थाले सन् २००१ देखि न्युन तथा मध्यम आय भएका देशमा क्यान्सरका बिरामीका लागि निःशुल्क औषधी उपलब्ध गराउन थालेको हो । 

   

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।