• ११ असोज २०८१, शुक्रबार

गरिब तथा विपन्नको स्वास्थ्य बिमा

blog

गाउँपालिकाको कार्यालय । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, असोज ७ गते । म्याग्दीको मालिका गाउँपालिकाले गरिब तथा विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न स्वास्थ्य बिमा कार्यक्रम लागु गरिएको छ । आर्थिक अवस्था कमजोर भएका गाउँपालिका भित्रका गरिब तथा विपन्न नागरिकहरुलाई स्वास्थ्य उपचारमा सहजता ल्याउन पालिकाले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम लागु गरेको हो ।

चालु आर्थिक वर्षमा गरिब तथा विपन्न, दलित र महिला स्वयंसेविकाहरु गरेर नौ सय जनाको पालिकाले प्रतिनागरिक तीन हजार पाँचसय रुपियाँका दरले बिमा शुल्क भुक्तानी गरेर स्वास्थ्य बिमा कार्यक्रममा समावेश गर्न लागिएको गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । निशुल्क बिमा कार्यक्रमका लागि चालु आर्थिक वर्षमा गरिब, विपन्न र दलितका लागि ३० लाख र महिला स्वयंसेविकाको लागि ३ लाख गरेर ३३ लाख रुपियाँ बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष गर्बुजाले जानकारी दिनुभयो । 

आर्थिक अवस्था कमजोर भएका कारण गरिब तथा विपन्न घरपरिवार स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भनेर गाउँपालिकाले नै उनीहरुको स्वास्थ्य बिमा गरिदिन लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘स्वास्थ्य बिमा कार्यक्रममा समावेश हुन आवश्यक पर्ने तीनहजार पाँच सय रुपियाँ शुल्क तिर्न नसकेका कारण गरिब तथा विपन्न घरपरिवार स्वास्थ्य बिमा कार्यक्रममा समावेश हुनबाट वञ्चित हुनुपरेको छ । त्यस्ता परिवारहरुलाई स्वास्थ्य सेवामा पहुँच वृद्धिका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेका छौं।’’ 

एउटा घरपरिवारमा एक जना सदस्यको स्वास्थ्य बिमा गरेपछि पाँच जना सदस्यहरुले एक वर्षको अवधिमा एकलाख रुपियाँ बराबरको स्वास्थ्य उपचार सेवा पाउने व्यवस्था भएकाले गाउँपालिको सञ्चालन गरेको निःशुल्क बिमा कार्यक्रमबाट गरिब तथा विपन्न नागरिकहरु लाभान्वित हुने पालिका अध्यक्ष गर्बुजाले विश्वास व्यक्त गर्नुभयो । 

बिमा कार्यक्रम कार्यान्वयन गर्न वडातहमा लाभग्राहीहरुको तथ्याङ्क सङ्कलन सुरु गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । बिमा कार्यक्रममा समावेश हुने गरिब, विपन्न, दलित र महिला स्वयंसेविकाहरुको वडा तहबाट तथ्याङ्क सङ्कलनको काम थालिएको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक सन्तुकुमारी कार्कीले जानकारी दिनुभयो।

वडा तहमा सङ्कलन भएका लाभग्राहीको नामवाली उपर वडा कार्यालयले छानबिन गरी गाउँपालिकामा पठाउने र गाउँ कार्यापालिकाको बैठकबाट निर्णय भएपछि स्वास्थ्य बिमाको दर्ता सहयोगीमार्फत तोकिएका नागरिकहरुको बिमा गरिने उहाँले बताउनुभयो । असोज महिनाभित्र दर्ता सहयोगी मार्फत बिमा गरिसक्ने योजना रहेको उहाँले बताउनुभयो ।