• २० चैत २०८२, शुक्रबार

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

blog

नयाँ दिल्ली, चैत १९ गते । अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा सुरक्षास्थितिलाई मध्यनजर गर्दै पश्चिम एसिया क्षेत्रबाट छ लाख बढी यात्रु भारत फर्किएको भारत सरकारका एक उच्च अधिकारीले बिहीबार जानकारी दिनुभएको छ। 

उहाँले युएईमा घाइते भएका भारतीय नागरिकहरूको बारेमा पनि जानकारी दिनुभयो र यस क्षेत्रमा भारतीय समुदायको सुरक्षा र कल्याण सरकारको सर्वोच्च प्राथमिकता रहेको बताउनुभयो ।

भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव असीम आर महाजनले राजधानीमा भएको अन्तर–मन्त्रालय रिपोर्टिङ्का क्रममा उक्त जानकारी दिनुभयो। 

महाजनले भन्नुभयो, “फेब्रुअरी २८ यता करिब छ लाख २४ हजार यात्रुले यस क्षेत्रबाट भारत यात्रा गरेका छन् । एयरलाइन्सहरूले युएई र भारतबीच सीमित विशेष उडानहरू सञ्चालन गरिरहेका छन् । 

बिहीबार युएईबाट भारतका विभिन्न गन्तव्यहरूमा लगभग ९० उडानहरू हुने अपेक्षा गरिएको छ। उहाँका अनुसार साउदी अरब र ओमानका विभिन्न विमानस्थलबाट भारतका विभिन्न गन्तव्यमा उडान भइरहेका छन् ।

महाजनले भन्नुभयो, “कतार एयरवेजले आज भारतमा ८ देखि १० वटा उडान गर्ने अपेक्षा गरिएको जनाएको छ । कुवेत र बहराइनका हवाई क्षेत्र बन्द रहेका छन् । कुवेतको जजिरा एयरवेज र बहराइनको गल्फ एयरले साउदीको दमाम विमानस्थलबाट भारतका विभिन्न गन्तव्यमा उडान भर्दै आएका छन् । यसले कुवेत र बहराइनबाट भारतीय नागरिकहरूको यात्रालाई सहज बनाएको छ।” 

हवाई क्षेत्र बन्द भएका कारण इरानबाट अर्मेनिया र अजरबैजान हुँदै भारतमा उडान भएका छन् । त्यस्तै, इजरायलबाट इजिप्ट र जोर्डन, इराकबाट जोर्डन र साउदी अरब, कुवेत र बहराइन हुँदै साउदी अरब र त्यहाँबाट भारत आवागमन गर्न सरकारले सहजीकरण गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । 

युएईमा बुधबार भएको घटनाबारे जानकारी दिँदै महाजनले भन्नुभयो, “युएईको उम्म अल क्वाइनमा हिजो भएको आक्रमणमा एक भारतीय नागरिक घाइते भएको र अहिले उहाँको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । हाम्रो वाणिज्य दूतावासले घाइते भारतीय नागरिकलाई सबै सहयोग गरिरहेको छ ।”

गल्फ न्यूजका अनुसार उम्म अल थाउब क्षेत्रको एक औद्योगिक प्रतिष्ठान नजिकै ड्रोनको भग्नावशेष खस्दा एक भारतीय नागरिक घाइते भएका थिए।

महाजनले आफ्नो टिप्पणीमा विदेश मन्त्रालयले खाडी र पश्चिम एसिया क्षेत्रमा विकसित भइरहेको स्थितिलाई नजिकबाट निगरानी गरिरहेको र यस क्षेत्रमा ठूलो भारतीय समुदायको सुरक्षा र उद्धार सुनिश्चित गर्नु सरकारको सर्वोच्च प्राथमिकता रहेको बताउनुभयो । रासस