• २० चैत २०८२, शुक्रबार

डुम्रे–बेसीशहर सडक दैनिक ८ घण्टा बन्द हुने

blog

डुम्रे–वेसीसहर सडक खण्ड । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, चैत १९ गते । डुम्रे–बेसीशहर–चामे सडक योजना अन्तर्गत डुम्रे–वेसीशहर सडक खण्डको भानु नगरपालिकामा सडक विस्तारका लागि दैनिक आठ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ । 

भानु नगरपालिकाको ढुकुर्दी क्षेत्रदेखि तुरतुरेसम्म सडक खन्ने (रोडवे एक्साभेसन)  कार्य गर्नुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालय तनहुँले सडक बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत विकास श्रेष्ठद्वारा जारी विज्ञप्तिमा सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न र निर्माण कार्यलाई तीव्रता दिन चैत २१ गतेदेखि ३० गतेसम्म सडक बन्द गरिने उल्लेख गरिएको छ । 

यस अवधिमा भानु नगरपालिकाको चाम्बासदेखि तुरतुरेसम्मको सडक खण्डमा दुई चरणमा सवारी आवागमन रोकिने छ । जसअनुसार दिउँसो १२ः०० बजेदेखि ४ः०० बजेसम्म र बेलुका ५ः०० बजेदेखि राति ९ः०० बजेसम्म सडक पूर्ण रूपमा अवरुद्ध हुनेछ ।

सडक अवरुद्ध रहने समयमा यात्रुहरूलाई वैकल्पिक मार्गको रूपमा तुरतुरे–पालुङटार–खत्रीटार हुँदै विमलनगरको बाटो प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ । निर्माण कार्यमा सहजीकरण गरिदिन र सडक अवरुद्ध हुँदा पर्न जाने असुविधाप्रति प्रशासनले क्षमा मागेको छ ।  प्रशासनले डुम्रे बेसीशहर चामे सडक योजनाको पत्रका आधारमा यो सूचना जारी गरिएको जनाएको छ ।