• १९ चैत २०८२, बिहिबार

‘बाटैबाटो’ लिएर सुदूरपश्चिम–कर्णाली यात्रामा कथा घेरा टिम

blog

घुम्ती सडक नाटक ‘बाटैबाटो’ प्रदर्शन गर्दै कलाकारहरू। तस्बिर : नीराजन परियार

नीराजन परियार
चौमाला (कैलाली), चैत १९ गते।
महिला सशक्तीकरण र श्रममा समान अवसरको सन्देश बोकेको घुम्ती सडक नाटक ‘बाटैबाटो’ सुदूरपश्चिमका विभिन्न जिल्लामा मञ्चन भइरहेको छ।

कौशी थिएटर ‘कथा घेरा’ टिम यतिबेला घुम्ती सडक नाटक ‘बाटैबाटो’ लिएर सुदूरपश्चिम र कर्णाली प्रदेशको यात्रामा निस्किएको छ।

महिलालाई घरभित्र सीमित राख्ने परम्परागत सोच अझै पनि विद्यमान रहेको उल्लेख गर्दै नाटकले यस्ता सामाजिक धारणा र पूर्वाग्रहलाई चुनौती दिने प्रयास गरेको छ। महिलाले घर र पेसागत जीवन दुवैलाई सन्तुलित रूपमा अगाडि बढाउन सक्ने सन्देश प्रवाह गर्ने उद्देश्यले नाटक सुरु गरिएको कथा घेरा थिएटरकी निर्देशक आकाङ्क्षा कार्कीले बताउनुभयो।

उहाँका अनुसार परिवार, समुदाय र समाजका सदस्यहरूले महिलालाई आर्थिक गतिविधिमा सहभागी हुन प्रोत्साहन र समर्थन गर्नुपर्ने आवश्यकतालाई नाटकले उजागर गरेको छ।

यो नाटकका लागि कलाकार समूहले एक महिनादेखि अभ्यास गरेको थियो। ८ जना कलाकारसहित संगीतकर्मी, निर्देशक, संयोजक तथा व्यवस्थापक गरी १२ सदस्यीय टोली अहिले सुदूरपश्चिम भ्रमणमा रहेको छ।

कलाकार–निर्देशक लुनिभा तुलाधरले महिलालाई समाजमा बराबरी अवसर दिनुपर्ने सन्देश नाटकमार्फत प्रस्तुत गरिएको बताउनुभयो।

अभियानअन्तर्गत चैत ११ गते धनगढीबाट सुरु भएको प्रस्तुति १३ गते महेन्द्रनगर हुँदै सुदूरपश्चिमका पहाडी जिल्लामा पुगेको छ।

कैलालीको धनगढीबाट सुरु भएको यो यात्रा चैत ३० गते सल्यानको सल्लीबजारमा समापन हुनेछ। टोलीले सुदूरपश्चिम र कर्णालीका विभिन्न स्थानमा नाटक मञ्चन गर्ने लक्ष्य लिएको छ।

कार्यतालिकाअनुसार चैत १३ गते महेन्द्रनगर, १५ गते डोटीको जोरायल, १७ गते डडेल्धुराको अमरगढी, १८ गते बैतडी, १९ गते डोटीको दिपायल र २० गते अछामको मंगलसेनमा प्रस्तुति रहनेछ।

सुदूरपश्चिमको यात्रापछि टोली कर्णाली प्रदेशमा केन्द्रित हुनेछ। तालिकाअनुसार २२ गते दैलेखको दुल्लु, २४ गते नारायण, २६ गते सुर्खेतको वीरेन्द्रनगर, २८ गते भेरीगंगा र ३० गते सल्यानको सल्लीबजारमा नाटक मञ्चन गरिनेछ।

नाटकमा वेनिशा आचार्य, नेबिका सिलधर, सेविता अधिकारी, सुस्मिता कुँवर, जीवन ढकाल, विजय नेपाल, प्रसुनकुमार खत्री र रोबित मुनि तुलाधरसहित ८ जना कलाकार तथा संगीतकर्मीको सहभागिता रहेको छ।

भ्रमण टोलीमा निर्देशक सुदाम छात्कुली र लुनिभा तुलाधर पनि सहभागी हुनुहुन्छ।

यो अभियानले महिला र युवालाई कृषि क्षेत्रमा समावेश गर्दै रोजगारी सिर्जना, आम्दानी वृद्धि तथा निजी क्षेत्रसँग सहकार्यमा अवसर विस्तार गर्ने लक्ष्य राखेको छ।