• २० चैत २०८२, शुक्रबार

इरानलाई ढुङ्गेयुगमा फर्काइदिने ट्रम्पको चेतावनी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २० गते । इरान वार्ता र सम्झौताको पक्षमा नआएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ढुङ्गेयुगमा फर्काइदिने चेतावनी दिनुभएको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । उहाँले अबका दुई/तीन साता इरानमाथि भीषण आक्रमण हुने बताउनुभएको छ । 

बुधबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले यो युद्धमा अमेरिका आफ्ना मुख्य रणनीतिक लक्ष्यको नजिक पुगेको पनि दाबी गर्नुभयो । अमेरिका–इजरायल र इरानबिच विगत ३५ दिनदेखि युद्ध जारी छ । “सैन्य कारबाहीमा अमेरिकी सेनाले कम समयमै निर्णायक र शक्तिशाली विजय हासिल गरेको छ । अब इरान सुरक्षा खतरा होइन,” ट्रम्पले आफ्नो सम्बोधनमा भन्नुभयो, “म आज भन्न सक्छु– हामी चाँडै, धेरै चाँडै, अमेरिकाका सबै सैन्य लक्ष्य पूरा गर्ने बाटोमा छौँ, अबको दुई/तीन साता हामी उनीहरूमाथि निकै कडा प्रहार गर्ने छौँ । हामी उनीहरूलाई ढुङ्गेयुगसम्म पु¥याउने छौँ ।”

गएको फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि पश्चिम एसियामा हजारौँ मानिस मारिएका छन् । त्यसलगत्तै इरानले इजरायल, अमेरिकी सैन्य अड्डा र खाडी देशमा आक्रमण गरेको छ । युद्धका कारण इरानले तेल ओसारपसार हुने महत्वपूर्ण जलमार्ग ‘स्ट्रे अफ हर्मुज’ बन्द गरेको छ । यसले विश्वबजारमा असर पार्नुका साथै ट्रम्पको लोकप्रियतामा गिरावट आएको छ । पछिल्लो समय अमेरिकाका विभिन्न राज्यमा ट्रम्पविरोधी प्रदर्शन भइरहेका छन् ।

यसैबिच इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको छ । उक्त आक्रमण राष्ट्रपति ट्रम्पले युद्धसम्बन्धी विषयमा अमेरिकी जनतालाई सम्बोधन गरेलगत्तै भएको बताइएको छ । पहिलो आक्रमणपछि मध्यइजरायलका विभिन्न प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सञ्चार माध्यमका अनुसार करिब नौ स्थान प्रभावित भएका छन् । इजरायली सञ्चार माध्यमले आक्रमणबाट फराकिलो क्षेत्रमा क्षति पुगेको उल्लेख गर्दै यसका कारण क्लस्टर हतियारको प्रयोग हुन सक्ने बताएका छन् । यस्ता हतियार हावामै विस्फोट भई साना बम छर्छन् । इरान र इजरायलले यसअघि पनि एकअर्कामाथि क्लस्टर बम प्रयोगको आरोप लगाउँदै आएका छन् ।