• ६ जेठ २०८१, आइतबार

हाब्रे संरक्षण गर्न कुकुरलाई खोप

blog

काठमाडौँ, वैशाख २८ गते । विश्वमै दुर्लभ मानिएको वन्यजन्तु हाब्रे (रेडपान्डा) संरक्षण गर्न घरपालुवा जनावर कुकुरलाई रेबिजविरुद्धको खोप दिन थालिएको छ ।  खर्कमा गोठालासँगै बस्ने सिकारी कुकुरले हाब्रेलाई आक्रमण गर्न थालेपछि हाब्रेमा रेबिज रोग सर्न सक्ने डरले ती कुकुरलाई रेबिजविरुद्धको खोप दिन थालिएको हो । 

हाब्रे संरक्षणमा काम गरिरहेको रेडपान्डा नेटवर्कले हाब्रे पाइने ताप्लेजुङ, पाँचथर, इलाम, डोल्पा, जाजरकोट, रोल्पा, पश्चिम रुकुम, पूर्वी रुकुमलगायतका जिल्लाका कुकुरलाई खोप लगाउन सुरु गरेको हो । नेटवर्कका अनुमगन अधिकृत पेमा शेर्पाका अनुसार गोठालासँग गोठमा बस्ने सिकारी कुकुरबाट हाब्रे पीडित हुन थालेपछि कुकुरलाई सुरक्षित राख्न खोप लगाउने अभियान सुरु गरिएको हो ।  यस वर्ष जाजरकोटमा रेबिजविरुद्धको खोप लगाउने कार्य सञ्चालन भइरहेको शेर्पाले बताउनुभयो । यस अभियानलाई हाब्रे पाइने सबै जिल्लामा चरणबद्ध ढङ्गले सञ्चालन गरिनेछ । 

उच्च हिमाली क्षेत्रका बस्तीमा पनि हाब्रे आउने भएकाले गत वर्ष गाउँघरमा पालिएका कुकुरमा पनि रेबिजविरुद्धको खोप दिइएको थियो । गत वर्ष दुई हजार ४९ कुकुरलाई खोप लगाइएको उहाँले बताउनुभयो । नेटवर्कले इलाम जिल्लाको हाब्रेको बासस्थान सुधार गर्न ७७८ रोपनी निजी जग्गा किनेर वृक्षरोपण गर्न थालेको छ । वन्यजन्तु हिँड्ने, चर्ने क्षेत्रमा भएको निजी जग्गा खरिद गरेर मालिङ्गो, निगालोलगायतका डाले घाँसका बिरुवा रोप्ने काम भइरहेको नेटवर्कका कार्यक्रम संयोजक सोनाम टासी लामाले जानकारी दिनुभयो । 

लामाले हालै बेलायतबाट प्राप्त गरेको ह्विट्ली कन्जरभेसन अवार्डको ४० हजार पाउन्डलाई पनि हाब्रेको बासस्थान सुधारमा लगाइने भएको छ । पुरस्कृत लामाले भन्नुभयो, “मैले पाएको पुरस्कारको रकम इलाममा रेडपान्डा बासस्थान सुधारका लागि बाँकी रहेको काममा लगाउने योजना बनेको छ । त्यो रकमले पनि पुग्दैन होला । त्यहाँ काम गर्नुपर्ने अझै धेरै छ ।”

नेटवर्कले इलाममा मात्रै थप एक सय हेक्टर क्षेत्रलाई हाब्रेको बासस्थान पुनःस्र्थापना गर्ने योजना बनाएको छ । सो कामका लागि नेटवर्कले विदेशी संरक्षण दाताहरूसँग सहयोग जुटाइरहेको लामाले बताउनुभयो । नेपालतर्फ बासस्थान खण्डीकरण हुँदै जाँदा हाब्रेहरू सीमा क्षेत्रसँग जोडिएको भारतीय सिङ्गलिला राष्ट्रिय निकुञ्जतर्फ जाने गरेका छन् ।

नेटवर्कले हाब्रेको अध्ययन गर्न १० वटा हाब्रेमा जीपीएस कलर गरेको छ । सो प्रविधिबाट प्राप्त तथ्याङ्कअनुसार बासस्थान राम्रो भएकाले नेपालका हाब्रे अधिकांश समय भारततर्फ जाने गरेको देखिएको छ । त्यसैले नेटवर्कले नेपालतर्फ बासस्थान सुधारलाई प्राथमिकतामा राखेको छ ।