• १२ असार २०८१, बुधबार

हरेक मतदान स्थलमा स्वास्थ्यकर्मीको टोली

blog

काठमाडौँ, वैशाख २७ गते । स्थानीय तहको निर्वाचनमा प्रत्येक मतदान स्थलमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिने भएको छ । निर्वाचन आयोग र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा देशैभरका मतदान केन्द्रमा स्वास्थ्यकर्मी परिचालन गरिने भएको हो ।  

सातवटा प्रदेशका कुल ७५३ स्थानीय तहमा छवटा महानगर, ११ उपमहानगर, २७६ नगरपालिका तथा ४६० गाउँपालिका छन् । निर्वाचनमा देशभर १० हजार ७५६  मतदान स्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकिएका छन् । ती सम्पूर्ण मतदान केन्द्रमा स्वास्थ्यकर्मी खटिनेछन् । 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनमा स्वास्थ्यकर्मी खटाउने जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिइएको जानकारी दिनुभयो । आयोगले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी स्वास्थ्यकर्मी खटाउने 

उहाँले बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्राले हरेक मतदान स्थलमा अहेव, अनमी, स्वास्थ्य स्वयंसेविकालगायतको टोली खटिने उल्लेख गर्नुभयो । उहाँले स्थानीय निकायको समन्वयमा स्थानीयस्तरमै कार्यरत स्वास्थ्यकर्मीलाई खटाउन लागिएको जानकारी दिनुभयो । 

“कम्तीमा हरेक मतदान केन्द्रमा एक जना स्वास्थ्यकर्मी खटिनेछन्,” प्रवक्ता मिश्राले भन्नुभयो, “ती स्वास्थ्यकर्मीले प्राथमिक उपचार सेवासहितका सेवा प्रदान गर्नेछन् ।” मतदान केन्द्रमा मानिसको भीडभाड हुने र चोटपटक पनि लाग्न सक्ने सम्भावना हुने हुँदा स्वास्थ्यकर्मीले प्राथमिक उपचारका सामग्री लिएर बस्ने मिश्राले बताउनुभयो । 

स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन एकाइ प्रमुख तथा सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले हालसम्म हरेक मतदान केन्द्रमा प्राथमिक उपचार सेवासहित एक जना स्वास्थ्यकर्मीको टोली खटाउने निर्णय भए पनि मतदान स्थल हेरी कम्तीमा एक जना स्वास्थ्यकर्मी खटिने बताउनुभयो । 


Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।