• १६ भदौ २०८१, आइतबार

बाल सुधारगृहमा उमेर नाघेकाको चाप

blog

काठमाडौँ, साउन ३१ गते । २०८० असोज ४ गते बाँकेको जयन्दु बाल सुधारगृहमा बाल बिझ्याइँकर्ता (बालबन्दी) बिचको झडपमा रुपन्देही कञ्चन–४ का सुलभ केसीको ज्यान गयो । अन्य ११ जना बालक घाइते भए । १२० जना क्षमताको सो बाल सुधारगृहमा हाल २६६ जना १४ देखि ३० वर्षसम्मका बालबन्दी छन् । 

बालबन्दीको चापका कारण दुई वटा ब्लक (भवन) मा राखिएका बालबन्दीबिचको विवादमा अर्को ब्लकमा बस्ने वयस्क युवाको कुटाइबाट केसीको मृत्यु भएको सुधारगृहका प्रमुख विमला काउचामगर बताउनुहुन्छ । 

त्यसपछि सोही महिनाको २५ गते पुनः बालबन्दीबिच कुटपिट हुँदा ६५ जना बालबन्दी फरार भए । खाना खाने बेला लाइन बस्ने विषयमा चौकीदार र बालबन्दीबिच झडपका क्रममा भागेका दुई जना भारतीय बालबन्दी फेला परेनन् । 

५० जना क्षमताको कास्कीको सराङकोटस्थित बाल सुधारमा राखिएका १०१ जना कैदीबिच गत फागुन ११ गते यस्तै घटना दोहोरिँदा तीन जना बालबन्दी गम्भीर घाइते भए । २०७९ पुस र माघमा यो सुधारगृहमा आगजनीसमेत भयो । 

२०७९ भदौ ३ गते भक्तपुरको सानोठिमीस्थित सुधारगृहमा रामेछापको मन्थली–३ का २१ वर्षीय कमल बस्नेतको मृत्युकै विषयमा बालबन्दी नाराबाजी, तोडफोड आगजनीमा उत्रिएर २३१ कैदीबन्दी सडकमै आए । ११० क्षमताको सानोठिमी बाल सुधारगृहमा रहेका २५५ बालबन्दीमध्ये २४–३० वर्ष उमेर समूहका १८ जना लागुऔषध कसुरकालाई अन्यत्र सारियो । भदौ २६ गते पर्साको वीरगन्जस्थित बाल सुधारगृह लगिएका तिनै १८ जनाले त्यहाँ पहिले रहेका बालबन्दीसँग फेरि झडप गर्दा नियन्त्रण गर्न प्रहरीलाई नै समस्या भयो । 

बाल बिझ्याइँकर्तालाई बाल सुधारगृहमा व्यवस्थापनको समस्याका यी केही प्रतिनिधि घटना मात्र हुन् । पुराना भौतिक संरचनामा बढ्दो बालबन्दीको चापका कारण देशभरका नौ वटा बाल सुधारगृहमा क्षमताभन्दा दोब्बर रहेका बालबन्दीबिचको विवादले बाल सुधारगृह प्रायः अशान्त भइरहन्छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार देशभर रहेका नौ वटा बाल सुधारगृहको क्षमता ८९५ रहेकोमा बालबन्दीको सङ्ख्या बढेर एक हजार २५१ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता, चन्द्रकला पौडेलले बालबन्दीको सङ्ख्या बढ्दै जाँदा र १८ वर्ष उमेर पुगेका बालबन्दीलाई अन्यत्र व्यवस्थापन गर्न नसक्दा सुधारगृहमा चापसँगै उच्छृङ्खल गतिविधि हुने गरेको बताउनुभयो । उहाँले बालबन्दीको अधिकार र उनीहरूले पाउनुपर्ने न्यूनतम सुविधासँगै शिक्षा र सिप विकासका लागि मन्त्रालयले गृहकार्य गरिरहेको बताउनुभयो ।

मन्त्रालयको तथ्याङ्क अनुसार ५० जनाको क्षमता रहेको मोरङको पूर्वाञ्चल बाल सुधारगृहमा चौगुणाभन्दा बढी २२९, ६० जना क्षमताको पर्सास्थित वीरगन्ज बाल सुधारगृह ११३, ११० क्षमताको भक्तपुरस्थित बालसुधार गृह सानोठिमीमा २५५, ५० क्षमताको कास्की सराङकोटस्थित बाल सुधारगृहमा १०१ जना बालबन्दी राखिएको छ । 

१२० जना क्षमताको बाँके नेपालगन्जमा रहेको जयन्दु बाल सुधारगृहमा २६६, ६० क्षमताको रुपन्देही भैरहवास्थित बाल सुधारगृहमा ९१, २५ क्षमताको डोटी सिलगढीस्थित बाल सुधारगृहमा ५२ बालबन्दी छन् । ७० क्षमताको मकवानपुरस्थित भीमफेदी बाल सुधारगृहमा भने क्षमताभन्दा कम ६० जना र सबैभन्दा धेरै ३५० क्षमताको बाँकेको नौबस्ता बाल सुधारगृहमा जम्मा ११३ जना बालबन्दी राखिएका छन् । 

सुधारगृहमा गैरकानुनी बन्दी

क्षमताभन्दा धेरै बन्दी रहनुमा बाल सुधारगृहमा १८ वर्षभन्दा बढी उमेरका बन्दी राखिनु हो । बालबालिका ऐन अनुसार उमेर १८ वर्ष पुगे अन्य बालबालिकासँग अलग हुने गरी राख्नुपर्ने उल्लेख छ तर भौतिक संरचनाको अभावमा त्यो कार्यान्वयन भएको छैन । १८ वर्ष नाघेकालाई अरू व्यक्ति सरह कारागारमा राख्न सके यो समस्या कम हुने सुझाव अनुसार मन्त्रालयले छलफलसमेत सुरु गरेको जनाएको छ ।

बाल सुधारगृहमा रहेका बालबालिकाको उमेर १८ वर्ष पुगेमा बानीव्यहोरामा आएको सुधार, आर्जन गरिरहेको सिप आदि ख्याल गरेर अन्य बालबालिकासँग अलग राख्ने, अनुशासनविहीनलाई अन्य बालबालिकाबाट अलग्गै राखी सुधारगृहमा हुने कुटपिट र झडपका घटना कम गर्नेबारे समेत मन्त्रालयले तयारी गरेको जनाएको छ । यससँगै बालबन्दीको स्वास्थ्य जाँच, मनोपरामर्श, योग, ध्यान, सिप सिक्ने तथा सुधार हुने माध्यम नहुँदा बालबालिकामा मानसिक समस्या देखा पर्नेबारे समेत सचेत रहेको मन्त्रालयले जनाएको छ ।