• १२ साउन २०८१, शनिबार

भव्य उद्घाटनबिच पेरिस ओलम्पिक सुरु, नेपाली पदाधिकारीको भ्रमण मोह

blog

३३औँ गृष्मकालीन ओलम्पिकको फ्रान्सको राजधानी पेरिसमा औपचारिक उद्घाटन गरिँदै । तस्बिर : एपी/रासस

काठमाडौँ,  साउन १२ गते । विश्व खेलकुदको महामुम्भ ३३औँ गृष्मकालीन ओलम्पिक फ्रान्सको राजधानी पेरिसमा औपचारिक रुपमा सुरु भएको छ। फ्रान्सको पेरिसस्थित सेन नदीमा शुक्रबार राति भव्य समारोहबिच उद्घाटन  गरिएको हो ।

ओलम्पिकको औपचारिक उद्घाटन भएपनि केहि खेल भने जुलाई २४ तारिखदेखि नै सुरु भइसकेको छ । फुटबल, आर्चरी, रग्बी सेभेन्स र ह्यान्डबल उद्घाटनअघि नै सुरु भइसकेका थिए । ओलम्पिकको इतिहासमा उद्घाटन समारोह रङ्गशाला बाहिर भएको पहिलो पटक हो । 

ओलम्पिकमा सहभागी टोलीलाई डुङ्गा र ‘क्रुज’ मा राखेर सेन नदीमा मार्च पास गराइएको थियो । पेरिसस्थित पोन्ट दि अस्टरलिजबाट सुरु भएको मार्च पास विश्वचर्चित आइफल टावरमा पुगेर टुङ्गिएको थियो । कडा सुरक्षाबिच भएको उद्घाटन समारोहको मार्च पासका लागि ८५ डुङ्गा प्रयोग गरिएको थियो ।

नेपालको झण्डा स्यान्टु र मतिनाले बोक्नुभयो

ओलम्पिक मार्च पासमा नेपालको झण्डा टेबल टेनिसका श्यान्टु श्रेष्ठ र जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले बोक्नुभएको छ । लैङ्गिक समानतालाई मध्यनजर गरी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले टोकियो ओलम्पिक–२०२० को संस्करणदेखि पुरुष र महिला खेलाडीलाई मार्च पासमा राष्ट्रिय झण्डा बोक्न दिन सुरु गरेको थियो । 


मार्च पासमा श्यान्टु र मनितासहित नेपालबाट आठ जनाको सहभागिता रहेको थियो । नेपाली टोलीका ‘सेफ दि मिसन’ राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, एनओसीकी उपाध्यक्ष ज्योति राणा, एनओसीका सचिव रामजीबहादुर श्रेष्ठ, पौडी खेलाडी एलेक्जेन्डर शाह र ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल सहभागी हुनुहुन्थ्यो । मार्च पासमा नेपालसहित नामिबिया र नाउरुको टोलीलाई एउटै डुङ्गामा राखिएको थियो । 

मार्च पास सहभागी दुई सय ६ राष्ट्रका खेलाडी र अफिसियल गरेर करिब सात हजार मात्र सहभागी थिए । फ्रान्सले एक सय वर्षपछि ओलम्पिक आयोजना गरेको हो । पछिल्लो पटक सन् १९२४ को आठौँ सँस्करण पेरिस सहरमै भएको थियो । फ्रान्सले ओलम्पिक आयोजना गरेको यो तेस्रो पटक हो । सन् १९०० को ओलम्पिक पनि फ्रान्समै भएको थियो ।

नेपालका सात खेलाडी 

नेपालबाट ६ खेलमा सात खेलाडी सहभागी छन् । तीन पुरुष र चार महिला खेलाडी सहभागी छन् । टेबल टेनिसमा श्यान्टु श्रेष्ठ र ब्याडमिन्टनमा प्रिन्स दाहालले पुरुष सिंगल्समा प्रतिस्पर्धा गर्नुहुनेछ ।

यस्तै पौडीको पुरुष एक सय मिटर फ्रिस्टायलमा एलेक्जेन्डर शाह, महिलामा सुटिङकी सुस्मिताले १० मिटर एयर राइफल, पौडीकी डुवाना लामाले दुई सय मिटर फ्रिस्टायल, जुडोकी मनीता श्रेष्ठ प्रधानले ५७ केजीमुनि र एथलेटिक्सकी सन्तोषी श्रेष्ठले म्याराथन (४२.१९५ किलोमिटर) मा नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ । 


सन्तोषीको खेल पेरिस ओलम्पिकको अन्तिम दिन अगष्ट ११ तारिखमा छ । सातै नेपाली खेलाडीको यो ‘डुब्यु’ ओलम्पिक हो । टेबल टेनिस र ब्याडमिन्टनमा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको हो ।

त्यसमा श्यान्टु छनोट चरण पार गरेरै ओलम्पिकमा सहभागी हुनु भएको हो । नेपालमै भएको दक्षिण एसियाली ओलम्पिक छनोट प्रतियोगितामा पहिलो हुँदै श्यान्टुले पेरिस ओलम्पिकमा स्थान बनाउनुभएको थियो । 

गृष्मकालीन ओलम्पिकमा यस्तो उपलब्धी हात पार्ने श्यान्टु तेस्रो नेपाली खेलाडी हुनुहुन्छ । यसअघि संगीना वैद्यले सन् २००४ को एथेन्स ओलम्पिक तथा दीपक विष्टले सन् २००८ को बेइजिङ ओलम्पिक छनोट चरण पार गर्दै नेपालको प्रतिनिधित्व गर्नुभएको थियो । 

पेरिस ओलम्पिकमा दुई सय ६ राष्ट्रका करिब १० हजार पाँच सय खेलाडीले तीन सय २९ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । प्रत्येक चार वर्षको अन्तरालमा हुने ओलम्पिक यो पटक तीन वर्षमा भएको हो । ३२औँ संस्करणको टोकियो ओलम्पिक सन् २०२० लाई तय भएपनि कोभिड–१९ का कारण सन् २०२१ मा भएको थियो । 

ओलम्पिकमा नेपाली पदाधिकारीको भ्रमण मोह

नेपालले सन् १९६४ को टोकियो ओलम्पिकदेखि सहभागिता जनाउन थालेको हो । हरेक चार वर्षमा आयोजना हुने ओलम्पिकले ३३औँ संस्करण छुँदा नेपालले अहिलेसम्म पदक जित्न सकेको छैन । ओलम्पिकमा केबल सहभागितामै रम्दै आएको नेपाल खेलको नाममा खेल पदाधिकारीको जम्बो टोली भ्रणम गराउनमा भने हरेक संस्करणमा अगाडि देखिन्छ । 

ओलम्पिकको बहानामा नेपाली खेल पदाधिकारीको जम्बो टोलीको भ्रमण सँधै चर्चाको विषय बन्दै आएको छ । हरेक ओलम्पिकमा राज्य कोषको ठूलो रकम खर्च गरेर खेल सङ्घका पदाधिकारीलाई विदेश भ्रमणको राम्रो मौका बनेको छ । 


ओलम्पिकमा सात खेलाडी सहभागी गराएको नेपालबाट २१ पदाधिकारी विदेश सयरमा छन् । सहभागी खेलाडीको प्रशिक्षक नभए पनि सोही खेलका अध्यक्ष व्यवस्थापकको रुपमा पेरिस पुगिसकेका छन् ।

सामान्यत: सम्बन्धित खेल बुझेका र खेल सङ्घभित्रकै व्यक्ति टीम म्यानेजरको भूमिकामा रहने गरेको पाइन्छ । तर, खेलका प्रशिक्षक र टीम म्यानेजरलाई बेवास्ता गर्दै विभिन्न खेल सङ्घ र नेपाल ओलम्पिक कमिटीका पदाधिकारी स्वयं पेरिस यात्रामा छन् । 

यसरी पेरिस यात्रा गर्नेमा ओलम्पिक कमिटीका पदाधिकारी अशोकरत्न बज्राचार्य, दीपकहर्ष बज्राचार्य, रामजीबहादुर श्रेष्ठ, ज्योति राणा, पिताम्बर तिम्सिना, पुष्पदास श्रेष्ठ, प्रकाशकुमार कुसारी, रमेश सिवाकोटी टीम अफिसियलको रुपमा पेरिस पुग्नुभएको छ । 

राणा लन टेनिस सङ्घकी अध्यक्ष हुनुहुन्छ । यस्तै अशोकरत्न बज्राचार्य नेपाल पौडी सङ्घका पूर्वअध्यक्ष, दीपकहर्ष बज्राचार्य जुडो सङ्घको अध्यक्ष, रामजी ब्याडमिन्टन सङ्घका अध्यक्ष, पुष्पदास सुटिङ सङ्घका अध्यक्ष र प्रकाशकुमार रेस्लिङ सङ्घका अध्यक्ष हुनुहुन्छ ।  ब्याडमिन्टनका अध्यक्ष रामजीले पेरिस भ्रमण गर्दा खेलाडी प्रिन्स दाहाल भने प्रशिक्षकबिनै खेल्नु पर्ने बाध्यता छ । 

यस्तो छ, नेपालको जम्बो  टोली 

खेलाडी- स्यान्टु श्रेष्ठ, सन्तोषी श्रेष्ठ,  डुवाना लामा,  एलेक्जेन्डर शाह, प्रिन्स दाहाल, सुस्मिता नेपाल र मनिता श्रेष्ठ प्रधान 

प्रशिक्षक- राजेन्द्र कपाली (टेबल टेनिस), देवु थापा (जुडो), कान्तिकुमारी महतो (एथलेटिक्स) र नयना शाक्य (पौडी)

टिम अफिसियल- अशोकरत्न बज्राचार्य (निवर्तमान अध्यक्ष, पौडी), दीपकहर्ष बज्राचार्य (अध्यक्ष, जुडो), रामजीबहादुर श्रेष्ठ (अध्यक्ष, ब्याडमिन्टन), पुष्पदास श्रेष्ठ (अध्यक्ष, सुटिङ), ज्योति राणा (अध्यक्ष टेनिस), प्रकाशकुमार कुसारी (अध्यक्ष, रेस्लिङ) र  पीताम्बर तिमिल्सिना (सहसचिव, एनओसी)

अफिसियल- रिखीराम पोखरेल (राखेपका आर्थिक प्रशासन शाखा प्रमुख), नविसमानसिंह प्रधान (डाक्टर), खेलकुदमन्त्री तेजुलाल चौधरी र टंकलाल घिसिङ (सेभ दि मिसन, राखेप सदस्यसचिव)

ओलम्पिक कमिटी- जीवनराम श्रेष्ठ (अध्यक्ष), चतुरानन्द राजवैद्य (उपाध्यक्ष),निलेन्द्रराज श्रेष्ठ (महासचिव), सुजनलाल श्रेष्ठ (कार्यकारी सचिव), रेमश सिवाकोटी (सदस्य) र  पृथ्वीबहादुर पाण्डे (अतिथि) ।