• २४ असोज २०८२, शुक्रबार

नेपाल टस जितेर फिल्डिङमा

blog

टसपछि नेपाल र जापानका कप्तान । तस्बिर : क्यान

काठमाडौँ, असोज २४ गते । आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सुपर सिक्समा स्थान बनाएको नेपाल र जापानबिच अहिले टस भएको छ । 

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा केहीबरेमा सुरु हुने खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले फिल्डिङ रोज्नुभएको छ । 

छनोटअन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल र जापानले एक खेल अगावै सुपर सिक्समा स्थान बनाईसकेका छन् । नेपाल र जापान दुवैले कुवेतलाई हराएर अगाडि बढेका हुन् ।

नेपाल र जापानबिचको भिडन्त समूह विजेताको लागि हुनेछ । आजको खेल जितेमा नेपाल दुई अङ्क लिएर सुपर सिक्समा जानेछ । यस अङ्कले सुपर सिक्समा ठूलो योगदान पुग्नेछ । 

नेपाले कुवेतलाई ५८ रनले हराएको थियो । यस्तै जापानले उत्कृष्ट प्रदर्शन गर्दै कुवेतलाई पाँच विकेटले हराएर सुपर सिक्समा पुगेको हो । कुवेत भने समूह चरणबाट बाहिरिएको थियो । 

एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोट खेलमा नौ टोलीबिच प्रतिस्पर्धा भइरहेको छ । सहभागी नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको हो ।

जसमा समूह ‘ए’ मा संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र कतार छन् । समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन् । सिङ्गल राउन्ड रोविन लिगका आधारमा हुने छनोट खेलमा समूहका शीर्ष दुई टोली ‘सुपर सिक्स’मा प्रवेश गर्नेछन् । 

सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।