पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, कात्तिक १३ गते । देशभरि डेडिकेटेड विद्युत महसुल नतिर्ने उद्योगहरूको लाइन काट्ने र उद्योगको साँचो बुझाउनेसम्मका कारबाहीहरू भइरहँदा पश्चिम नवलपरासीमा रहेका चारवटा बक्यौतादार उद्योगहरू भने फरक अवस्थामा देखिएका छन् ।
परासी विद्युत वितरण केन्द्रका अनुसार, ती चारमध्ये दुई उद्योगले किस्ताबन्दीमा महसुल तिर्न थालेका छन् भने बाँकी दुई उद्योगको हकमा एउटाको जग्गा रोक्का र अर्कोको मुद्दा विचाराधीन अवस्थामा छ ।
किस्ताबन्दीमा तिर्ने दुई उद्योग सुरक्षित
करोडौँ रुपियाँ महसुल बाँकी रहे पनि सर्वोत्तम सिमेन्ट उद्योग प्रालि र लक्ष्मी स्टिल प्रालिले किस्ताबन्दीमा रकम तिर्न थालेकाले उनीहरूको लाइन भने काटिएको छैन । वितरण केन्द्रका अनुसार, यी दुवै उद्योगले क्रमशः महसुल तिर्न थालेकाले उनीहरूको विद्युत आपूर्ति नियमित छ ।
बुटवल सिमेन्टको जग्गा रोक्का
बुटवल सिमेन्ट प्रालि : यसको बक्यौता रकम १७ करोड १६ लाख २३ हजार नौ सय १८ रुपियाँ रहेको छ । यो उद्योगको लाइन पहिला नै काटिसकिएको छ । उद्योग नै बन्द गरेर सामग्री अन्यत्र सार्न थालेपछि प्राधिकरणले उद्योग सञ्चालक महाविर गोयलको नाममा रहेको करिब ८ बिघा जग्गा रोक्का गर्न मालपोत कार्यालयलाई पत्राचार गरिसकेको छ । वितरण केन्द्रले असुलीका लागि आवश्यक कानुनी कारबाही गर्न प्राधिकरणको कानुन महाशाखालाई समेत पत्राचार गरेको जनाएको छ ।
सिद्धिलक्ष्मी विचाराधीन
सिद्धिलक्ष्मी स्टील प्रालि : यसको पुरानो बक्यौता तीन करोड सात लाख ९८ हजार चार सय ५५ रुपियाँ रहेको थियो । तर यो रकम लोडसेडिङ मुक्त घोषणा भइसकेपछिको भएकाले सरकारले ‘तिर्न नपर्ने’ गरी निर्णय गरेका आधारमा यसको अवस्था विचाराधीन रहेको बताइएको छ ।
परासी क्षेत्रमा विद्युत आपूर्तिको स्वर्णिम अवसर
डेडिकेटेड महसुल असुलीमा कडाइ गरिरहेको परासी विद्युत वितरण केन्द्रले आफ्ना ग्राहकलाई पूर्ण भोल्टेज क्षमताको विद्युत आपूर्ति सुनिश्चित गर्न ठुलो सञ्जाल विस्तारको काम गरिरहेको छ ।
बहुविकल्पको व्यवस्था : वितरण केन्द्रले पाँचवटा सब–स्टेसनबाट विद्युत आपूर्ति सञ्जाल जोड्ने काम गरिरहेको छ । हालसम्म तीनवटा स्टेसनसँग सञ्जाल जोडिसकिएको छ भने हुकई सब–स्टेसन निर्माणाधीन छ ।
बढ्दो माग : केन्द्रले हाल घरेलु ग्राहकलाई दैनिक १०–१२ मेगावाट र उद्योगहरूलाई ६०–७० मेगावाट गरी कुल ८० देखि ९० मेगावाट विद्युत वितरण गरिरहेको छ ।
स्वर्णिम जिल्लाको रूपमा विकास : बुटवल, न्यु बुटवल, ज्यामिरे र गण्डक प्रसारण लाइनसँग सञ्जाल जोडिएको तथा पूर्वी क्षेत्रबाट पनि जोडिने क्रममा रहेकाले नवलपरासी (पश्चिम) लाई विद्युत आपूर्तिका लागि नेपालकै स्वर्णिम जिल्लाको रूपमा लिइएको छ । यस क्षेत्रमा उद्योगहरू थपिने क्रम पनि बढिरहेको छ ।