• १३ कात्तिक २०८२, बिहिबार

स्वनिर्भर अर्थतन्त्रको जग

blog

कुनै पनि मुलुकको आर्थिक, सामाजिक रूपान्तरणमा युवा पुस्ताको महत्वपूर्ण भूमिका हुन्छ । नेपाली युवामा पनि त्यो क्षमता, केही गर्ने हुटहुटी र मातृभूमिप्रतिको अगाध स्नेह हुँदाहुँदै पनि अवसरको खोजीमा बिदेसिनुपर्ने बाध्यता छ । बाध्यताका बिच नव पुस्ताका रूपमा चिनिने ‘जेनजी’ आन्दोलनको परिणाम देशमा नयाँ राजनीतिक परिस्थितिको सिर्जना भएको छ । 

आन्दोलनको बलमा अन्तरिम सरकार गठन भएको छ । यो सरकारको प्रमुख जिम्मेवारी आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउनु भए पनि यसअघि जेनजीको माग अनुसार सुशासनको खम्बा गाड्ने गहन दायित्व छ । ‘हरेक विनाशपछि नयाँ सिर्जना’ को प्राकृतिक सिद्धान्तलाई स्वीकार गरेर युवापुस्तालाई देश निर्माणको महायज्ञमा होम्ने वातावरण बनाउनु पर्छ । सरकारले युवापुस्तामा भरोसा जगाउने काम गर्नु पर्छ, देशलाई आर्थिक पराधीनताबाट मुक्त गरी स्वाधीन अर्थतन्त्रको बाटोमा डो¥याउने मार्ग अवलम्बन गर्नु पर्छ । यसको सुरुवात कृषिबाट गर्न सकिन्छ । नेपालको अहिलेको सर्वाधिक खाँचोको क्षेत्र खाद्यान्नमा आत्मनिर्भर हुनु हो । कृषिलाई पेसा­, व्यवसाय बनाउन नसकिएको विडम्बनापूर्ण अवस्थाको अन्त्य हो ।

कुनै पनि मुलुक खाद्यान्नमा आत्मनिर्भर हुन सक्दैन भने त्यो मुलुक अघोषित रूपमा पराधीन रहन्छ भन्ने मान्यता छ । नेपालको अवस्था यस्तै छ । ६५ प्रतिशतभन्दा बढी जनता कृषिमा आधारित रहेको देश खाद्यान्नमा परनिर्भर छ । यही पीडादायी अवस्था अन्त्यका लागि पहिलो कदम चाल्नु पर्छ । युवामा उत्पन्न वितृष्णा, आक्रोश सामान्य अवसरको पनि अभाव हुनु हो । यो अभाव पूर्ति गर्न ‘हरित क्रान्ति’ मार्फत आत्मनिर्भर’ हुने योजना अघि सार्नु पर्छ । यसका लागि युवामाझ कृषि ठुलो पेसा हो भन्ने मान्यता स्थापित गराउन सक्नु पर्छ । सोही अनुसार सव्रिmय हुन प्रेरित गर्नु पर्छ । उर्बर खेतबारी बाँझो छोडेर विदेश पलायन हुने ढोका बन्द गर्न सशक्त नीति, योजना र त्यसको कार्यान्वयन आवश्यक छ ।

हरित क्रान्तिको बहुविध अर्थ लाग्छ । हरियाली बढाउने मात्र हरित क्रान्ति नभएर प्राकृतिक खेतीपातीको प्रवर्धन, वनजन्य तरकारी तथा कन्दमूलको संरक्षण पनि हो । यी कामका लागि वातावरण शुद्धता आवश्यक छ र यस्तो वातावरणमा हुर्कने जीवन–मानिसमा रोगप्रतिरोधी क्षमता अत्यधिक हुन्छ । बजारमा यस्ता वस्तुको माग पनि अत्यधिक छ । युवा पुस्तालाई यिनै कुराबारे जानकार बनाएर, यसको सम्भावना औँल्याए, जलवायु परिवर्तनबाट बच्ने–बचाउने उपाय अपनाउन प्रशिक्षित गरेर परिचालन गर्ने र उनीहरूका सिर्जनाले बजार पाउने वातावरण बन्नु पर्छ । नेपालको हकमा हरित क्रान्ति एक मात्र 

उपाय हो । 

प्राकृतिक रूपमा हुने परिवर्तनलाई जीव तथा वनस्पतिले आफूलाई सोही अनुसार परिवर्तन गर्ने क्षमता राख्छ । अप्राकृतिक रूपमा सोच्दै नसोचेको परिवर्तन हुन थाल्यो भने त्यसलाई जीव तथा वनस्पतिले धान्न सक्दैन । जसरी कोरोना भाइरस सबै मौसममा सक्रिय हुन सक्यो तर मानिस कमजोर बन्दै गयो । अहिलेको सबभन्दा ठुलो समस्या यही हो । यो समस्याबाट बच्न हरित क्रान्ति नै चाहिन्छ र हरित क्रान्तिमार्फत कृषिलाई उच्च प्राथमिकता कागजी रूपमा होइन व्यवहारमै दिइनु पर्छ ।

कृषिलाई ईश्वरीय देन, भूमिलाई देवता मानेर पुँजी गर्ने हामी नेपाली, शासक, प्रकाशक, नीतिनिर्माता, योजनाविद् सबैले बुझ्नुपर्ने तथ्य के हो भने विश्वका धनी र सम्पन्न मुलुकमा कृषिलाई सबभन्दा ठुलो र सम्मानित पेसाको दर्जा दिइन्छ । कृषिमा लाग्नेलाई सरकारले विभिन्न छुट दिएको छ । हामीले पनि त्यही गर्नु पर्छ र अन्तरिम सरकारले सुरुवातमै आजैदेखि भविष्यका लागि समेत स्पष्ट योजना बनाउनु पर्छ । सरकारको पहिलो घोषणा यही हुनु पर्छ । राजनीतिक मुद्दा विस्तार हल हुने छन् । 

देशको सबभन्दा ठुलो समस्या रोजगारीको हो । कृषिलाई रोजगारीको सबभन्दा सशक्त माध्यम बनाउने गरी सरकार अघि बढ्नु पर्छ । अहिले जलवायु परिवर्तनका कारण नेपालको कृषि प्रणाली ध्वस्त भएको छ । यसलाई आधुनिक प्रविधिले मात्र सुधार्न सम्भव छैन । हामी हरित क्रान्तिको बाटोमा जानु पर्छ । ‘प्रकृतिवाद’ को सिद्धान्त अपनाउनु पर्छ । आधुनिकवादले विश्वको वातावरण ध्वस्त पारेको छ । यसलाई जोगाउने एक मात्र उपाय प्रकृतिवाद हो, जसले खेतपानी, पशुपालन, वनजङ्गलको संरक्षण, नदी संरक्षण, पर्वत संरक्षणलाई उच्च प्राथमिकता दिन्छ । नेपाल यसको आधारभूमि हो । 

विविध भौगोलिक अवस्था, विविध प्राकृतिक स्रोत, अपूर्व जलसम्पदा, हिमाल, मैदानी भूभागले भरिएको नेपालको मुख्य अर्थतन्त्र कृषि नै हो र कृषिले देशलाई आत्मनिर्भर बनाएकै थियो । खाद्यान्न निर्यात हुन्थ्यो, देशको वैदेशिक व्यापार नाफामा थियो । चार दशकअघिसम्म ६० प्रतिशत निर्यात हुन्थ्यो, ४० प्रतिशत आयात । यो तथ्य अहिलेको पुस्ताले बुझ्नु पर्छ । यही तथ्यमा टेकेर अबको आर्थिक नीति विश्वव्यापी मान्यतालाई स्विकार्दै हाम्रो आवश्यकता र सम्भावनाका क्षेत्रको अधिकतम सदुपयोग गर्ने गरी आउनु पर्छ ।

प्रकृति भनेको सृष्टि हो ! सृष्टिको क्रम निर्बाध चलिरहन वातावरण शुद्ध हुनै पर्छ र शुद्ध वातावरणमा मात्र मानिसको मानसिक अवस्था शान्त रहन्छ । शान्त मानसिकताले मात्र नवसिर्जना हुन्छ । हामीले वातावरण यसरी नै दूषित बनाउँदै गयौँ भने अहिले जेजति समस्या भोगिरहेका छौँ भावी दिनमा योभन्दा अकल्पनीय समस्याको सामना गर्न तयार हुनु पर्छ । जलवायु परिवर्तनका कारण मौसम अनुसार हुनुपर्ने केही पनि हुँदैन । वर्षा हुनुपर्ने समयमा खडेरी पर्नु, आकाशमा अनेकथरि बादल देखापर्नु, विकिरणयुक्त हावा बहनु, पानी प्रदूषित हुनु नै यसका बलियो आधार हुन् । 

कृषिलाई ईश्वरीय आराधनाकै रूपमा लिइन्थ्यो । हरेक बाली लगाउनुअघि पूजा गरिन्थ्यो र बाली भित्र्याएपछि ‘न्वागी’ खाने भनेर ईश्वरलाई चढाएर मात्र सुरुवात गरिन्थ्यो । अन्नको उपयोग गर्दा अन्न दोषबाट बच्न प्रार्थना गरिन्थ्यो । यस्ता अन्न रैथाने जातकै हुनुपथ्र्यो । त्यति मात्र होइन, खेतीको सुरुवात पनि प्रार्थनाबाटै गरिन्छ । हिजोआज पनि गाउँघरमा धान रोपाइँ गर्नुअघि पूजा गर्ने चलन छ । जति बेला यस्तो थिति बनाइयो त्यति बेला बहुर्राष्ट्रिय कम्पनीका वर्णशङ्कर बिउबीजन थिएन । बिउ जोगाउनकै लागि अन्नबाली भित्र्याउने क्रममा सबभन्दा सप्रिएको ठाउँबाट बिउ छुट्याइन्थ्यो । अहिले हरेक वर्ष पोकामा बिउ किन्नुपर्ने बाध्यता सिर्जना गरिएको छ ।

अहिले यस्तो अन्नको बिउबिजन यथारूपमा छैन । वंशाणुगत उच्च गुणवक्ताका कैयौँ बिउबिजन लोप भइसकेका छन् । जैविक विविधताको क्षय र वर्णशङ्कर बिउबिजनको बाहुल्यले पृथ्वी मरुभूमिकरणतिर उन्मुख हुँदै छ । त्यस्तै उच्च गुणवक्ताका विशेष चेतनाले युक्त प्राणी र वनस्पतिको गुणवक्ता पनि ह्रासोन्मुख छ । बहुराष्ट्रिय कम्पनीले मौलिक बिउबिजनको वंशाणुगत उच्च गुणवक्तालाई वर्णशङ्करमा परिवर्तन गरेर स्वर्णिम सपनाका साथ विश्वव्यापी बनाइरहेका छन् । परम्परागत कृषि प्रणाली नै समाप्त पारेर बिउको उमारशक्ति नै नष्ट गरेर पुनः कुनै पनि बिउ उम्रेर फल दिन असमर्थ पारी जघन्य अपराध गरेर त्यही अपराधद्वारा निरन्तर वैभव र समृद्ध बन्न जे जस्तो भूमिका बहुराष्ट्रिय कम्पनीले सम्पन्न गर्दै छ, त्यसको विश्वभर नकारात्मक चर्चा छ । यसबाट कृषि र जनस्वास्थ्य मात्रै प्रभावित छैन सृष्टि संरचनामा नकारात्मक प्रभाव परेको छ । 

वर्णशङ्कर बहुराष्ट्रिय कम्पनीको बिउमा उमारशक्ति क्षय गरिए जस्तै यस्तो बिउले पुनः फल नदिने, बिउ थारै बस्ने र आखिर त्यो अन्न नै मासिने हुन्छ । प्रतिवर्ष बहुराष्ट्रिय कम्पनीले नै उत्पादन गरेका बिउले मात्र उत्पादन दिने भएपछि सधैँ उही कम्पनीकै मुख ताक्नुपर्ने अवस्था आइसकेको छ । नेपाल मरुभूमीकरण हुने यो कुलक्षण हो । कालान्तरमा आयातित यस्तो सबै क्षेत्रमा घुसेको बिउबिजन र विषादीले नेपाल मात्रै मरुभूमीकरणमा परिवर्तन नभएर नेपाली जातिको गुणवक्ता, रोग प्रतिरोधक शक्ति, साहस–शौर्यसमेत क्षय भइरहेको छ । हामीले हाम्रा रैथाने अन्न संरक्षणको नीति लिनै पर्छ । अबको एजेन्डा यो पनि हुनु पर्छ ।

कृषिप्रधान मुलुक नेपालको भौगोलिक विविधता अनुसार अन्न, फलफूलको उमारशक्ति थियो । जहाँ जे हुनुपर्ने हो, त्यही हुन्थ्यो स्थानीय जातका धान, मकै, गहुँ, कोदो, फापर उवा फल्थे र अहिले पनि यसको अस्तित्व मेटिइसकेको छैन । हिजोआज रैथाने उत्पादनको माग उच्च छ । जुम्लाको मार्सी धानको चर्चा धेरै आवश्यक छैन । यस्ता रैथाने धान क्षेत्र अनुसार अनेक छन् । अहिले पनि बजारका अरू चामलभन्दा मार्सीलगायत रैथाने धानका चामल महँगो पनि छ । यसैबाट स्पष्ट हुन्छ कि रैथाने अन्नको महìव कति छ र यो अन्तर्राष्ट्रिय व्यापारको एक प्रमुख हिस्सा बन्न सक्छ । यस्तो कृषि प्रणाली मुलुकले खोजेको छ ।

सीमित उत्पादन भए पनि रैथाने बिउबाट उत्पादित अन्नको बजार माग उच्च छ, यसलाई जोगाउन माटो जोगाउनु आवश्यक छ, जुन प्राकृतिक रूपमा फल्छ अनि फुल्छ । यसले एकातिर जैविक विविधताको रक्षा हुन्छ भने अर्कातिर किसानलाई आर्थिक लाभ हुने छ । यो रोजगारीको एक सशक्त क्षेत्र हुन्छ । मुलुकको आर्थिक समृद्धिको बलियो स्तम्भ बन्ने छ । यसर्थ प्रकृतिवाद र हरितक्रान्तिका माध्यमबाट कृषिलाई निर्वाहमुखी हुँदै निर्यातमुखी बनाए स्वाधीन अर्थतन्त्रको जग खडा गर्न सकिन्छ ।