• ९ पुस २०८२, बुधबार

बृहत् स्वास्थ्य शिविरमा तीन सयभन्दा बढीले सेवा लिए

blog

निःशुल्क बृहत् स्वास्थ्य शिविरमा नागरिकको स्वास्थ्य जाँच गरिदैँ । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, पुस ९ गते ।
गुल्मीको चन्द्रकोट गाउँपालिकामा सञ्चालन भएको निःशुल्क बृहत् स्वास्थ्य शिविरमा तीन सयभन्दा बढीले सेवा लिएका छन् । चन्द्रकोट गाउँपालिकाको आयोजना तथा लायन्स क्लब अफ बुटवल शुभारम्भको प्राविधिक सहयोग एवम्‌ चन्द्रकोट आधारभूत अस्पताल शान्तिपुर गुल्मीको व्यवस्थापनमा सञ्चालित शिविरमा ३७० जनाले सेवा लिएका हुन् ।

चन्द्रकोट आधारभूत अस्पतालमा एक दिन (मङ्गलबार) मात्र सञ्चालन भएको शिविरमा २५१ जना महिला र ११९ जना पुरुषले सेवा लिनुभएको गाउँपालिकाका प्रशासकीय अधिकृत एवम् सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार जनरल फिजिसियनतर्फ ५३ जना, सर्जनतर्फ २५ जना, आँखातर्फ ४२ जना, बालरोगतर्फ १८ जनाले सेवा लिनुभएको छ । त्यस्तै, रेडियोलोजितर्फ ६५ जना, अर्थोपेडिकतर्फ ९८ जना र गाईनोक्लोजितर्फ ६९ जनाले सेवा लिनुभएको उहाँले बताउनुभयो ।

यस शिविरमा चन्द्रकोट गाउँपालिकाका विभिन्न वडाका साथै छिमेकी जिल्ला बागलुङको बरेङ गाउँपालिकाका नागरिकले समेत सेवा लिएका छन् । पाल्पा, बुटवललगायतका विभिन्न स्थानबाट लिने सेवा गाउँमै लिन पाउँदा नागरिक खुसी देखिएका छन् । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज खत्री क्षत्रीले गाउँपालिकाले नागरिकको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै शिविरको आयोजना गरिएको बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाको चालु आव २०८२/०८३ को नीति तथा कार्यक्रममा रहेको स्वस्थ नागरिकको परिकल्पनालाई व्यवहारमा लैजादै यहाँका नागरिककहरुको आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न शिविर सञ्चालन गरिएको हो। नागरिकको स्वास्थ्यप्रति जिम्मेवारी बहन गर्ने उदेश्यसहित विशेषज्ञ चिकित्सकसकहरुको उपस्थितिमा निःशुल्क स्वास्थ्य परीक्षणसंगै सुविधा प्रदान गरिएको छ ।

शिविरमा महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ वरिष्ठ डा. शर्मिला शर्मा, रेडियोलोजिस्ट वरिष्ठ डा. वसन्त शर्मा, हाडजोर्नी नशा तथा मेरुदण्ड रोग विशेषज्ञ वरिष्ठ डा. जयराज शर्मा, डा. विकेश गुप्ता, जनरल फिजिसियन वरिष्ठ डा. महेशराज घिमिरे, डा. विजेश गुप्ता, बालरोग विशेषज्ञ डा. सजु अर्याल, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. आशिष मल्ललगायतले निःशुल्क विशेषज्ञ सेवा प्रदान गर्नुभयो ।

त्यस अवसरमा चन्द्रकोट गाउँपालिकाको समग्र स्वास्थ्य सेवाको सुदृढीकरणको लागि यस चन्द्रकोट आधारभूत अस्पताललाई सीबीसी हेमाटोलोजी एनालाइजर एक थान, ओपीओसीटी एनलाइजर एक थान, सेमीबायोक केमेस्ट्री एनालाइजर एक थान र सेन्ट्रिफ्युज एनलाइजर मेसिन एक थान उपलब्ध गराइएको छ ।