• १४ कात्तिक २०८२, शुक्रबार

त्रिविले फाँड्यो तीन सय रोपनीको झाडी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १४ गते । त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय कीर्तिपुर परिसरको जग्गामा फैलिएको करिब तीन सय रोपनी झाडी फाँडिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको पहलमा झाडी फाँडिएको हो । पुन मन्त्री भएको दोस्रो दिनमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरभित्र करिब ३५० रोपनी जग्गामा रहेको झाडी फाँडेर सुन्दर पार्क बनाउन आह्वान गर्नुभएको थियो । गत असोज ५ गते पुन मन्त्री नियुक्त हुनुभएको थियो । सोही अनुरूप श्रमदान अभियान चलाएर विभिन्न ठाउँबाट आएका श्रमदाता र त्रिविका कर्मचारीले संयुक्त रूपमा झाडी फँडानी गरेका हुन् । अहिले झाडी फाँडिएको क्षेत्र तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकका अवसरमा बगैँचा बनाइएको थियो । उक्त बगैँचा स्याहार नहुँदा अहिले ठुलो झाडीका रूपमा परिणत भएको थियो । त्रिवि परिसरमा रहेका सम्पूर्ण झाडी फाँड्ने योजना अन्तर्गत पहिलो चरणमा उक्त स्थानको झाडी हटाइएको त्रिविले जनाएको छ । 

त्रिवि विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल अक्कलदेव मिश्रका अनुसार वन विभागसँग सम्झौता गरेर वनमारा, पुराना तथा ढल्न लागेका र ढलिसकेका रुखसमेत हटाइएको छ । अहिले सफा गरिएको स्थान क्रिकेट रङ्गशालाको अगाडि छ । झाडी हटाएर सफा गरिसकेपछि उक्त स्थानमा फेरि सुन्दर पार्क बनाउने योजना रहेको मिश्रले जानकारी दिनुभयो तर त्रिवि परिसरमा ठुलो क्षेत्रमा वनमारा बिरुवा फैलिएकाले सबै ठाउँ सफा गर्न थप बजेट पनि आवश्यक रहेको उहाँले बताउनुभयो । 

मन्त्री पुनले भने पहिलो चरणमा हाल फँडानी गरिएको क्षेत्रमा सामाजिक संस्था तथा दाताको सहयोगमा बगैँचा बनाइने बताउनुभयो । उहाँले भन्नुभयो, “बगैँचा बनाउन चाहिने पैसाका लागि उपाय खोज्दै छौँ । पैसा निकाल्ने उपाय हुने जोसुकैले पनि नहिचकिचाइ भन्नु होला ।” उहाँले मन्त्रालयको कार्यभार समाल्नेबित्तिकै त्रिविका पदाधिकारीलाई बोलाएर विश्वविद्यालयको समग्र, शैक्षिक, आर्थिक, प्रशासनिक तथा भौतिक संरचनाको समेत सुधार गरेर आकर्षक गन्तव्य बनाउन सकिने उपायबारे ठोस सुझाव ल्याउन निर्देशन दिइसक्नुभएको छ । मन्त्रीको निर्देशन अनुसार आवश्यक तयारी भइरहेको त्रिविले जनाएको छ ।