• १५ असार २०८१, शनिबार

प्रचारमै सीमित ‘बाटो : रोड टु डेथ’

blog

काठमाडौँ, असार १० गते । कोरोनाको समयमा बाध्यताले एउटा यात्रा गर्नै पर्ने हुन्छ । त्यही यात्रामा भेटिने पात्रसँगै बाटोमा सामना गर्नुपर्ने अनेकन गतिविधिमाथि चलचित्र ‘बाटो : रोड टु डेथ’ निर्माण गरिएको छ । प्रदर्शनअघि चलचित्रका बारेमा जे जति प्रचार गरिएको थियो, दर्शकले त्यो पाउने अवस्था छैन । ‘रोड थ्रिलर’ को संज्ञा दिइएको चलचित्रले बलिउड र हलिउडमा बन्ने गरेका ‘जोम्बिया’ को झल्को दिन्छ । 

चलचित्रभित्र कथाभन्दा थ्रिलरलाई धेरै नै प्राथमिकता दिइएको छ । एउटा यात्रा जो सुहाना (किरण शाही ठकुरी) बाट सुरु हुन्छ र मञ्जिल (उत्पल झा), टोनी (सुलक्षण भारती), कोमल (रक्षा थापा), हरि (अशान्त शर्मा) र माला (पशुपति राई) यात्राको क्रममा आउने अनेकन बाधा अडचनबाट सकिन्छ । 

चलचित्रमा आमा (मिथिला शर्मा) र छोरा मञ्जिलको सम्बन्ध कसरी अघि बढेको छ भन्ने कुरा पनि छ । मञ्जिल राम्रो निर्दशक बन्न चाहन्छन् तर आमाको रहर उनलाई आफैँसँग राख्ने छ । त्यसमाथि मञ्जिलको निर्देशक बन्ने सपना काठमाडौँ बसेर मात्र पूरा हुन सक्छ । अचानक आमालाई मुटुमा समस्या आएपछि धरानको अस्पताल पु¥याइन्छ । त्यसपछि मञ्जिलले थाहा पाउँछन् कि आमा शब्दको महत्व । आमालाई भेट्न ट्याक्सीचालक टोनीसँग धरान लागेपछि उनीहरू माथि आइपर्ने अनेकन गतिविधिसँगै ललितपुरबाट एम्बुलेन्समा राखिएको मुटुको बक्सा आठ घण्टाभित्र धरानको अस्पताल पु¥याउँदै गर्दा बाटोमा के कस्ता घटना हुन्छन् ? एक दिनको यात्रामा मञ्जिल, टोनी र कोमलले आफ्नो उद्देश्य पूरा गर्न के के मात्र गर्दैनन् होला । यी तीन पात्रको लक्ष्य के हो ? त्यो लक्ष्य प्राप्त गर्न उनीहरूले जङ्गली सैतानको पनि सामना गर्नुपर्ने हुन्छ । ललितपुरबाट एम्बुलेन्समा राखिएको मुटुको बक्सा आठ घण्टाभित्र धरानको अस्पताल पुग्छ पुग्दैन । यही कुराले पनि दर्शकलाई हलमा दुई घण्टा समय बिताउन बाध्य बनाउँछ । मुटुसँगै छोरा कुरिरहेकी बिरामी आमा, आमा भेट्न हिँडेका छोरा, गन्तव्यमा पु¥याउने जिम्मेवारी लिएका ट्याक्सीचालक र मुटु पु¥याउने जिम्मेवारी लिएको स्वास्थ्यकर्मीसँगै जङ्गली गुण्डाबाट हत्या गरिएको छोरीका अभिभावकको कथा हो चलचित्र ‘बाटो’ ।  

बोक्सीको घरबाट खासै चर्चा बटुल्न नसेकका कलाकार सुलक्षण भारतीले यस चलचित्रबाट अवश्य तारिफ बटुल्छन् । चलचित्रको पहिलो मध्यान्तर उनैकै बलबुतामा अघि बढेको छ । उत्पल झा, रक्षा थापा, पशुपति राई र अशान्त शर्माको अभिनय औसत छ । 

आमाको भूमिकामा देखिएकी मिथिला शर्माको अभिनयमा पूर्णता देखिँदैन । निर्देशक मदन थापाले उहाँको अभिनयलाई चलचित्रको अर्को सिक्वेलका लागि जोगाएर राखेका हुन कि ? जङ्गली गुन्डाको भूमिकामा देखिएका विजय ताम्राकार, आभास अधिकारी, राजेन थापा र गणेश उपाध्यायको अभिनय शैलीमा दक्षिण भारतीय कलाकारको प्रभाव धेरै देखिन्छ । टोनीबाहेक अन्य कलाकार संवादमा निर्देशक थापाको खासै ध्यान पुगेको देखिँदैन । निर्देशक थापाको ध्यान बढी दक्षिण भारतीय शैलीलाई पछ्याएको हो कि भन्ने भान हुन्छ ।