काठमाडौँ, चैत २१ गते । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा पेमा छेडनद्वारा निर्देशित फिल्म ‘स्नो लियोपार्ड’ प्रदर्शन भएको छ । सन् २०२३ को भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर भएको यस फिल्म निफ अन्तर्गत ‘सिजाङ पानोरमा’ खण्डमा प्रदर्शन गरिएको हो ।
तिब्बती गोठालाहरूको जीवन र मानव–वातावरणबीचको सहअस्तित्वको कथामा बनेको यस फिल्मले भेनिसमा समेत चर्चा पाएको थियो । सिजाङ पानोरमा अन्तर्गत शनिबार अन्य तीन फिल्म ‘होम अवे होम क्लोज’, ‘लर्नर्स फ्रम द टप अफ द वर्ल्ड’ र ‘सनराइज ओभर द प्लेटो’ प्रदर्शन भए । यी तीनै फिल्म भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा प्रदर्शन भएका हुन् ।
गुओ यिफीको निर्देशनमा बनेको ‘होम अवे होम क्लोज’ ले स्थानीय गोठालाका लागि ‘मोबाइल फोटो स्टुडियो’ नामक जनसेवा पहल सुरु गर्न भौगोलिक जटिलता सामना गर्ने एक युवकको कथा प्रस्तुत गरेको छ । त्यस्तै ज्याक मालाटेरे निर्देशित फिल्म ‘लर्नर्स फ्रम द टप अफ द वर्ल्ड’ ले शैक्षिक मुद्दा उठान गरेको छ ।
सियाओ सियाओवाईको निर्देशनमा बनेको फिल्म ‘सनराइज ओभर द प्लेटो’ ले साधारण परिवारको शिक्षा, अर्थतन्त्र र संस्कृतिमा आएका असामान्य परिवर्तनहरूलाई उजागर गरेको छ । यस पानोरमा अन्तर्गत आइतबार ‘वारियर किङ’ र ‘डिस्कोभरिङ सिजाङ २०२६’ पनि प्रदर्शन हुने छन् ।

निफ अन्तर्गतको ‘सिजाङ पानोरमा’ प्रतिस्पर्धाबाहिरको विशेष प्रदर्शन कार्यक्रम हो । शनिबार नै प्रतिस्पर्धामा रहेका अन्य फिल्म सिभिल मल, छाया सेन्टर र रसियन हाउसमा प्रदर्शन भए । यसैबिच, पर्यटन बोर्डमा ‘निफ फिचर पिच’ कार्यक्रम पनि सम्पन्न भएको छ, जसमा नयाँ तथा युवा लेखकले निर्मातालाई आफ्ना कथा सुनाएका थिए ।