• १६ भदौ २०८१, आइतबार

आकाशमा हेरौँ ग्रहहरूको परेड

blog

चाँदनी हमाल

काठमाडौँ, वैशाख १५ गते । आकाशमा हरेक दिन सूर्यको चमक र हरेक रात चन्द्रमाको उज्यालो त सबैले देखेकै हो तर अचेल हरेक बिहान झिसमिसेमा आकाशका अन्य ग्रहको विशिष्ट दृश्य पनि देख्न पाइन्छ । अघि–पछि आकाशमण्डलमा मानिसको नजरबाट धेरै पर रहेका ग्रह अहिले सहजै देख्न पाइने विज्ञहरूले बताउनुभएको छ । ग्रहहरू धर्तीमा झर्न उद्यत भएको यो अकल्पनीय दृश्य बारम्बार नआउने अवलोकनकर्ताहरू बताउनुहुन्छ ।

उहाँहरूका अनुसार पृथ्वीको परिक्रमा गर्ने ग्रहहरूमध्येका चार ग्रह र चन्द्रमा एकै लहरमा आकाशमा पौडी खेल्न लामबद्ध भएर बसेझैँ गरी बसेको हेर्न पाइन्छ । यो दृश्य जुनसुकै बेला हेर्न पाइने होइन । खुला आकाशमा खुला आँखाले नै यो दृश्यावलोकन गर्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले जानकारी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको उक्त समितिले यस विषयमा अध्ययन अवलोकन गरेपछि आमसर्वसाधारणलाई हेर्न अपिल गरेको छ । 

समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माका अनुसार बिहान ३ बजेपछि सूर्य उदाउनु अघिसम्म यो अनुपम दृश्य नेपालका जुनसुकै कुनाबाट हेर्न सकिन्छ । हेर्दाको अनुभव बताउँदै शर्माले भन्नुभयो, “सूर्य उदाउने पूर्व दिशातिर फर्केर १० डिग्रीदेखि ४५ डिग्रीसम्म माथि फर्केर हेर्दा वृहस्पति, शुक्र, मङ्गल र शनि ग्रह एउटै लहरमा पश्चिमतर्फ लर्केर बसेका हुन्छन् । बीचमा अर्ध चन्द्रमा तिनकै लहरमा मिसिएझैँ गरेर छेउ लागेर उभिएको हुन्छ ।” यसले माथिल्लो ब्रह्माण्ड नै पृथ्वीमा सयर गर्न आएको अनुभूति दिलाएको उहाँले सुनाउनुभयो ।

दुई दिनयता देखिन सुरु भएको ग्रहको समूह पृथ्वीको नजिक पर्न आउँदाको अवस्थामा देखिएको हो । शर्माले थप्नुभयो, “शुक्र निकै चम्किलो देखिन्छ, अनि मङ्गल केही रातो देखिन्छ, शनि र वृहस्पतिको दर्शन पनि अझ मजाले हेर्न  सकिन्छ ।” एउटा ग्रहभन्दा अर्को ग्रह के कम भनेजस्तै परेडमा को पहिलो हुने अनौठो प्रतिस्पर्धामा ग्रहको समूह उत्रेको मनोरम दृश्यले अध्ययनकर्ताको ध्यान तानेको छ । 

यो कुनै समयको अन्तराल, कालखण्ड वा सामान्य अवस्थामा देखिने दृश्यावलोकन होइन । पृथ्वीलाई आधार मानेर परिक्रमा गर्ने ग्रहहरू पृथ्वीको एक कोणमा कुनै समयमा आइपुग्दा पृथ्वीको सतहबाट नजिक र खुला आँखाले देख्न सकिने भएको समितिले जनाएको छ । काठमाडौँबाट यी ग्रहहरूको अवलोकन गर्दा वायु तथा प्रकाश प्रदूषण न्यून रहेको स्थानबाट पूर्व–दक्षिण दिशाको ९० डिग्रीदेखि १४० डिग्री र उचाइ कोणमा १० डिग्रीदेखि ४५ डिग्रीको कोणमा खुला आँखाले अवलोकन गर्न सकिन्छ । 

समितिका अनुसार नेपालसहित पृथ्वीको दक्षिण र उत्तरी धु्रवमा रहेका भारत, चीन, पाकिस्तानलगायत देशका नागरिकले पनि खुला आँखाले ग्रहहरूको आकाशमा परेड खेल्न बसेको जस्तो अवस्थाको दृश्यावलोकन गर्न सक्नेछन् । समितिले ब्रह्माण्डको ग्रह नक्षत्रको अध्ययनका लागि नगरकोट र कीर्तिपुरमा टेलिस्कोपसहितको अध्ययन लामो समयदेखि गरिरहेको छ । सोही क्रममा यसअघि नै गरेको अध्ययनअनुसार वैशाखमा यो अनुपम दृश्यावलोकनको अवसर आउने अनुमान समितिले गरेको थियो । सोही अनुमान दुई दिन अघिदेखि साकार भएको कार्यकारी निर्देशक शर्माले बताउनुभयो । आकाशको यो अलौकिक दृश्य वैशाखभर देख्न सकिने भएकाले लाभ लिन पनि आमनागरिकलाई उहाँले अनुरोध गर्नुभयो ।