• ५ जेठ २०८१, शनिबार

‘लेन्सबाट फोटो पत्रकारिता’ प्रदर्शनी

blog

गोरखापत्र समाचारदाता

काठमाडौं, वैशाख १४ गते । भनिन्छ, एउटा फोटोले हजार शब्दको बयान गर्छ । त्यो शब्द बयान गर्न एक फोटोपत्रकारले गरेको मेहनत भने कसैले देखेको हुँदैन । त्यही मेहनतलाई प्रस्तुत गर्ने फोटोपत्रकार क्लबको आयोजनामा ‘लेन्सबाट फोटो पत्रकारिता’ शीर्षकमा फोटा प्रदर्शनी गरिएको छ । 

९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको उपलक्ष्यमा वसन्तपुरमा आयोजित फोटो प्रदर्शनीमा फोटोपत्रकारले फोटो पत्रकारिता गर्दा भोग्नुपरेका चुनौती र जोखिम झल्काउने ३० वटा फोटा राखिएको छ । फोटो प्रदर्शनी प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सङ्युक्त रूपमा उद्घाटन गर्नुभएको थियो । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले फोटोले पाठकलाई थप आकर्षित र समाचारलाई थप विश्वसनीय बनाउने धारणा व्यक्त गर्दै पत्रकारिता पेसालाई सुरक्षित बनाउन सरकारले बनाउने कानुन प्रेसमैत्री हुनुपर्नेमा जोड दिनुभयो । 

यस्तै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले फोटो सत्य, तथ्य र निष्पक्ष हुुनुपर्ने भन्दै सबै पत्रकारले पत्रकारको मूल्य–मान्यता र आचारसंहिताअनुसार काम गर्नुपर्ने बताउनुभयो ।