• ९ वैशाख २०८३, बुधबार

ज्येष्ठ नागरिकबाट बालबालिकाले सिके सारङ्गी बजाउन

blog

सारङ्गी बजाउन सिक्दै बालबालिका । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, वैशाख ७ गते । सूचना मूलक सन्देशहरु गायर गाउँघरमा सुमधुर सारङ्गीको धुन बज्ने दृश्य गाउँघरमा अहिले कमै मात्र देख्न पाइन्छ । अझ नयाँ पुस्ताले यसप्रति चासो दिन छाडेपछि अहिले गाउँघरमा सारङ्गी बाजा बज्न छाडेको हो । 

नयाँ शैक्षिकसत्रको पढाइ सुरु नभएको हुदाँ घर मै रहनु भएकी स्याङ्जा उच्च मावि कक्षा ७ मा पढ्ने जिवीका परियारले जेष्ठ नागरिकबाट नेपाली मौलिक साङ्गीतिक बाजा सारङ्गी बजाउने सीप सिक्नुभएको छ । 

यस्तै त्रिभुवन आदर्श माविका छात्र सुसान्त गन्धर्वले लोप हुदै गएको आफ्नै मौलिक पेशा र बाजाको रुपमा रहेको सारङ्गी सिक्न पाउँदा भविष्यमा आफू सङ्गीतको कलाकार बन्ने इच्छामा थप सहयोग पुग्ने बताउनुभयो । 

जिवीका र सुसान्त जस्तै सधैँ कापी कलम लिएर विद्यालय जाने यहाँका २० जना बालबालिकाहरुले शैक्षिक सत्रको पढाइ सुरु हुनुभन्दा अगाडिको विदाको समयमा  सारङ्गी लिएर यसबाट  संगीत निकाल्ने सीप सिकेका छन् । 

गण्डकी प्रदेश सरकारको एकीकृत सेवा कार्यालय स्याङ्जाले पुतलीबजार–१३ लामपाटामा आयोजना गरिएको १० दिने ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप र अनुभवनको अन्तरपुस्ता हस्तान्तरण कार्यक्रममा जेष्ठ नागरिकहरुले बालबालिकालाई सारङ्गी बजाउने सीप हस्तान्तरण गर्न थालिएको हो । 

एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले गन्धर्व जातीको मौलिक बाजा सारङ्गी नेपाली संस्कृति र परम्पराको अमूल्य सम्पत्ति भएकाले यसको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण सँगै सारङ्गीको संगीतले बालबालिकामा सृजनशीलता, धैर्यता र एकाग्रतासँगै भावनात्मक विकासमा पनि सकारात्मक प्रभाव पारेर संवेदनशील र जिम्मेवार नागरिक बनाउन सहयोग गर्ने बताउनुभयो ।

उहाँले आधुनिक सङ्गीतबीच सारङ्गीको अवस्था खुम्चिएकाले पछिल्लो पुस्तालाई  सारङ्गीको महत्व कति हुन्छ भनेर देखाउनु पनि कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो ।

प्रशिक्षक सुर्यमान गन्धर्वले सारङ्गी बजाउने सीप बालबालिकामा हस्तान्तरण गर्नु केवल कला सिकाउनु मात्र होइन, यो हाम्रो संस्कृति, पहिचान र मूल्यहरूलाई जोगाउने महत्वपूर्ण कार्य भएको बताउदैँ सिकेको सिपलाई निरन्तरतासँगै जीवनउपयोगी बनाउन बालबालिकाहरुलाई सुझाव दिनुभयो ।

पुतली बजार नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष जुद्धबहादूर रानाले जेष्ठ नागरिक र बालबालिकाबीच सीप साटासाट हुँदा आपसी माया, सम्मान र समझदारी पढ्नु साथै परिवार र समाजमा सद्भाव कायम गर्न मद्दत पुर्‍याउने, बालबालिकाले भविष्यमा कलाकार बन्न सहयोग गर्ने, सामाजिक मूल्य र अनुभव हस्तान्तरण हुन सहयोग गर्ने बताउनुभयो । 

सहभागीले गन्धर्व जातीका कर्खा, सवाई, चरित्र, चाँचरी, मंगलधुन, बाह्रमासे गीत, घटनाप्रधान गीतहरुमा सारङ्गी बजाउन सकिइएको थियो ।