काठमाडौँ, वैशाख ७ गते । कवि डा. अनन्त अधिकारी र सरस्वती चिमौरियाले आआफ्ना कविता वाचन गर्नुभएको छ । सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनमा भएको कविता वाचन कार्यक्रममा दुई कविले १०/१० थान कविता वाचन गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कवि उषा शेरचनले कविहरूलाई सम्मानपत्र प्रदान गर्दै कविताले मन छोएको बताउनुभयो । यस्तो व्यस्तताबिच पनि कविमनको उल्लेख्य उपस्थिति हुनु सकारात्मक कुरा भन्दै उहाँले प्रशंसा गर्नुभयो ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले धेरै अघिदेखि कवितामा सुनिएकी कवि चिमौरियाका वाचित कविताहरू सुन्दर रहेको बताउनुभयो । अर्का कवि डा. अधिकारीका कविताप्रति टिप्पणी गर्दै रोदनले भन्नुभयो, “कविता सकारात्मक आयाममा आएका छन् ।” मान्छेको मन छामेर उपचार गर्नुपर्ने चिकित्सकले कवितामा समग्र मानवीयता पोखेको उहाँको धारणा थियो । कार्यक्रम चिबहाल परिवार, गौचर ठमेलको सहकार्यमा सम्पन्न भएको थियो ।