गुणबहादुर रोका
सुलीकोट, वैशाख ७ गते । आइतबार साँझ परेको अविरल वर्षा र हावाहुरीसँगै परेको चट्याङका कारण गोरखामा एक युवकको मृत्यु भएको छ ।
जिल्लाको शहीद लखन गाउँपालिका–५, तोर्ने पोखरी डाँडाका २६ वर्षीय विनोद थापा घरभित्र मोबाइल चलाइरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका थिए । उपचारका क्रममा जिल्ला अस्पतालमा राति २ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय गोरखामा खबर प्राप्त हुनासाथ राति ९ः५० बजे इलाका प्रहरी कार्यालय मनकामनाको टोली घटनास्थलमा पुगेको थियो । त्यहाँ थापा अचेत अवस्थामा भेटिएका थिए । उहाँको दाहिने कानबाट रगत बगेको, कपाल, आँखाभौं तथा छाती र पाइन्टका केही भाग जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
चट्याङका कारण थापाले प्रयोग गरिरहेको मोबाइल फुटेको तथा घरभित्रको विद्युत् पावर सकेटसमेत जलेको र भित्तामा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
घटनापछि स्थानीयको सहयोगमा गम्भीर घाइते थापालाई तत्काल जिल्ला अस्पताल पठाइएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । साथै चट्याङको जोखिम बढ्ने मौसममा सतर्क रहन तथा वर्षा र हावाहुरीका बेला सुरक्षित स्थानमा बस्न जिल्ला प्रहरी कार्यालय गोरखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।