• १८ असार २०८१, मङ्गलबार

काँग्रेस र एमालेले दिए अधिकांश पदमा उम्मेदवारी

blog

काठमाडौँ (गोरखापत्र), वैशाख १४ गते ।  स्थानीय निर्वाचन २०७९ मा नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अधिकांश पदमा उम्मेदवारी दिएका छन् । एमालेले ३३ हजार २४ पदमा उम्मेदवारी दिएको छ । काँग्रेसले ३० हजार ९४४ पदमा मनोनयन गरेको छ । वैशाख ३० गते हुने मतदानबाट ३५ हजार २२१ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । 

आयोगका अनुसार  एमालेका उम्मेदवारले ४६० गाउँपालिकामध्ये ४४६ मा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । काँग्रेसका प्रतिनिधिले ३८२ गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २९१ स्थानीय तहको अध्यक्षमा उम्मेदवारी दिएको छ । आयोगका अनुसार एमालेले २९३ नगरपालिका, महानगर र उपमहानगरमध्ये २८८ पालिकाको प्रमुखमा उम्मेदवारी दिएको छ ।  

काँग्रेसले भने २६३ पालिकाको प्रमुखमा उम्मेदवारी दिएको छ । उपप्रमुखमा एमालेले २८३ स्थानीय तहमा र उपाध्यक्षमा ४४५ गाउँपालिकामा उम्मेदवारी दिएको छ ।  काँग्रेसले भने ३५९ पालिकाको उपाध्यक्षमा र २१० नगरको उपप्रमुखमा उम्मेदवारी दिएको छ । 

आयोगका अनुसार ३४ हजार ९४२ जना वडाध्यक्षमा उम्मेदवारी परेकोमा एमालेले छ हजार ४६७ मा उम्मेदवारी दिएको छ । ७५३ स्थानीय तहमा छ हजार ७४३ वडा छन् । काँग्रेसले छ हजार ७३ वडाको अध्यक्ष पदमा मनोनयन दर्ता गराएको छ ।   एमालेले छ हजार ३१८ महिला सदस्य र छ हजार ११० दलित महिला सदस्य तथा १२ हजार ६६७ जना खुला सदस्यमा मनोनयन दर्ता गराएको छ ।  काँग्रेसले पाँच हजार ९९६ महिला सदस्य, पाँच हजार ७३१ दलित महिला सदस्य र ११ हजार ९३३ खुला सदस्यमा मनोनयन दर्ता गराएको छ ।