• ६ जेठ २०८१, आइतबार

स्थानीय तह निर्वाचन

कर्णाली र सुदूरपश्चिम प्रदेशका १३ जिल्लामा मतपत्र ढुवानी

blog

काठमाडौं, वैशाख १३ गते । निर्वाचन आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशमा मतपत्र पठाएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशमा मङ्गलबार मतपत्र पठाएको हो ।

आयोगमा सहसचिव तुलसीबहादुर श्रेष्ठले मङ्गलबार कर्णाली र सुदूरपश्चिम प्रदेशका १३ जिल्लामा मतपत्र ढुवानी गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार मतपत्र ढुवानीका लागि सार्वजनिक सवारीसाधन भाडामा लिइएको छ । तिनै सवारी साधनबाट मतपत्र ढुवानी गरिसकेको जानकारी दिनुभयो । मतपत्र ढुवानी कार्यतालिका अनुसार अब दैनिक रुपमा मतपत्र ढुवानी हुनेछ ।

कर्णाली प्रदेशमा ९०७ मतदान स्थल र १३ सय ८५ मतदान केन्द्र निर्धारण गरिएको छ भने १० लाख एक हजार २८२ मतदाता छन् । जसमध्ये पाँच लाख छ हजार १८० पुरुष, चार लाख ९५ हजार ९९ महिला र तीन जना अन्य मतदाता छन् ।

आयोगले सुदूरपश्चिम प्रदेशमा ११ सय ३५ मतदान स्थल र २१ सय तीन मतदान केन्द्र तोकिएको छ । त्यस्तै, १६ लाख ३२ हजार १५० मतदाता छन् । जसमध्ये आठ लाख ६६२ पुरुष, आठ लाख ३१ हजार ४७० महिला र १८ जना अन्य मतदाता छन् ।

वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार ७२३ छ । जसमध्ये ८७ लाख ४१ हजार ५३० महिला, ८९ लाख ९२ हजार १० पुरुष र १८३ अन्य गरी देशभर एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएका छन् ।