• ८ जेठ २०८१, मङ्गलबार

बिदाको समयमा प्रतिभा तिखार्दै

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १३ गते । पछिल्लो समयमा बिदाको सदुपयोग गरी बालबालिका विभिन्न कलात्मक सीप सिक्ने लोकप्रियता बढ्दो छ । अभिभावकको कार्यालय जानुपर्ने व्यस्तता तथा प्रतिस्पर्धाका कारण बालबालिका प्रतिभावान् हुनुपर्ने मान्यता छ । 

सबै बालबालिकाको रुचि एउटै हुँदैन । त्यसैले बिदाको समय कोही आर्ट, नृत्य, वाद्यवादन, खेलकुद, सङ्गीत सिक्न जाने क्रम बढ्दो छ । स्कुल पढ्ने उमेर समूहका बालबालिकाले बिदा सदुपयोग गर्दै आफूमा निखारता थप्न सक्ने नृत्य प्रशिक्षक सञ्जय राजोपाध्यायको धारणा छ । उहाँले परीक्षा सकिएपछि दिइने बिदा, गर्मी तथा जाडोको बिदामा धेरै बालबालिका नृत्य प्रशिक्षण लिन आउने अनुभव व्यक्त गर्नुभयो । त्यसैले धेरैले म्युजिक सेन्टर, कति नृत्य प्रशिक्षण केन्द्र, अभिनय प्रशिक्षण केन्द्रलगायत प्रतिभा प्रस्फुटनका लागि आयोजना हुने प्रतियोगितामा भाग लिन्छन् । सबैमा फुर्सदको समयमा केही न केही सिकौँ भन्ने चाहना हुन्छ । 

अभिभावकहरू आफैँ बालबालिका लिएर यस्ता ठाउँमा पुग्छन् । अन्य समयमा स्कुलको पाठ्यवस्तुमा मात्र सीमित बन्दै आफ्ना रहर र आफूमा अन्तर्निहित क्षमता बाहिर ल्याउन नपाएकाहरू उत्साहित बन्दै आफ्नो प्रतिभा बाहिर ल्याउँछन् । “विभिन्न क्षमताका बालबालिका एकै ठाउँमा भेट हुँदा एकअर्काका प्रतिभालाई नियाल्ने मौका पाउँछन्”, सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आउनुभएकी हेमा मानन्धर भन्नुहुन्छ, “बिदाको समयमा बालबालिकालाई फुर्सद हुने भएकाले यस्ता प्रतियोगिता आयोजना गरिएको हो ।” 

यस्ता प्रतियोगिताले बालबालिकामा आत्मविश्वास वृद्धि गर्ने र प्रतिभा प्रस्फुटनका लागि सहयोगी हुने उहाँले बताउनुभयो । बालबालिका टेलिभिजन र मोबाइलमा मात्र व्यस्त भएर चिन्तित बनेका अभिभावक यस्ता कार्यक्रममा सहभागी गराउन पाउँदा खुसी हुने गरेको अञ्जना राजथला बताउनुहुन्छ । 

आफ्नी छोरी नृत्य भनेपछि हुरुक्क हुने भएकाले  नृत्य प्रशिक्षण केन्द्रमा भर्ना गरेको जानकारी दिनुभयो । बालबालिकाको अन्तरनिहित प्रतिभा बाहिर ल्याउन यस प्रकारको प्रशिक्षण निकै आवश्यक रहेको उहाँको अनुभव छ । राजथला भन्नुहुन्छ, “प्रतिभालाई परिपक्व बनाउन अध्ययनका साथै अतिरिक्त क्रियाकलापमा समेत अगाडि बढ्न हौस्याउनुपर्छ ।” सङ्गीत, नृत्य, अभिनय जस्ता विभिन्न प्रतियोगिताले बालबालिकाको प्रतिभा प्रस्फुटन गराउन सहज हुन्छ ।