• ४ जेठ २०८१, शुक्रबार

फुटबल खेलाडी संघको अध्यक्षमा विक्रम

blog

फुटबल खेलाडी संघका निर्वाचित पदाधिकारीहरु । तस्बिर सौजन्य : एन्फा

काठमाडौँ, वैशाख ११ गते । नेपाल फुटबल खेलाडी संघको अध्यक्षमा विक्रम लामा निर्वाचित हुनुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचनका लागि भएको खेलाडी संघको आइतबार सम्पन्न साधारणसभाले विक्रमको अध्यक्षतामा सर्वसम्मत संघको नेतृत्व चयन भएको हो । 

संघको उपाध्यक्षमा विकेश कुथु, सुजल श्रेष्ठ र विराज महर्जन निर्विरोध निर्वाचित हुनुभएको छ । सदस्यहरुमा रञ्जित धिमाल, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, सरोज दाहाल, रोहित चन्द र विशाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । संघका अधिकांश राष्ट्रिय टोलीका खेलाडी हुनुहुन्छ । नयाँ कार्यसमितिलाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले शुभकामना दिनुभएको थियो । 

एन्फा निर्वाचनका लागि खेलाडी संघबाट एकजना प्रतिनिधिलाई मताधिकार रहेको छ । एन्फाको आगामी असार ६ गतेका लागि तय भएको केन्द्रीय निर्वाचनका लागि शनिबारसम्म एन्फामा आवद्ध ४८ जिल्ला मध्ये ४४ जिल्ला, क्लब र प्रशिक्षक संघको निर्वाचन सम्पन्न भईसकेको छ । निर्धारित समय अनुसार वैशाख १० गतेसम्म एन्फा जिल्लाको निर्वाचन सम्पन्न हुनुपर्ने प्रावधान रहेपनि विवादका कारण सुर्खेत, भक्तपुर, सिन्धुली र गोरखामा निर्वाचन हुन सकेको छैन ।