खेमराज सापकोटा
रानी (विराटनगर), वैशाख ४ गते । घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगरमा जारी ३८औँ संस्करणको ‘नोबेल विराट गोल्डकप’को फाइनलमा प्रवेश गरेको छ ।
सहिद मैदानमा बिहीबार राति भएको दोस्रो सेमिफाइनल खेलमा ‘ए’ डिभिजनको बलियो टोली चर्च ब्वाइज युनाइटेडलाई ३–० को फराकिलो अन्तरले स्तब्ध पार्दै सम्राटले उपाधि भिडन्त पक्का गरेको हो।
विराट गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको सम्राट स्पोर्टिङले आफ्नो पहिलो प्रयासमै फाइनल पुग्ने ऐतिहासिक सफलता हात पारेको छ। अब शनिबार हुने ग्राण्ड फाइनलमा सम्राटले उपाधिका लागि झापा–११ को सामना गर्ने छ ।
खेलको ५०औँ मिनेटमा सौरभ तामाङले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाउनुभयो । निर्धारित ९० मिनेटको खेलसम्म १–० को अग्रता बनाएको सम्राटले थपिएको इन्जुरी समयमा दुई गोल थप्दै जित सुनिश्चित गरेको हो ।
इन्जुरी समयको चौथो मिनेटमा आदित्य शाक्यले गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो ।
त्यसको दुई मिनेटपछि नै विवेक राईले गोल गरेपछि सम्राट ३–० को सानदार नतिजासहित विजयी भयो ।
खेलको पहिलो गोल गर्ने सौरभ तामाङ ’प्लेयर अफ द म्याच’ घोषित हुनुभयो । उहाँले नगद ११ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभएको छ ।
घरेलु दर्शकको उल्लेख्य समर्थन पाएको सम्राटले सुरुदेखि नै आक्रामक रणनीति अपनाएको थियो ।
अर्कोतर्फ, चर्च ब्वाइजका समीर तामाङ र सृजन गौतमले गोल गर्ने केही सुन्दर मौकाहरू सदुपयोग गर्न नसक्दा टोली सेमिफाइनलबाटै बाहिरिन पुगेको छ ।
यसअघि झापा–११ ले नेपाल पुलिस र त्रिभुवन आर्मी जस्ता विभागीय टोलीलाई पाखा लगाउँदै फाइनलको यात्रा तय गरिसकेको छ । शनिबार राति हुने फाइनल खेलको विजेताले ११ लाख र उपविजेताले पाँच लाख रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।