काठमाडौँ, वैशाख ११ गते । इन्टर मिलान इटालियन सिरी ‘ए’ फुटबलको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा इन्टरले एस रोमालाई ३–१ गोलले हरायो । जितसँगै इन्टरले एसी मिलानलाई पछि पारेको छ ।
इन्टरको जितमा डेन्जेल डम्फ्रेज, मार्सेलो ब्रोजोभिक र लौटारो मार्टिनेजले गोल गर्नुभयो । एस रोमाका हेनरिक मिखटरयानले सान्त्वना गोल फर्काउनुभयो । इन्टरले ३०औँ मिनेटमा डेन्जेल डम्फ्रेजको गोलबाट सुरुवाती अग्रता लिएको थियो ।
४०औँ मिनेटमा मार्सेलो ब्रोजोभिकले गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाउनुभयो । ५२औँ मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै इन्टरको अग्रता थप बलियो बनाउनुभयो । त्यसपछि रोमाका हेनरिक मिखटरयानले ८५औँ मिनेटमा एक गोल गरेपनि टोलीको हार टरेन ।
इन्टरको यस जितसँगै सिरी ‘ए’ को उपाधि होड रोचक बनेको छ । इन्टरले ३३ खेलबाट ७२ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको एसी मिलानको समान खेलबाट ७१ अंक छ । पराजित एस रोमा ५८ अंक सहित पाँचौँ स्थानमा छ । एजेन्सी