• १२ साउन २०८१, शनिबार

स्वास्थ्य शिविरबाट ७०८ जना लाभान्वित

blog

सेनाद्वारा आयोजित स्वास्थ्य शिविरमा सर्वसाधारण उपचार गराउँदै ।

जनार्जन खत्री

सर्लाही, जेठ ६ गते । नेपाली सेनाले शनिबार सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित नाढीमन ताल परिसरमा स्वास्थ्य शिविर आयोजना गरेको छ । स्वास्थ्य शिविरबाट ७०८ जना लाभान्वित भएका छन् । 

नवलपुरस्थित भैरवीदल गण पाँचकुमारी ब्यारेक र बर्दिबासस्थित मध्यपूर्वी हेडक्वार्टरको पहलमा नेपाली सेनाकै फिल्ड अस्पताल बर्दिबासले गाउँपालिका र विभिन्न स्वास्थ्य संस्थासँग समन्वय गरी शिविरमा ७०८ जनाले सेवा लिएका हुन् । सबैभन्दा धेरै बालरोग विभाग अन्तर्गत २३८ जना बालबालिकाको उपचार गरिएको छ । 

यस्तै, हाडर्जोनी तथा नशा रोगका ८० जना, दन्त रोगका ८५ जना, नाक, कान, घाँटीका ७० जना, सुगरका १३ जना, नसा तथा मनोरोग ओपिडीका ७ जना, स्त्री रोगका ८० र आँखाको समस्या भएका ५५ जनाको उपचार गरिएको छ । ५५ जनाले भिडियो एक्स-रे सेवा लिएका छन् । 

शिविरमा आएकाहरूलाई निःशुल्क स्वास्थ्य परीक्षणसहित औषधी पनि वितरण गरिएको भैरवीदल गणका निमित्त गणपति एवं सेनानी पवन विष्टले जानकारी दिनुभयो । 

गाउँबाट ठुलो सङ्ख्यामा मानिसहरू आएर उपचार सेवा लिएका छन् । चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले स्थानीयस्तरमै विशेषज्ञ चिकित्सकबाट सेवा पाउँदा ग्रामीण भेगका गरिब तथा विपन्न वर्गका नागरिक खुसी भएको बताउनुभयो । 

शिविरमा परिचालित नगर अस्पताल लालबन्दीका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामविश्वास रायले स्थानीय विपन्न परिवारका मानिसले लालबन्दी, बयलवास, मलङ्गवा लगायतका स्थानमा पुगेर लिनुपर्ने सेवा गाउँमै पाएको बताउनुभयो ।