• १३ साउन २०८१, आइतबार

मनोनयन पत्र दर्ता आलोपालो गर्ने राजनीतिक दलको सहमति

blog

लमजुङका राजनीतिक दलबीच भएको छलफल । तस्बिरः बेलिना थापा

बेलिना थापा

लमजुङ, बैशाख १० गते । लमजुङका क्रियाशील राजनीतिक दलहरुबीच बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन पत्र दर्ता कार्य आलोपालो गर्ने सहमति भएको छ ।

बैशाख ११ गते आइतबार र १२ गते सोमबार मनोनयन दर्ताको समय रहेको र एकै समयमा सबै राजनीतिक दलहरु आउँदा भिडभाड हुने भएकाले आलोपालो गर्ने निर्णय भएको छ । शनिबार जिल्ला समन्वय समिति लमजुङको सभाहलमा राजनीतिक दलहरुबीच छलफल गरी मनोनयन पत्र दर्ता गर्दा सबै राजनीतिक दलले एकै समयमा नगरी समय व्यवस्थापन गरी मनोनयन पत्र दाखिला गर्ने निर्णय भएको हो ।

मुख्य निर्वाचन अधिकृत, जिल्ला न्यायाधीश शिवप्रसाद खनालका अनुसार एकै समयमा दर्ताको काम गर्दा समस्या हुन सक्ने भएकाले आलोपालो गर्ने सहमति गरिएको हो । उम्मेदवारको नाम दर्ता गर्दा सहज, सरल र छिटो बनाउन सहजीकरणका लागि राजनीतिक दलसँग छलफल गरेको उहाँले बताउनुभयो ।

छलफलबाट राजनीतिक दलले निर्वाचन आचारसंहिता २०७८ लाई पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता जनाएका छन् । सबै राजनीतिक दलको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृत खनालका अनुसार जिल्ला समन्वय समितिमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र अन्य ७ पालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर काम थालिएको छ । लमजुङमा १७ वटा राजनीतिक दल क्रियाशील रहेका छन् । एउटा पालिकामा प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य गरी एउटा पार्टीबाट ५७ जना उमेदवारले नाम दर्ता गराउनुपर्ने छ । लमजुङमा चार नगरपालिका र चार गाउँपालिका छन् ।

मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालको अध्यक्षतामा भएको छलफलमा नेकपा एमाले लमजुङका उपाध्यक्ष यशोदा रिमाल, नेपाली कांग्रेसका उपसभापति आनन्द घिमिरे, नेकपा माओबादी केन्द्र जिल्ला कमिटी सदस्य देबबहादुर गहतराज, जनसमाजवादी पार्टी नेपालका सूर्यबहादुर बुढापृथि, जनता समाजबादी पार्टीका उपाध्यक्ष नरेन्द्रबहादुर गुरुङ, नेकपा एकीकृत समाजवादीका हरिनिधी तिवारी, राप्रपाका उपसचिव बालचन्द्र श्रेष्ठ, मंगोल नेशनल जिल्ला सभाका अध्यक्ष विकास गुरुङ, प्रमुख जिल्ला अधिकारी सुशील बैद्य, जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख सिर्जना मिश्र, मस्र्याङदी गाउँपालिकाका निर्वाचन अधिकृत उदयराज काफ्ले, शसस्त्र प्रहरी नायव उपरीक्षक नवराज थापा, प्रमुख अनुसन्धान अधिकृत कुमार बुढाथोकीलगायतको उपस्थिति थियो ।