• १७ असार २०८१, सोमबार

सर्लाहीका राजनीतिक दल उम्मेदवार छनौटको अन्तिम कसरतमा

blog

फाइल तस्बिर

जनार्जन खत्री
सर्लाही, वैशाख १० गते ।
सर्लाहीका राजनीतिक दलहरु उम्मेदवार छनौट गर्न अन्तिम कसरतमा जुटेका छन् ।

निर्वाचन आयोगले वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताका लागि आइतबार र सोमबार दुई दिन समय छुट्याएको छ । तर, जिल्लाका प्रमुख राजनीतिक दलहरुले शनिबार दिउँसोसम्म उम्मेदवार टुङ्गो लगाउन सकेको छैन ।

सत्तारुढ गठबन्धनका नेताहरु चुनावी तालमेलका लागि निरन्तर छलफलमा छन् भने नेकपा एमालेका नेताहरु जिल्लाको सिफारिस अनुसार प्रदेश कमिटीले दिने टिकटको प्रतिक्षामा रहेका छन् ।

आकांक्षी धेरै हुँदा प्रमुख राजनीतिक दलहरुले नगरप्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा दुई वा दुईभन्दा बढीको नाम सिफारिस गरेका छन् । जिल्लाको लालबन्दी, हरिवन, बागमती, बरहथवा, मलङ्गवा, हरिपुर र कविलासीजस्ता प्रमुख नगरहरुमै नगरप्रमुख र उपप्रमुखका उम्मेदवारहरुबारे अन्यौलता छ ।

जिल्लामा नेपाली काँग्रेसले कुनै पनि पालिकामा एकल उम्मेदवार तय गर्न सकेको छैन । काँग्रेसमा संस्थापन पक्षले एकलौटी नाम अघि सारेपछि संस्थापन इतर पक्षले असन्तुष्टी जनाएको छ ।
उम्मेदवार छनौटको विषयमा काँग्रेसभित्र छलफल नै हुन सकेको छैन ।  माओवादी केन्द्र पनि तालमेलको निर्णय नहुँदा अन्यौलमा नै परेको छ ।

नेकपा एमालेका नेताहरु भने जिल्लाबाट गर्नुपर्ने सम्पूर्ण सिफारिस भइसकेको बताएका छन् । जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि उम्मेदवार टुङ्ग्याउने अन्तिम कसरतमा रहेको छ ।

साना राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरु भने खुलेरै मत माग्न थालिसकेका छन् । अहिलेसम्म उम्मेदवार टुङ्गो नलगाएका काँग्रेस, एमाले, माओवादी केन्द्र, जसपा, लोपसाजस्ता ठूला दलले अधिकांश पालिकामा उम्मेदवार मनोनयन दर्ता गर्ने दिननै उम्मेदवार तय गर्ने देखिएको छ ।