• १३ साउन २०८१, आइतबार

नगरप्रमुख बन्ने कलाकारको रहर

blog

यलु जोशी 

काठमाडौँ, वैशाख १० गते ।  स्थानीय तह निर्वाचन केही दिन बाँकी हुँदा काठमाडौँ महानगरपालिकाको मेयरमा उठ्ने कलाकारहरूको रहर बढेको छ । कलाकार मदनदास श्रेष्ठ, गायक तथा -यापर बालेन शाह र पूर्वमिस नेवाः सुनिता डङ्गोल मेयरको उम्मेदवारमा उठ्ने हुनुभएको छ ।  

श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवार हुनुभएको छ । महानगर समितिको बसेको बैठकले मेयरको उम्मेदवारका लागि कलाकार श्रेष्ठको नाम सिफारिस गरेको जनाइएको छ । यस्तै पूर्वमिस नेवाः डङ्गोल काठमाडौँको मेयरका लागि अर्को उम्मेदवार हुनुहुन्छ ।

उहाँले आफ्नो उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । मेयर बन्ने सपनासहित प्रचारमा लाग्नुभएको उहाँले राजधानीलाई सुन्दर र व्यवस्थित बनाउने सपना बाँडिरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “युवाको आवाज सधैँ कुण्ठित हुन्छ राजनीतिमा, त्यसैले आफैँ मेयरमा उठ्न खोजेकी हुँ ।”

यसैगरी काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनेमा शाह पनि रहनुभएको छ । स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका ३१ वर्षे शाह सङ्गीत क्षेत्रमा आबद्ध हुनुहुन्छ । -यापरका रूपमा चर्चित शाहले भन्नुभयो, “स्थानीय तह निर्वाचनमा राजनीतिक पार्टीबाट टिकट पाउने प्रक्रियाको विरोधी हुँ ।” हरेक छ÷छ महिनामा वडावासीको निःशुल्क स्वास्थ्य जाँच, काठमाडौँको फोहोर प्रशोधन गर्ने, खाली जमिनको उत्पादनमा जोड दिने उहाँको मुख्य चुनावी एजेन्डा रहेको छ । 

यता अभिनेता भुवन केसीले उन्नत लोकतन्त्र पार्टीबाट आफू काठमाडौँ महानगरपालिकाको मेयर पदको उम्मेदवार घोषणा गर्नुभएको थियो तर केही दिनपछि सामाजिक सञ्जालमार्फत् अभिनेता केसीले कुनै कलाकारले महानगरको मेयर बनेर जनताको सेवा गर्छु भन्नु स्वाभाविक भएको तर कार्यव्यस्तता र प्राविधिक कारण अहिले आफू उम्मेदवार बन्न नसक्ने उल्लेख गर्नुभएको थियो ।