• १० पुस २०८१, बुधबार

पदयात्राको गन्तव्य तारकेश्वर

blog

देवेन्द्र अर्याल ‘आँसु’

 काठमाडौँ उपत्यकाको उत्तरपश्चिममा पर्ने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा लिन सकिन्छ । मुलुकका ७५३ वटा स्थानीय तहमध्ये तारकेश्वर नगरपालिका पनि एक हो, जुन काठमाडौँको उत्तरपश्चिममा अवस्थित छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको शिवपुरी पर्वतमा रहेको तारकेश्वरधामबाट नै तारकेश्वर नगरको नामकरण भएको हो । यस धाम भने तारकेश्वर नगरपालिका–३ मा पर्छ । 

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र सुरम्य वातावरणमा रहेको महìवपूर्ण तीर्थस्थलका रूपमा तारकेश्वर मन्दिरलाई लिइन्छ । ऐतिहासिक पाँचमाने र जितपुरफेदीबाट अल्ले ब्यारेक हुँदै पुग्न सकिने तारकेश्वर महादेव मन्दिरमा प्रायः साउने सोमबार, जनैपूर्णिमा, शिवरात्रि, शनिबारका दिन मानिसको ठूलो भीड लाग्छ । प्राकृतिक सौन्दर्यको खानीसमेत मानिने शिवपुरी पर्वतमालाको काखमा रहेको तारकेश्वर महादेव मन्दिर हिन्दु धर्मावलम्बीको महìवपूर्ण तीर्थ हो । 

श्री स्वस्थानी व्रतकथामा सतीदेवीको दाहिने तिघ्रो पतन भएको स्थानमा तारकेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपले रहे भन्ने कुरा उल्लेख छ । तारकेश्वर महादेव मन्दिर पहरामा रहेको छ । तारकेश्वर महादेव मन्दिरनजिकै झरना, गुफा, कुण्ड, पाटी पनि रहेका छन् । नववर्ष, एकादशी, शिवरात्रि, जनैपूर्णिमाजस्ता तिथि वा चाडपर्वमा टाढाटाढाबाट भक्तजन यहाँ पूजाआजा गर्न र मेला भर्न आउने गर्छन् ।

धार्मिक कथनअनुसार देव र दानवको युद्धमा कार्तिकेयलाई भाला चलाउने अधिकार मात्र दिइएको थियो तर उनकी श्रीमती भल्लिमाला र देवसेनालाई वाण, ब्रह्मास्त्र, वायव्यास्त्र, अग्न्यास्त्र चलाउने अधिकार प्राप्त थियो । दानवसँग युद्ध गर्न जाँदा अघोर स्वरूपमा म तारकेश्वरमा रहन्छु भनी स्वयं शिवजीले देवसेना र अन्य सेनालाई भन्नुभएको थियो । त्यसैले युद्धमा जान सिद्धि प्राप्त गर्नुपर्ने तथा हातहतियार प्राप्त गर्न सबै देवगण तारकेश्वर पुगेका थिए । त्यसपछि देवगणले महादेवको प्रार्थना गरी हतियार र सिद्धि प्राप्त गरेका थिए । मनको इच्छा पूरा गर्न वा केही सामग्री माग्न तारकेश्वर मन्दिरमा गएर प्रार्थना गर्ने प्रचलन रहेको कविन्द्र प्रताप मल्लको हनुमानढोकास्थित शिलालेखमा उल्लेख छ । यस स्थानमा तपश्वी कालीबाबा बस्दै आउनुभएको थियो । विक्रम संवत् २०५६ माघमा उहाँको निधन भयो । उहाँकोे समाधिस्थ गरिएको ठाउँमा शिवलिङ्ग स्थापना गरिएको छ । कालीबाबाको कुटी पनि वैशाख १२ र २९ को भूकम्पले भत्किएको थियो । तारकेश्वर नगरपालिकाले तारकेश्वरधामको बृहत् गुरुयोजना तयार गरी संरक्षण, सम्बद्र्धन र निर्माणकार्य सम्पन्न गरेको छ । त्यस्तै यस क्षेत्रमा वर्षायाममा खडेरी पर्दा किसान यहाँ गएर वैदिक परम्पराअनुसार पूजाअर्चना गरी पानी माग्न जाने चलन पनि रहिआएको पाइन्छ । 

तारकेश्वर नगरपालिकाको उत्तरी सिमाना छिमेकी जिल्ला नुवाकोटको प्रमुख पर्यटकीय स्थल ककनीसँग जोडिएको छ । पूर्वमा टोखा नगरपालिका रहेको छ । टोखा नगरपालिका र तारकेश्वर नगरपालिकालाई विष्णुमती नदीले छुट्ट्याएको छ । पश्चिममा नागार्जुन पर्वत र दक्षिणतर्फ काठमाडौँ महानगरपालिका पर्छन् ।

तारकेश्वर मन्दिरबाट केहीमाथि शिवपुरी पहाडको शिरोभागमा अर्को महत्त्वपूर्ण तीर्थस्थल द्यौलेश्वर महादेव रहेको छ । तारकेश्वर नगरपलिकाको क्षेत्रभित्र पर्ने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज खण्डमा केही पूर्वमा टोखा नगरपालिकाको झोर र तारकेश्वर नगरपालिकाको सिमानामा वरुणेश्वर (बौँडेश्वर) महादेव रहेको छ । यो मन्दिरदेखि ऐतिहासिक पाँचमाने तीर्थस्थलसम्म विभिन्न मठ, मन्दिर, देवालय, गुम्बा रहेका छन् । यी सबैलाई एकैपटक दर्शन गर्न पनि तारकेश्वरधामको भ्रमण गर्न सकिन्छ । यहाँ विभिन्न प्रकारका चराचुरुङ्गी, फूल र पुतली पाइन्छन् भने शिवपुरी क्षेत्र काठमाडौँ उपत्यकाको पानीको स्रोत अर्थात् मुहान नै हो ।  तारकेश्वरबाट उपत्यकाको रमणीय सौन्दर्यको रसपान गर्न सकिन्छ । जो तारकेश्वर पुग्छ र द्यौलेश्वर महादेवस्थानमा पुग्दैन, त्यसको यात्रा अपूर्ण नै मानिन्छ । त्यसैले तारकेश्वरमा पूजा अर्चना गर्न जाने भक्तजन यस स्थानमा पुगेका नै हुन्छन् । बिदाको समयमा घुमफिर गर्न पनि मानिस तारकेश्वर जाने गर्छन् । 

तारकेश्वर मन्दिर पुग्न ठाउँठाउँमा सिँढीको व्यवस्था गरिएको छ । मन्दिरको काखमा रहेको पोखरीले यहाँको सौन्दर्यलाई झन् आकर्षक बनाएको छ । तारकेश्वर नगरपालिकामा रहेका महìवपूर्ण सम्पदा, परम्परा एवं जात्रा संरक्षण र सम्बद्र्धन गर्न नगरपालिकाले विशेष योजना तयार पारेको छ । सम्पदा संरक्षण गर्ने कार्यको थालनी गरी पर्यटकीय पदमार्गसमेत निर्धारण गरेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न विभिन्न पदमार्ग निर्धारण गरी पदमार्गको माध्यमबाट धार्मिक, ऐतिहासिक र सांस्कृतिक महìव बोकेको सम्पदाको प्रचारप्रसार एवं विकासमा नगरपालिकाले काम गरिरहेको छ । नेपाल पर्यटन बोर्ड, नाटा, हानलगायतका पर्यटनसँग सम्बन्धित संस्थाले यहाँको पर्यटन विस्तारका लागि ठोस कदम चाल्ने प्रतिबद्धता प्रकट गरेका छन् ।