• १३ साउन २०८१, आइतबार

सडक बनेपछि एम्बुलेन्स सेवा, नभएका स्थानमा खच्चरको भर

blog

सडक निर्माण भएपछि स्थानीय लाई आउजाउँ गर्नमा सहज । तस्विर–हरिकृष्ण ऐडी

हरि ऐडी

मुगु, वैशाख ६ गते । जिल्लाको पूर्वी भेगमा पर्ने खत्याड गाउँपालिकाले पालिकाभित्रका ११ वटै वडामा पुग्ने गरी एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको छ । पालिकाभित्र सबै वडालाई समेटेर ७३ किलोमिटर सडक निर्माण भएसँगै स्थानीयले सहज रुपमा एम्बुलेन्स सुविधा पाएका हुन् ।

खत्याड गाउँपालिकाका प्रमुख उब्जन शाहीले सबै वडामा सडक सञ्जाल पुग्दा यहाँका नागरिकलाई  पालिकाको एम्बुलेन्सले २४ सौं घन्टा सेवा उपलब्ध गराउँदै आएको बताउनुहुन्छ । पालिकाको पहलमा निर्माण सम्पन्न ७३ किलोमिटर बाटोको नियमित मर्मत र स्तरोन्नतिको काम समेत हुँदै आएको उहाँको भनाइ छ ।

खत्याड गाउँपालिका मात्र होइन, जिल्लाका अन्य स्थानीय तहले पनि गाउँका बस्तीसम्म आउजाउमा सहज हुने गरी सडक निर्माण गरेका छन् ।

गाउँबस्तीमा सडक पुगेसँगै यहाँका अन्य विकास निर्माणका काममा समेत तीब्रता पाएको छ । सडक नहुँदा निर्माण सामाग्रीदेखि दैनिकी उपभोग्य बस्तुलगायत खच्चरबाट ढुवानी हुँदा सेवाग्राहीले महँगाे भाडा तिरेर ढुवानी गर्न बाध्यता रहेको थियो । अहिले गाउँबस्तीमा सडक पुगेपछि दैनिक उपभोग्य सामाग्रीकोउपलब्धता हुँदा सस्तो र सुलभ भएको छ । त्यस्तै, निर्माण सामाग्री समेत ढुवानी गर्न सहज भएको र विकासी निमार्णका सामाग्री ढुवानीदेखि बिरामीलाई एम्बुलेन्सबाट अस्पतालसम्म पु¥याउन सहज भएको नखर्जी गाउँका स्थानीय कमल रोकाया बताउनुुहुन्छ ।

नखर्जीमा सडक सञ्जाल जोडिएसँगै विद्यालय भवन निर्माणका सामग्रीहरु सस्तो सुलभमा ढुवानी गर्न सकिएको उहाँका अनुभव छ । छायाँनाथ रारा नगरपालिकाले पनि नगरभित्र सबै वडालाई समेटेर ७३ किलोमिटर सडक निर्माण गरिएको जनाएको छ । ‘नगरका साविक गाउँ चुगा, कम्फा, बालचौंर, लह, सालिम, शोभा र मुर्मालगायतका बस्तीबाहेक अन्यत्र सडक सञ्जाल पुगेको छ’, प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्लले बताउनुभयो ।

यता, १० वटा वडा रहेको सोरु गाउँपालिकाले भने हालसम्म १८ किलोमिटर मात्र सडक निर्माण गरेको जनाएको छ । सोरु गाउँपालिकाका अधिकांश गाउँका बस्तीमा सडक निर्माण नहुँदा विकास निर्माणका सामाग्री लगायत दैनिक उपभोग्य बस्तुहरु चर्को मूल्य तिरेर खच्चरबाट ढुवानी गर्नुपरेको स्थानीय रामलाल बुढाले बताउनुभयो ।

जिल्लाको मुगमकार्मारोङ गाउँपालिकामा भने राष्ट्रिय सडक सजालसँग जोडिन सकेको छैन । जसको कारण यस पालिकाका स्थानीयले बस्तीसम्म खच्चरबाट ढुवानी गर्दा जिल्लाको सदरमुकामदेखि प्रति केजी ३० रुपैयाँसम्म ढुवानी रकम खर्चनुपरेको छ, स्थानीय पेपा तामाङले बताउनुभयो । पालिकाका प्रवक्ता कार्मा लामाले ढुवानी महंगो हुँदा दैनिकी उपभोग्य खाद्यान्न तेल, चिनी, चामलजस्ता उपभोग्य बस्तुहरु महङ्गो मूल्य खर्चनुपरेको बताउनुहुन्छ । स्थानीय स्तरमा सडक बनेको भए पनि राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुनाले स्थानीय सडक प्रयोगविहीन भएको उहाँको भनाइ छ ।

प्रवक्ता लामाका अनुसार माथिल्लो मुगुमा १० किलोमिटर सडक निर्माण गरेको छ । उक्त सडकमा अहिले खच्चरलगायत यहाँका समुदायलाई आउजाउ गर्न सहज भएको छ ।