• ५ जेठ २०८१, शनिबार

घलेगाउँलाई सुखी गाउँ घोषणा

blog

लमजुङको क्व्होलासोंथर गाउँपालिका– ३ घलेगाउँलाई सुखी गाउँ घोषणा गरिँदै ।

बेलिना थापा

लमजुङ, बैशाख ३ गते । गुरुङ जातीको परम्परागत संस्कृतिको थलोको रुपमा चिनिने लमजुङको घलेगाउँलाई सुखी गाउँ घोषणा गरिएको छ । क्व्होलासोंथर गाउँपालिका– ३ स्थित समुद्री सतहदेखि २ हजार १०० मिटरमा रहेको घलेगाउँलाई सुखी गाउँ घोषणा गरिएको छ ।


सार्क राष्ट्रको नमुना गाउँ, स्मार्ट भिलेजको रुपमा परिचित घलेगाउँलाई शुक्रबार नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुखी गाउँ घोषणा गर्नुभएको हो । ओलीले नेपालमा पहिलो पटक घलेगाउँ सुखी गाउ घोषणा भएकोमा खुसी व्यक्त गर्नुभयो । एमालेले वि.स. २०५१ सालमा नौ महिने सरकार चलाउँदा ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने अभियान ल्याएको र त्यसबाट प्रभावित भएर अहिले स्थानीय सरकार लागिपरेर अरुका लागि पनि अनुसरणीय काम गरेको बताउनुभयो । 

अहिले निर्वाचन आचारसंहिता लागिसकेकाले निर्वाचनपछि गाउँको विद्यालयलाई आधुनीकिकरणका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले सार्क राष्ट्रकै नमुना गाउँ, स्मार्ट भिलेज घोषणा भइसकेको गाउँलाई शुक्रबार सुखी गाउँ घोषणा गरिएको हो । घलेगाउँका नागरिक सबै सुखी छन् भनेर प्रमाणित भएको बताउनुभयो ।

घलेगाउँबासीलाई ग्रामीण पर्यटनका माध्यमबाट सुखी बनाउने उद्देश्यले विस. २०५७ बैशाख २३ गते प्रथम घलेगाउँ महोत्सवको आयोजना गरी घरबास (होमस्टे) सुरु गरिएकोमा अहिले ४२ घरमा होमस्टे सञ्चालनमा रहेका छन् । यस गाउँमा विश्वकर्मासहित घले र गुरुङ समुदायले होमस्टे सञ्चालन गरिरहेको छ । 

नेकपा (एमाले) का तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री तथा नेता भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा ‘आफ्नो गाउँ आफैं बनाऔं’ को नारालाई सार्थक बनाउन घलेगाउँलाई सुखी गाउँ बनाउने परिकल्पना थालिएको अध्यक्ष घलेले बताउनुभयो । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सँस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हुँदा २०६४ फागुनमा दक्षिण एशियाको नमूना गाउँ (सार्क भिलेज) घोषणा गरिएको घलेगाउँलाई पुनः २०७० मा पनि सार्क भिलेज शुभारम्भ भएको हो । 

होमस्टेमा एकै प्रकारको आरामदायी कोठा, एउटै रंगको रातो छानो छ । सडक, विजुली, टेलिफोन, इन्टरनेट, खानेपानी, विद्यालय, स्वास्थ्यलगायतको आधारभूत सुविधापछि घलेगाउँ २०७६ साल मंसिर १७ गते स्मार्ट भिलेज घोषणा भएको हो । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) ले नेपालकै उत्कृष्ट होमस्टेको रुपमा पुरस्कृत गरेको थियो ।

यहाँका स्थानीयबासी होमस्टे संचालन गरेर प्रत्येक घरले ३० हजार रुपियाँदेखि ४० हजार रुपियाँसम्म मासिक बचत गर्ने गरेका छन् ।