• ७ मंसिर २०८१, शुक्रबार

नेपालको सुन्दरता

blog

डा. बीपी बडाल

सन् १९६८ मा नोबेल पुरस्कार विजेता प्रसिद्ध जापानी साहित्यकार यासुनारी कावावाताले देशको सुन्दरताको सम्बन्धमा, ‘स्नो कन्ट्री– हिमदेश’ उपन्यास लेखेका थिए । यस कृति अनुसार देश सुन्दर हुनका लागि तीनवटा तत्त्व अनिवार्य छन् । पहिलो हो– देशको प्रकृति, दोस्रो हो– संस्कृति र तेस्रो हो– परिवेश । यसका साथै शान्ति, आत्मीयता, सौहार्दता, प्रेम, करुणा, र मुदिता देशका सुन्दरताका सूचकहरू हुन् ।

 देश सुन्दर बनाउन, मन सुन्दर हुनुपर्दछ । कोरोना जस्तो खतरनाक महामारी कम भएको छ । देशमा पर्यटनको गतिविधि वृद्धि हुन थालेका छन् । हामीले विश्वबाट धेरैभन्दा धेरै पर्यटक स्वागत गर्ने समय आएको छ । ‘अतिथिदेवो भव’ हाम्रो संस्कृति हो । पाहुनालाई देवता मानेर सेवा गर्नु हाम्रो संस्कार हो । देवता अर्थात् पाहुनालाई खुशी राख्न घर, आँगन, चोक, आदि सफा हुनुपर्दछ । खानेकुरा पूर्ण स्वस्थ र सफा हुनुपर्दछ । व्यवहार राम्रो, बोलीचाली मिठो हुनुपर्दछ । मन उज्यालो हुनुपर्दछ  । यसैमा निखार ल्याउनु नै सुन्दरता हो  । पर्यटनको विकास गर्नु नै देशको सुन्दरताको विकास गर्नु हो । 

यद्यपि सुन्दरताको बयान गर्न सजिलो छैन । सुन्दरता कुरूपताको सापेक्षता हो । कुरूपता नभए सुन्दरताको अर्थ हुँदैन । रात नभए दिनको अर्थ हुँदैन । दुःख नभई सुख हुँदैन । कुनै पनि वस्तु सुन्दर र असुन्दर हुनुको पछाडि यसको महìवपूर्ण कारण हुन्छ । एउटै बस्तु, एउटै व्यक्ति, एउटै परिबेशमा एकजनालाई सुन्दर लाग्छ भने अर्कोलाई असुन्दर लाग्न सक्छ । राम्रो र नराम्रो त आँखाको दृष्टिकोण मात्र हो । प्रकृतिको सृष्टि सबै राम्रो हुन्छ । सबै सुन्दर हुन्छन् तर त्यो सुन्दरताको दृष्टिगोचर हुनु जरुरी छ । त्यसका लागि नेपालको सुन्दरताको बारेमा विश्वस्तरका लेखरचना लेखिनैपर्दछ । कला, संस्कृति र पहिचान झल्काउने सामग्री हुनैपर्दछ ।  

सुन्दरताको बयान गर्दा नेपालको प्रकृतिको बयान गरिएन भने पूर्ण हुँदैन । विश्वका उच्च हिमशृङ्खलामध्ये आठवटा नेपालमै छन् । ती हुन्– सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चोयु, धवलागिरि, मनास्लु, अन्नपूर्ण । त्यसैले नेपाल हिमालयको स्वर्ग हो । सगरमाथा नजिक सोलुखुम्बुतिरका सुन्दर उच्च हिमचुचुरा, बादलको घुम्टो र सूर्यको मधुरो प्रकाश हेर्दै, आत्मीय मित्रसँग गफिँंदै गुल्मीमा उत्पादित कफी पिउँदाको स्वर्गीय आनन्द वास्तवमै अद्भुत हुन्छ । यस्तै नेपालमा ३३ प्रकारका गुराँस पाइन्छन् । गुराँस एक हजार २०० देखि पाँच हजार ५०० मिटर उचाइसम्म पाइन्छ । नेपालको सम्पूर्ण पहाडी क्षेत्र लालीगुराँसको बगैँचा हो । नेपालको पहाडी क्षेत्रलाई ‘रोड़ोडेनड्रोन पार्क’ भनिन्छ । तीनजुरे–मिल्के–जलजले क्षेत्र गुराँसका लागि चर्चित छ । यो क्षेत्र ‘गुराँसको राजधानी’ नामले प्रख्यात छ । यो सुन्दरता गर्वका साथ विश्वलाई पस्किनु छ ।  

तराई त नेपालको अन्नभण्डार नै हो । यहाँका खेत–खलियानका धान, उखु, गहुँ, र तोरीबारीले सधैँ मन प्रफुल्ल पारिरहेको हुन्छन् । शुक्लाफाँट, बाँके, बर्दिया, चितवन, पर्सा, कोशीटप्पु आदि राष्ट्रिय निकुञ्जले तराईको सुन्दरतालाई अझै सुनमा सुगन्ध थपिदिएको छ । यो सुन्दरताको आधार नै हिमाल हो । निरन्तर बग्ने मेची, कोशी, गण्डकी, कर्णाली र महाकालीको आधार हिमाल नै हो ।   

विश्वप्रसिद्ध साहित्यकार रवीन्द्रनाथ ठाकुर हिमालयदेखि निकै प्रभावित थिए । उनले लेखेको एउटा कविता ‘ह्वेर माइन्ड इज विदआउट फिएर’ ले हिमालयको बास्तविकता र सृजनात्मकतालाई उजागर गरेको छ । वास्तवमा नेपाल हिमालयको स्वर्ग हो जहाँ मन मुग्ध हुन्छ । यसैगरी नेपालका हरेक ठाउँमा मन्दिर या चैत्य छन् । सबै नेपाली ज्ञान र विज्ञानमा विश्वास गर्दछन् । अतिथिलाई देवता मान्दछन् । ‘आफ्नो ज्योति आफैं बन’ भन्ने बुद्ध वचनलाई सधैँ आत्मसात् गर्दछन् । भगवद्गीता अनुरूप निष्काम कर्मयोग गर्दछन् । मनलाई सुन्दर, स्वच्छ, सफा राख्दछन् । भगवान बुद्धका अनुसार संसारमा चार आर्य सत्य छन्– यो धर्तीमा दुःख छ, दुःखको कारण छ,  दुःख निवारण गर्न सकिन्छ र दुःख निवारण गर्ने मार्ग छ । यो मार्गलाई शील, समाधि र प्रज्ञा भनिन्छ । त्यसैले नेपाली समाज प्रेम, करुणा र शान्तिको प्रतीक हो । 

सुन्दरताको सीमा हुँदैन । सुन्दरताको परिभाषा पनि व्यक्तिगत हुन्छ । प्रकृति र सरलता नै सुन्दर हुन्छ । जर्मन दार्शनिक इम्यानुएल् कान्टले भनेका छन्– बिना उद्देश्यको वस्तुमा उद्देश्य भर्नु नै सुन्दरता हो । साधारणतया साना अनि सरल वस्तुहरू सुन्दर मानिन्छन् । अर्का बौद्ध दार्शनिक सुमाकर भन्छन्, ‘स्मल इज बिउटिफुल’ । आफूले व्यवस्थित गर्न सक्ने, स्याहारसुसार गर्न सक्ने, आफूले चाहेजस्तो बनाउन सक्ने सरल सानो वस्तु नै सुन्दर हो । ठूलो भव्य पनि सुन्दर हो । 

अग्लो सगरमाथा राम्रो हो । होचो केचनाकलन पनि राम्रो हो । त्यसैले नेपाल राम्रो देश हो । कावावाताले जापानी परिभाषा यसरी दिएका छन्  सुन्दरता ‘वावी–सावी’ हुन्छ । सरलतामा जटिलता र जटिलतामा सरलता नै सुन्दरता हो– यसैलाई जापानमा ‘वावी–सावी’ भनिन्छ । पहाड चढ्नु दुःख हो, पहाडको शिरमा पुगेर आनन्द महसुस गर्नु सुख हो । त्यसैले सुन्दरता सुख अनि दुःखको सम्मिश्रण हो । सुन्दरता अनुभव हो, शिक्षा हो । वसन्त ऋतु छ, जताततै लालीगुराँस फुलेका छन् । जीवन एउटा यात्रा न हो । आउनुस् एउटा यात्रा सँगै गरौँ । साँचै सुन्दर नेपाललाई सुन्दर भावनाले भ्रमण गरौँ । देशको अनुभूत गरौँ अनि जाउँला नि विदेश !   

 


Author

डा. बीपी बडाल