• १२ साउन २०८१, शनिबार

मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै

blog

विजयकुमार साह
ढल्केवर, वैशाख २ गते ।
मिथिला क्षेत्रमा शुक्रबार परिवारका ज्येष्ठ सदस्यबाट जीवनमा सकारात्मक ऊर्जा र शीतलताको आशिर्वाद लिएर जुडशीतल पर्व मनाइँदै छ ।

नयाँ वर्षको प्रारम्भसँगै नयाँ वर्षको पहिलो दिन बिहीबार ‘सतुवाइन’ र आज दोस्रो दिन आज ‘जुडशीतल’मनाइएको हो । यो पर्वमा श्रेष्ठजनले शीतलजल परिवारका सदस्यको शिरमा सेचन गर्दै सकारात्मक ऊर्जा वृद्धि र शीतलताको आशिर्वाद दिने प्रचलन छ ।

नयाँ वर्षको शुभारम्भका रुपमा मनाउने गरिएको यसपर्वको मुख्य विशेषतामा आ–आफ्ना अग्रजबाट आशिर्वाद प्राप्त गर्नुका साथै चुलोको पूजा र वातावरणलाई दृष्टिगत गरी रुखको जरामा पानी हालेर सिँचाई पनि गर्ने गरिन्छ । सो अवसरमा शुक्रबार विहानैदेखि अग्रजले आ–आफ्ना परिवारका सदस्यलाई अञ्जुलीमा जल लिएर टाउकोमा राखि वर्षभरि ‘मगज ठण्डा रहोस्’ भनेर आशिष दिने चलन छ ।

यस पर्वको अर्को मुख्य विशेषतामा चुलोको पूजा गर्नु हो । चुलोको लिपपोत गरेर पूजा गरिन्छ । त्यसपछि, घरका चुलोमा राति खाना पकाइँदैन । दिनमै पकाइएका भोजन नै रातिमा खाने परम्परा रहेको छ । वर्षमा एक दिन चुलोको पूजा पनि गरिन्छ ।

सो अवसरमा घरका देउताका साथै चुलो र चौंखटको पूजा गरी खाना, दही र चिनी प्रसादका रुपमा चढाउने गरिन्छ । प्रसादका रुपमा चढाइएका खानाको परिकार नयाँ माटाको भाँडोमा एक दिनअगावै पवित्रताका साथ पकाएर राखिएको हुन्छ ।