• १२ साउन २०८१, शनिबार

संसारको भोकको अवस्था ‘संसारा’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २ गते   । हीराकाजी श्रेष्ठको आत्मकथा ‘संसारा’ले संसारको भोकको अवस्था दर्शाउँछ । संसारामा उहाँले आफ्नो जीवनका अनेक पाटोसहित कर्मक्षेत्रको ३४ वर्षे सेवा अवधिमा भोगेको, देखेको सत्यकथालाई पुस्तकको रूपमा सार्वजनिक गर्नुभएको छ । 

पोखरामा जन्मिनुभएका श्रेष्ठ हुर्कने, पढ्ने परिवेशदेखि जागिरे जीवन, अवकाशप्राप्त जीवनसम्मका सङ्घर्ष, सन्तुष्टिलाई यस पुस्तकमा पढ्न पाइन्छ । श्रेष्ठले दुई दशकसम्म संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमअन्तर्गत नेपालमा काम गर्नुभयो । त्यसपछि  खाद्य सङ्कटमा रहेका अन्य मुलुकमा पुगेर काम गर्ने क्रममा देख्नुभएको यथार्थ घटना, खानाको अभावले हुने द्वन्द्व, लुटपाटदेखि हिंसात्मक गतिविधि, अभावबाट प्रभावित महिला, बालबालिकाको  कारुणिक अवस्थाले मन अमिलो बनाउँछ । 

पुस्तकमा कर्ण शाक्य लेख्नुहुन्छ, “हीराकाजीको जीवन साढे तीन दशक विश्व खाद्य कार्यक्रममा काम गरेको साधनाको फल हो ।” उहाँले वि.सं. २०२८ मा एसएलसी परीक्षाको नजिता हेर्न पोखरा विमानस्थल पुगेर गोरखापत्र दैनिकका लागि हवाईजहाज पर्खेको, सोही वर्ष पोखराबाट उच्च शिक्षा पढ्ने धोको लिएर हवाईजहाजमा ६२ रुपियाँ तिरेर राजधानीमा आएको सम्झना पनि पुस्तकमा लेख्नुभएको छ । त्यसैगरी राजधानीमा साथीसँग समूहमा मिलेर बस्दा ५२ पैसा छाकको खाना खाएर पढ्नुभएको सम्झनाले त्यति बेलाको बजारभाउको अवस्था देखाउँछ ।  

हाल उहाँ बागवानी फर्ममा रमाइरहनुभएको छ । घोस्ट राइटिङ नेपालमार्फत बजारमा आएको यस पुस्तक बिक्रीबाट आएको रकम पनि समाजसेवामा समर्पित गर्ने लक्ष्यले पोखरेली दिदीबहिनी समूहद्वारा सञ्चालित ‘असहाय बालबालिका शिक्षा विकास कोष’को खातामा जम्मा गर्ने लेखकको उद्देश्य छ ।