• १३ साउन २०८१, आइतबार

दलहरूले एउटै चुनाव चिह्न लिन समस्या पर्ने

blog

इश्वरचन्द्र झा

काठमाडौँ, वैशाख २ गते  ।  निर्वाचन आयोगले उम्मेदवारले मनोनयनपत्र दर्ता गराउँदा जुन राजनीतिक दलको चुनाव चिह्न लिने हो त्यसपछि पनि सोही दलको नै प्रतिनिधित्व हुने प्रस्ट पारेको छ । स्थानीय तह निर्वाचनमा राजनीतिक दलहरूले आफ्नै चुनाव चिह्न नभई अन्य दलको चुनाव चिह्न लिएर मनोनयन दर्ता गर्ने तयारी गरिरहँदा आयोगले सोसम्बन्धी व्यवस्था प्रस्ट्याएको हो । 

निर्वाचन आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले भन्नुभयो, “सम्बन्धित दलको आधिकारिक व्यक्तिले दस्तखत गरेर टिकट दिएको अवस्थामा उम्मेदवार हुन पाउने हो, आयोगले उम्मेदवारलाई उक्त चुनाव चिह्न भएको दलको पहिचान गर्छ ।” स्थानीय तह निर्वाचन ऐनले समेत राजनीतिक दलले खडा गरेको उम्मेदवारको हकमा त्यस्तो दलले निजलाई औपचारिक पत्र दिएको हुनुपर्ने व्यवस्था गरेको छ । 

नेपाल कम्युनिस्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच बुधबार स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने सम्बन्धमा पाँच बुँदे  सहमति भएको थियो । उक्त सहमतिबमोजिम राप्रपा नेपालका उम्मेदवारले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् । दुवै दलबीच भएको सहमतिअनुसार निर्वाचित भएपछि पनि राप्रपा नेपालमै आबद्ध रहनेछन् तर निर्वाचन ऐनले उक्त सहमतिलाई पहिचान नगर्ने देखिएको छ । 

ऐनले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकेपछि त्यस्ता उम्मेदवारले आफ्नो दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा सो निर्वाचन चिह्न परिवर्तन नहुने व्यवस्था गरेको छ र त्यस्तो उम्मेदवार निर्वाचित भएमा सम्बन्धित दलले प्रमाणसहित आयोगमा उजुरी दिएमा निजको सदस्यता खारेज हुने व्यवस्था पनि ऐनमा छ । 

‘निर्वाचनबारे संशय नगरौँ’

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने प्रस्ट्याएको छ । आयोगले निर्वाचन वैशाख ३० मा हुने÷नहुनेबारे जिम्मेवार नेताबाट टिप्पणी आएकोमा ध्यानाकर्षण भएको जनाएको छ । 

आयोगले निर्वाचन तयारीबारे गर्दै आएको पत्रकार भेटघाटमा प्रवक्ता पौडेलले भन्नुभयो, “निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारी तीव्रताका साथ अन्तिम चरणमा पुगेको छ, राजनीतिक दलका जिम्मेवार नेता एवं कार्यकर्ताबाट आएको संशय गर्ने अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको छ ।” आयोगले निर्वाचनको विषयमा अन्योलता सिर्जना गर्ने अभिव्यक्ति नदिन आग्रहसमेत गरेको छ ।  समग्र अर्थतन्त्र आर्थिक सङ्कटबाट गुज्रिरहेको र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी चुनावमा आउन इच्छुक रहेकाले मतदानको मिति पर सारेर भए पनि आउने वातावरण बनाउनुपर्ने सन्दर्भमा केही राजनीतिक दलका शीर्ष नेताले यस्तो धारणा राख्नुुभएको थियो । 

७० लाख मतपत्र छापियो

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ७० लाख ३३ हजार मतपत्र छाप्ने कार्य पूरा भएको जनाएको छ । आयोगले निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र छाप्ने जनाएको छ । आयोगका अनुसार हालसम्म ३९ जिल्लाको मतपत्र छपाइ टुङ्गिएको छ । “हाल दैनिक आठ लाख मतपत्र छाप्ने कार्य भइरहेको छ,” आयोगका प्रवक्ता पौडेलले जानकारी दिनुभयो । 

आयोगले काठमाडौँ, ललितपुर, विराटनगर, पोखरा, वीरगञ्ज र भरतपुर महानगरपालिकाको मतपत्र भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मात्रै छाप्ने जनाएको छ । 

६५ संस्थाले पर्यवेक्षण गर्ने

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ मा ६५ वटा संस्थाले पर्यवेक्षणका लागि निवेदन दिएको जनाएको छ । आयोगले चैत १३ गते सूचना प्रकाशन गरी पर्यवेक्षणका लागि १५ दिनभित्र निवेदन दिन आह्वान गरेको थियो । उक्त सूचनाबमोजिम ६५ वटा संस्थाले विद्युतीय माध्यमबाट निवेदन दिएको प्रवक्ता पौडेलले बताउनुभयो ।

६५ वटा संस्थाले २० हजार ४६७ जना पर्यवेक्षक परिचालन गर्ने प्रस्ताव गरेको छ । जसमा ११ हजार ६९४ पुरुष र आठ हजार ४८२ महिला तथा २९१ जना अन्य रहेको आयोगले जनाएको छ । आयोगले उक्त निवेदन सम्बन्धमा जाँचबुझ गरेर पर्यवेक्षण अनुमतिको निर्णय दिनेछ । स्थानीय निर्वाचनमा राष्ट्रिय स्तरका पर्यवेक्षण संस्थाले मात्रै निवेदन दिएका थिए ।