जीवनको उद्दाम वेग (निबन्ध)
वेग हानी उडेको चरो हेर्न लोभिन्छु म । चराको त्यस वेगले हृदयमा चारुताको भाव पैदा गर्छ । शिशिर र वसन्तको सङ्गम कालमा सुसेलो हाल्दै आउने आँधीले आकर्षित गर्छ । आँधीको आवेग हेर्न पनि म औधी लोभिन्छु । निलसागरमा बेगिँदै बटारिँदै उर्लिने सामुद्रिक ज्वारभाटाले मनमा आनन्दको ज्वार पलाउँछ । छाँगाबाट वेग हान्दै झर्ने झरनाले हृदय विमोहित गर्छ । प्रकृतिका हर वेगहरूमा आवेगहरूमा आफ्नै जीवनको उद्याम वेग देख्छु म । यी वेगहरूले मभित्र जीवनको उत्कट आशावाद अभिसञ्चार गर्दछन् । भर्खरै गगनपथबाट बेगिँदै बटारिँदै रौद्र गर्जना ओकल्दै आएको कालो बादलले एक झर पानी झा¥यो । खङ्ग्रङ्ग सुकेको धर्तीबिच जीवनका अङ्कुरण पलाउन थाले । वर्षात् छर्नुअघि वेग हेर्न ल्याएको थियो । हुलका हुल बादलहरू एक अविराम वेगमा पूर्वबाट पश्चिम दौडिरहेथे । धुनियाले पल्लामाथि रुवा फिँजाए झैँ छिनभरिमा आकाशको पल्लाभरि मेघजाल फिँजियो र निमेषभरमै पानीका दाना ओइरिन थाले । प्रकृतिका यिनै वेगले मलाई भित्रबाट छुन्छन् । भित्र