• १३ पुस २०८१, शनिबार

‘तिमी आयौ, मेरो जीवन सार्थक बनायौ !’

blog

लेख्न मन लागेको तर जाँगर नचलेको, नलेखुँ घरिघरि यो विषयले चिथोरिरहने, यसै कारण लेखेको हुँ । आजसम्मका कथा, निबन्ध वा लेख लेख्दा म स्पष्ट हुन्थ्येँ– कि कसरी विषयको पोयो उठाउने र कहाँ लगेर बिट मार्ने तर यस विषयमा म त्यस्तो स्पष्ट छैन । मनभित्र केही तर्क छन्, केही विचार छन् । केही आग्रह नजाने पूर्वाग्रह पनि हुन सक्छन्, तिनै छन्, तिनैलाई समेटेर लेख्दै छु ।  

सामाजिक सञ्जालको विस्तारपछि हाम्रा केही मूल्य, मान्यतामा परिवर्तन आएका छन् । आउँदै छन् । यसले मानिस, उसका सामाजिक अन्तक्रिया र सम्बन्धलार्ई आत्मीयभन्दा औपचारिक बनाएको छ । हामै्र पुस्ताको कुरा गर्ने हो भने पनि जन्मको शुभकामना र मृत्युका समवेदना यतिविधि सस्ता थिएनन् त्यतिखेर तर मर्दापर्दाको सम्बन्ध अहिलेको भन्दा कसिलो थियो । उखान मात्र होइन उक्ति नै स्थापित छ नेपाली समाजमा ‘जिउँदाको जन्ती र मर्दाको मलामी’ जतिसुकै रिसराग भए पनि निमन्त्रणा आएपछि जन्त जानै पर्छ, खबर सुनेपछि मलामी जानै पर्छ । मलामी जान बोलाउनु पर्दैन । नेपाली समाजमा यस्ता उक्ति, उक्तिका मूल्य, मान्यता, विश्वास र परम्परा विघटित हुँदै छन् । पूर्वस्थापित मूल्य, मान्यतामा परिवर्तन आउनुलाई अन्यथा भन्नु हुँदैन, यो सांस्कृतिक परिवर्तनको सिलसिला पनि हो तर परिवर्तित मूल्य, मान्यता थप जीवनोपयोगी हुनु पर्छ भन्ने आग्रह मात्र राखेको हुँ । यस्तो परिवर्तनको एक हदसम्म सहमत छु । यस कारण यहाँसम्मका सन्दर्भमा लेख्नुपर्ने खास विषय पनि छैन तर जब जब सामाजिक सञ्जालमा लेखिएका केही शब्द, वाक्य, अनुच्छेद देख्छु यिनै तìवले मलाई लेख्न घचेट्छन् । 

उदाहरणका लागि मैले डायरीमा टिपेर राखेका केही वाक्य वा शब्दावली हेरौँ–

‘तिमी आयौ र मेरो जीवनलाई सार्थक बनायौ’

‘मबाट हामी भएको दिन’

‘दुई मुटु एक भएको दिन’

‘मलाई तिमीले छहारी दिएको पल’

यी वाक्य जन्मदिन वा विवाह महोत्सवका अवसरमा श्रीमती तथा श्रीमान्ले आपसमा सम्मान वा भनुँ समर्पणका खातिर व्यक्त गरिएका उद्गार हुन् । यस्ता वाक्य अधिकांशतः पुरुषहरूले व्यक्त गरेका पाएको छु । मैले कसकसको सामाजिक सञ्जालबाट यी वाक्य लिएँ, केहीको जानकारी मसँग छ तर व्यक्तिकै नाम किटेर यस्ता सन्दर्भमा उदाहरण दिनु लेखन संहिताभित्र पर्दैन भन्ने लाग्छ । कसैसँग मिलेछ भने संयोग मात्र भनिदिनु होला । म व्यक्तिका बारेमा नभएर प्रवृत्तिका बारेमा लेख्दै छु । व्यक्तिसँग मेरो कसैसँग कुनै गुनासो छैन । प्रवृत्तिसँग पनि धेरै असहमत होइन तर के लेख्दै छु भन्ने ख्याल लेखकले गर्नु पर्छ भन्ने मान्यता राख्छु । भाषाले संस्कृति बोकेको हुन्छ । भाषा स्वयं संस्कृति हो । संस्कृतिलाई हस्तान्तरण गर्ने हुलाकी हो भाषा । भात खानु र भुजा ज्युनार गर्नुको संस्कृतिलाई व्यवहारले मात्र होइन भाषाले पनि प्रदर्शन गर्छ । यसर्थ भाषा वा शब्द कसरी खेलाउने भनेर जान्नु लेखकका लागि त्यतिकै महìवपूर्ण छ जति बन्दुक र गोली चलाउन जान्नु सिपाहीका लागि अर्थपूर्ण छ । ब्रह्माण्डको उत्पत्ति र विनाशको कारण शब्दनाद वा शब्दब्रह्म हो भनेर पूर्वीय चिन्तकहरूले मत जाहेर गर्नुलाई यस प्रसङ्मा जोडेर हेर्नु पर्छ । शब्दलाई यसै भएर  शब्दब्रह्म भनिएको हो । 

‘तिमी आयौ र मेरो जीवनलाई सार्थक बनायौ’ यो वाक्य मेरा एक मित्रले जन्मदिनमा शुभकामना दिँदै श्रीमतीप्रति आभार व्यक्त गरेका हुन् । म बुझ्छु यस्तो व्यक्तिगत मामिलामा चर्चा परिचर्चा गर्नु शोभनीय होइन तर मैले माथि नै भनेको छु यो व्यक्ति नभएर प्रवृत्ति लक्षित विचार हो । मेरा मित्रको जीवन सार्थक बनाउनु हुने उहाँकी श्रीमतीजीलाई मेरो पनि शुभकामना छ तर मेरो साथीको जीवन कतिखेर र कसरी सार्थक भएछ भनेर खोज्नु मात्र मेरो उद्देश्य हो । कवि बालचन्द्र वाग्लेले ‘नरत्वप्रकाश’ खण्डकाव्यमा लेख्नुभएका केही हरफबाट साथीको जीवन सार्थकता खोज्न मलाई सहज हुनेछ । जसमा उहाँले आमाको पेटमा भ्रूणको विकास, गतिविधि र आमाको मनोदशालाई यसरी लेख्नुभएको छ–

एक्मास द्विमास गरीगरीकन

बनेछ मेरा नवद्वारको तन

चलेर उफ्रेर म छट्पटाउँदा

कठै मुमामा अति वेदना हुँदा

परेर घोप्टो ऊँ.. हुँ... हुँ गरीकन

सही रहन्थिन् यी हरेक वेदना 

मलाई लाग्छ मेरो साथीको जीवन यसरी पनि सार्थक भएको होला । योभन्दा अघि मातापिताको सपना र सहवासले पनि उहाँको जीवन सार्थक बनाएको होला । यसपछि आमाले थाङ्नामा सुताएर लगाएको ज्वानो–तेलले पनि साथीको जीवनलाई सार्थक बनाएको होला । उहाँको जीवनलाई सार्थकता दिन उहाँका बाबुले आँगनमा ताते ताते गराएर हिँडाएका क्षण पनि गौण होइनन् होला । सामाजिक सञ्जालमा एक जना आमा भन्दै हुनुहुन्थ्यो– ‘मेलामा दिएको खाजा पनि ल्याएर छोराछोरीलाई बाँडे,’ भोक चपाएर, सन्तुष्टि बाँड्ने आमाका स्नेहले पनि कसैको जीवनलाई सार्थक बनाएको हुन सक्छ । जीवनलाई एउटै घटना, एउटै पात्र, एउटै लक्ष, एउटै गन्तव्यले सायदै सार्थक बनाउँछ । जीवन त यात्रा हो, कुन एउटा चौतारोमा विश्राम गरेर को गन्तव्यमा पुगेको होला ? ठिक छ, श्रीमती आएर साथीको मात्र होइन सबैको जीवनको एउटा खण्ड सार्थक हुने सत्यमा विवाद गर्न आवश्यक छैन । आमाले सबै कर्तव्य निर्वाह गर्न सक्दिनन् र अरूलाई त्यस्तो दायित्व बाँडिएको हुन्छ, रिले दौडमा जस्तो । भगवानमा विश्वास गर्नेहरूका लागि यो उदाहरण उपयुक्त हुन सक्छ–सबै काम भगवान्ले गर्न नसकेर माता, पिता, ऋषि, चिकित्सक, जीवजन्तु बनाए । आमाबाट नहुने काम श्रीमतीबाट हुन्छ तर समग्रमा श्रीमती आएर मात्रै साथीको जीवन सार्थक भएछ भनेर भनियो वा बुझियो भने के हुन्छ अर्थ । के हुन्छ आमाबाबु तथा कुटुम्बको हैसियत त्यतिखेर ? यहीँ छ शब्दब्रह्मको कुरा । अर्थात् उत्थान र पतनको कारक शब्द हो । म स्पष्ट छु मेरा साथीले भावबाट आमालाई उपेक्षा गरेका होइनन् तर भाषाबाट नि ? यहाँ हुनुपर्छ भाषाको विवेचना । 

‘तिमी आयौ र मेरो जीवनलाई सार्थक बनायौ’ यो वाक्यका प्रत्येक शब्दको विवेचना गर्न सकिन्छ तर कम्तीमा पनि जीवन र सार्थकतालाई बुझ्नै पर्छ । तपाईंले बिर्सनुभयो, अन्तर्वार्ता दिन जाँदा तपाईंले कमिजमा लगाएको आइरनले तपाईंलाई उत्तीर्ण बनाउन सहयोग गरेन ? अथवा २० रुपियाँ तिरेर जो बस चढेर अन्तर्वार्ता दिन जानुभयो, के बसले तपाईंको जीवनलाई सार्थक बनाएन ? चालक, सहचालक वा तपाईंलाई शुभकामना दिने छोरी, भतिजी कसको सहयोग र सद्भाव तपाईंको जीवन सार्थक बनाउन सहयोगी रहेनन् ? तपाईंले बुझेको जीवनको सार्थकता के हो ? अनुकूल, उपयोगी, सफल, सिद्ध, अर्थपूर्ण भाव (मिनिङफुलनेस) के हो सार्थकता ? अथवा जीवन को हो ? तपाईंले कति सार्थकता पाउन खोजेको हो ? कति सार्थकताले तपाईंलाई पुग्ने हो ?

कारसम्म पुगेर श्रीमतीजीले श्रीमान्लाई कोट लगाइदिएको वा ढोका खोलेर श्रीमान्लाई कारमा पस्न र निस्कन सहयोग÷सम्मान गरेको चलचित्रका स्नेहपूर्ण दृश्य देखेर कुनै दिन मलाई लाग्थ्यो जीवनको सार्थकता यही हो । सम्पन्नता सार्थकताको अर्को नाम हो जस्तो लाग्थ्यो मलाई । एक मित्र जो बैङ्कका प्रमुख कार्यकारी अधिकृत रहेछन् उनले एक पटक सफलताबारे प्रवचन दिँदै भने– ‘मैले कति तलब खान्छु नसोध्नू, मैले नेपाल सरकारका तीन जना सचिवको तलब बराबर कर तिर्छु ।’ हुन सक्छ उनको जीवनको सार्थकता यो होला । ‘सफलताभन्दा पर सार्थकता छ कि छैन’ म ती बैङ्कर मित्रलाई सोध्न चाहन्थेँ तर मैले आफैँमा चित्त बुझाएँ– उड्नु, अग्लिनु, फैलिनु चङ्गाको सार्थकता हो तर धागोभन्दा पर ऊ जान सक्छ ?  अथवा गएमा के हुन्छ ? के हो त बच्चाले बोल्ने चङ्गा चेट ? बैङ्कभन्दा पर उनको सार्थकता छ ? सफलता छ ?  

हुन सक्छ, बाँच्नुको अर्को नाम जीवन हो । कि बाँच्नुभन्दा पनि पर जीवन छ ? जीवनको परिभाषा दिन सक्ने क्षमता म राख्दिनँ तर मृत्युपछि मानिस बाँच्छ कि बाँच्दैन अथवा कति र कसरी बाँच्छ त्यो नै मैले बुझेको जीवन हो । बाँकी त सास फेराइ मात्र हो । मेरो विचारमा सास फेराइ र बाँच्नुमा आस्मान–जमिन भिन्नता छ । उदाहरण दिएर भनेमा स्पष्ट हुनसक्छ– शङ्खधर साख्वा, जो व्यक्ति नभएर जीवन हो मेरो बुझाइमा । यदि मैले पढेको इतिहास सही छ भने नागरिकलाई ऋणमुक्त गर्ने शङ्खधरलाई म जीवन भन्छु । मैले मदनमोहन मालवीय (सन् १८६१–१९४६) को जीवन बनारस विश्व विद्यालय÷ हिन्दु विश्व विद्यालय÷ काशी विश्व विद्यालय (बिएचयू) को प्राङ्गणमा भेटेँ । जहाँ म केही मिनेट उभिएर उहाँप्रति श्रद्धा व्यक्त गरँे । महामानव मालवीयले आफ्नो सम्पत्ति बेचेर स्थापना गर्नुभएको सो विश्व विद्यालयले भारतमा मात्र नभएर नेपालका दुर्गम दुर्गम क्षेत्रमा पनि शिक्षाको ज्योति फैलाउन सहयोग ग-यो, गरेकै छ । सो विद्यालयले शिक्षामार्फत दक्षिण एसियामा पुनर्जागरण ल्याएको छ । बनारस घुम्दै गर्दा उहाँको जीवनलाई निरक्षण पढेँ । मलाई विश्वास छ जीवन पढ्नका लागि अक्षर र पुस्तक चाहिँदैन । यसर्थ मालवीयलाई म जीवन भन्छु । सार्थक जीवन । उहाँ पात्र र व्यक्ति मात्र होइन । जीवन हो, सार्थक जीवन ।  

यदि यसो हो भने, मेरा मित्रको जीवन कसरी सार्थक भएको रहेछ म जान्न चाहन्छु, यद्यपि यो उहाँको निजी मामिला हो । श्रीमतीजीले जीवन सार्थक बनाएका मित्रको विगत संस्कृति कस्तो होला ? परिवारको संस्कृति, नाताको संस्कृति, परम्पराको संस्कृति । संस्कृति भनेको मूल्य, मान्यता पनि हो भनिरहनु पर्दैन । परिवार भनेको संस्था हो पनि भनिरहनु पर्दैन । त्यति ठुलो संस्थाले सार्थक नबनाएको मेरा साथीको जीवनलाई श्रीमतीजी घर आउने बित्तिकै सार्थक बनाउन सक्नुले परिवार, नाता, विवाह जस्ता सूक्ष्म संस्थाको औचित्य नै धरापमा परेको देख्छु । 

अर्काे एक साथीले विवाह महोत्सवमा शुभकामना दिँदै श्रीमतीलाई लेखिदिए– ‘दुईवटा मुटु एक भएको दिन ।’ महिलाहरू खास गरी विवाहितले यस्ता जूनतारा झार्ने राग पत्याउनु हुन्छ ? यस्तो भनाइ विज्ञानसम्मत छ, छैन परीक्षण गर्नु हुन्छ ? मलाई कसैले यी वाक्य साहित्यको व्यञ्जना र लक्षणा भनेर सिकाउनु भयो भने पनि म यो मान्न तयार छैन । व्यञ्जना र लक्षणाले वव्रmोक्ति व्यक्त गर्छ, सङ्केत व्यक्त गर्छ,  विम्ब व्यक्त गर्छ । झुट व्यक्त गर्दैन् । दुईवटा मुटु एक हुनुको अर्थ न मानसिक न भौतिक रूपमा सत्य हुन सक्छ । कुनै पनि दुई भिन्न वस्तु एक हुन सक्दैन । एक हुनु भनेको एउटाको अस्तित्व अस्वीकार गर्नु हो । प्रसिद्ध जीव वैज्ञानिक ग्रेगोर जोहान मेन्डल (सन् १८२२–१८८४) ले जीव उद्विकासका सन्दर्भमा मानिससहित हरेक जीवलाई वंशाणुगत विशेषता वाहकका रूपमा चरितार्थ गरेका छन् । अर्थात् यस्ता विशेषता प्रभुत्व, पृथकीकरण र स्वतन्त्र भिन्नता (डोमिनेन्स, सेग्ग्रेगेसन र इन्डिपेन्डेन्ट असोर्टमेन्ट) का आधारमा हरेक व्यक्तिले पुस्ता–पुस्तामा हस्तान्तरण गर्दै जान्छन् । तपाईंकी श्रीमती तपाईंको घर आउँदा भिन्न मुटु लिएर आउनुभएको छ । 

यति मात्र होइन उहाँले जीवमा रहने पैत्रिक गुण वा विशेषता ल्याउनु भएको हुन्छ । तपाईं र उहाँको जिन मिसिएर अर्को पुस्ता तयार हुन्छ । यो विज्ञानको कुरा भयो । भावनात्मक कुरा गर्ने हो भने पनि सोचाइ, तर्क, चाहना, क्षमता आदि कुनै पनि दृष्टिले तपाईंहरूको दुईवटा मुटु एक हुन सक्दैन । मात्र यति भन्न सकिएला– ‘हामीले सँगै रहेर साझा उद्देश्य प्राप्त गर्न प्रण गरेको दिन’ अर्थात् विवाह महोत्सव । यी प्रतिज्ञाका कुरा हुन् र त परपाचुके हुन सक्छ । प्रतिज्ञा अर्थात् करार जब भङ्ग हुन्छ तब छुट्टिभिन्न हुन सक्छ । यसर्थ सहमत हुनुहोस् विवाह एनाटोमी (अङ्ग विज्ञान) को अध्याय होइन, बरु कानुनको दफा हो । अर्थात् धार्मिक कानुन, राज्य कानुन वा सामाजिक कानुन । म र मेरी श्रीमती कन्भिन्स छौँ कि हामीमा अगल अलग मुटु छन्, तिनले अलग अगल काम गर्छन्, हामी भिन्न हौँ, हाम्रो भिन्न अस्तित्व छ तर हामी साझा उद्देश्यका लागि सङ्गठित छौँ, प्रतिबद्ध छौँ र छौँ कृतसङ्कल्पित । यो भनेको समाज विज्ञानको अध्ययन क्षेत्र हो । जीव विज्ञानको सङ्काय होइन । यो भनेको अगस्ट कम्टको विचार हो, चाल्र्स डार्बिन वा मेन्डलको होइन ।

अर्की साथीले श्रीमान्लाई विवाहको शुभकामना दिँदै लेखिन्– ‘मबाट हामी भएको दिन’ । कठैबरा ! माइती बस्दासम्म ‘हामी’ नभएकी उनका बारेमा थप शब्द खर्चिन्न । 

पत्रकारिता वा सामजिक सञ्जालका यस्ता भाषालाई टिपेर लेख्दै जाने हो भने ठुलै सङ्ग्रह बन्न सक्छ । मैले माथि भनिसकेको छु यो भाषाको मात्र कुरा होइन । मूल्य, मान्यता वा समग्रमा संस्कृतिको हो । साथी, तपाईंकी आमाले तपाईंले श्रीमतीजीलाई पुकार गर्नुभएको ‘तिमी आयौ र मेरो जीवन सार्थक बनायौ’ भनेको वाक्य देख्नुभयो भने कति पटक दोहो¥याएर पढ्नु होला ? भाषाले विज्ञान मात्र होइन मनोविज्ञान पनि व्यक्त गर्छ । तपाईंको मनोविज्ञानलाई तपाईंकी आमाले कसरी पढ्नु होला ? अथवा यी हरफले तपाईंकी आमामा कस्तो मनोवैज्ञानिक छाप छाड्ला ? तपाईंको जीवन तपाईंकी श्रीमतीले (स्त्री) ले सार्थक बनाउनु भएकोमा मेरो असहमति होइन मात्र यति भनेको हुँ तपाईंको जीवनलाई तपाईंमा ठोक्किएका हरेक व्यक्ति, घटना, वस्तु, पदार्थ, भौतिक, अभौतिक सबै पक्षले सार्थक बनाएका छन् भनेर सम्झाउने चेस्टा मात्र गरेको हुँ । जस्तो माथि भनिए जस्तै आइरन (इस्त्री) ले पनि तपाईंको व्यक्तित्वलाई सार्थक बनाउन सहयोग गरेको छ । तपाईं श्रीमती (स्त्री) र आइरन (स्त्री) को भिन्न अस्तित्व स्वीकार गर्नुहुन्न भने एउटा विज्ञापन घोक्नुहोस् । बिएमसी मसलाको, जहाँ भनिन्छ– ‘जब बुहारी घरमा आइन् स्वाद र बास्ना लिएर आइन् ।’ मानौँ, बुहारीले बिएमसी मसला नल्याएसम्म त्यो घरको खानामा स्वाद र बास्ना थिएन । कठैबरा, त्यो घरपरिवारप्रति सहानुभूति व्यक्त गरौँ । तर मैले आधुनिक बजारशास्त्रमा पढेको छु– ‘झुटलाई कानुनीकृत (लिगलाइज) गर्नु नै विज्ञापन हो ।’ तपाईंहरू ‘तिमी आयौ र मेरो जीवन सार्थक बनायौ अथवा तिमी पाएर मेरो जीवन सार्थक भयो वा दुई मुटु एक भएको दिन’ भनेर श्रीमान् श्रीमतीको सम्बन्धलाई विज्ञापन गर्नुहुन्छ भने मलाई थप केही भन्नु छैन । मात्र यति भन्छु– विज्ञापनको दुनियाँमा ‘फेयर एन्ड लब्ली’ लगाउनु होस् एक हप्तामा गोरो हुनुहुनेछ । तपाईं आफ्ना सम्बन्धलाई बजारशास्त्रका विज्ञापनबाट परीक्षण गर्नुहोस् । म त भन्छु हाम्रा कुनै पनि सम्बन्ध बजारशास्त्रका विज्ञापनिक नारा होइनन् ।