• १२ कात्तिक २०८२, बुधबार

गुल्मीमा वर्षाले २२ सय मेट्रिक टन धान उत्पादन घट्ने

blog

गुल्मीको इस्मा गाउँपालिका–६ को जावलुङ्ग फाँटमा धान उठाउँदै किसान । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), कात्तिक १२ गते ।
तिहार सकेपछि पाकेको धान स्याहार्ने मेलोमा रहेका किसान बर्सातले धान डुबेपछि चिन्तामा परेका छन् । सोमबार बिहानबाट निरन्तर परेको पानीले किसानको धान खेतमै डुबेको छ । मुसिकोट नगरपालिका–२ का मान बहादुर खत्रीले तीन दिनअघि धान काट्नु भएको थियो । बिहानबाट परेको ठुलो पानीले धान स्याहार्ने आशा हराएको खत्रीले गुनासो गर्नुभयो । 
खत्रीका अनुसार आफुसहित ३०/३५ घरधनीको काटेको धान पानीले डुबाएको छ । मुसिकोट नगरपालिका–२ कै कर्ण रायमाझीको पनि निस्ति फाँटमा खेत छ । २२/२५ मुरी धान पाकेर पहेँलपुर भएकाले काट्ने योजनामा हुनुहुन्थ्यो । मौसम प्रतिकुल भएका कारण पर्खेका कारण केहि भए पनि राहत भएको रायमाझीले बताउनुभयो ।

इस्मा गाउँपालिका–२ छल्दीटारीका पूर्ण श्रेष्ठको पनि ३५/४० मुरी धान हुन्छ । धान पाकेकाले काट्न खेतला खोजेपनि मौसमका कारण पर्खिएर बसेको बताउनुभयो । तर काटिसकेका केही किसानहरुको पानीले धान बर्बाद बनाएको श्रेष्टले बताउनुभयो । उहाँले धान र पराल दुवैलाई असर गर्ने भएकाले पानीका कारण किसान चपेटामा परेको गुनासो गर्नुभयो । चौरासी जिल्लाको खेतीयोग्य फाँटहरु मध्येको एक हो । अधिकांश किसानहरुले तिहारपछि धान काटेर सुकाएका थिए ।

अहिले बर्सा भएपछि निकै पीडा महसुस गरेका छन् । इस्मा गाउँपालिका–६ का कृष्ण घिमिरेका तीन सय मुरीभन्दा बढि धान हुन्छन् । १६० मुरी भित्र्याए पनि अझै आधा काम बाँकी थियो । तीन दिनदेखि मौसम प्रतिकुल भएकाले हतार–हतारमा उठाउन खोजेपनि धान, पराल र व्यावस्थापनमा पानीले ठुलो समस्या सृजना गरेको घिमिरेले बताउनुभयो । उहाँले बर्सा लम्बिए चौरासी फाँटमा सयौँ मुरी धान काम नलाग्ने अवस्थामा पुग्ने बताउनुभयो ।

कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टीकाराम न्यौपानेले बर्सातले समग्र धान उत्पादनमा क्षति पुग्ने बताउनुभयो । उहाँले पाकेको र काटेकोलाई धेरै असर र फुल खेलेर तापक्रम खोजिरहेको धानलाई पनि बर्साले असर गर्ने बताउनुभयो । गुल्मीमा गत वर्ष सात हजार १२० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदा २३ हजार १४० मेट्रिक टन उत्पादन भएको थियो । सूचना अधिकारी टीकाराम न्यौपानेका अनुसार यस वर्ष सात हजार ४८ हेक्टर क्षेत्रफलमा २२ हजार ९१० मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको थियो । यो वर्षाले दुई हजार २२० मेट्रिकटन धान उत्पादन घट्ने अनुमान गरिएको न्यौपानेले बताउनुभयो ।

गुल्मीमा कालीगण्डकी गाउँपालिकाका अर्वेनी, कनौटा, छापचौर, सत्यवती गाउँपालिकाका लिम्घा, अस्लेवा, जुहाङ्ग खैरेनी, साहाघाट, चेहेमी फाँट र चन्द्रकोट गाउँपालिकाका मजुवा, रुपाकोट, शान्तिपुरका फाँटहरुमा धान खेती हुने गरेको छ । मुसिकोट नगरपालिकाका तल्लाफाँट, ईन्द्रेगौडा भुवाचिदी, वामीटक्सार, पौदी अरेवा, भर्माचौर लगायत बडिगाड खोलाको आसपासका क्षेत्र धान खेती हुन्छ ।

मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी, सिलादी, मदाने गाउँपालिकाको सिर्सेनीको सिम, अग्लुङ फेदी, भनभनेको तल्लो क्षेत्रमा धान रोप्ने गरिएको छ । यस्तै धुर्कोट गाउँपालिकाको पनाहाखोला र छल्दी खोलाका फाँटहरु, ईश्माको चौरासीफाँट, हुलाके, हस्तिचौर लगायत छल्दी र निस्ती खोलाको आसपास क्षेत्रमा धान उत्पादन हुने गरेको छ । गुल्मीदरवारको गरमटारी, खज्र्याङ्ग घोडाहाफाँट, टारीफाँट, छत्रकोटका खज्र्याङ्ग, मनबाग, अँगा, उल्लीखोला, बोआ फाँट र रुरु क्षेत्रका टाहाटिम लगायतका स्थानमा धानको उत्पादन हुने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।