• १२ कात्तिक २०८२, बुधबार

स्रष्टा र साहित्यकारलाई सम्मान

blog

तानसेन समाचारदाता

तानसेन, कात्तिक १२ गते । पाल्पाको पोखराथोक साहित्य सङ्गमले विविध कार्यक्रमसहित रजत जयन्ती मनाएको छ । विसं २०५७ असोज १२ गते बगनासकाली–२, पोखराथोकमा स्थापना भएको सङ्गमले रजत जयन्तीका अवसरमा अक्षयकोषदाता र साहित्यकारहरूलाई सम्मान गरेको हो । सङ्गमले प्रकाशन गरेको रजत जयन्ती विशेषाङ्क ‘वाटिका’ पनि सार्वजनिक गरिएको छ । 

सङ्गमले साहित्यको क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आउनुभएका १२ स्रष्टा र १४ जना आजीवन सदस्य तथा अक्षयकोषदातालाई सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरेको थियो । सो अवसरमा साहित्यकारहरू डा. घनश्याम न्यौपाने, गङ्गानाथ कोइराला, कृष्णप्रसाद कोइराला, केशवराज अमोदी, विजयगोविन्द श्रेष्ठ, भोजराज भट्टराई, शकुन्तला ज्ञवाली, गोपालप्रसाद बस्याल, विश्वनाथ रेग्मी, हरिप्रसाद भट्टराई, शङ्कर नेपाललाई सम्मान गरिएको हो । 

बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी दर्लामी र सङ्गमका अध्यक्ष गोविन्द खनालले स्रस्टालाई सम्मानपत्र प्रदान गर्नुभयो । अध्यक्ष चिदीले साहित्यकार नेपाली समाजको गहना रहेको जनाउँदै स्थानीय सरकारले भाषा, कला, साहित्यको विकासका लागि निरन्तर सहयोग, समन्वय र सहकार्य गर्दै आएको बताउनुभयो ।