• १९ फागुन २०८०, शनिबार
blog

मेरो बाल्यकालदेखिका मिल्ने साथी पण्डित दुर्गाप्रसाद सापकोटा हुन् । उसको घरमा हिजो रातिको खलबल र रुवाबासीको कारणले रातभरी चिन्ताले सताइरह्यो । मेरो दुःखसुखका बालसखामाथि आइपरेको बज्रपातका कारण मोटामोटी रूपमा थाहा पाइसकेको थिएँ । उसकहाँ बिहानै पुगेँ । ओछ्यानमा ऊ झोक्राएर बसिरहेको थियो । अचानक मलाई देख्दा उसले केही सहज महसुस गर्‍यो । मैले कुनै सान्त्वनाका शब्दहरू भन्न नपाउँदै उसको मनबाट उर्लिएर आएका व्यथा मुखबाट फुट्न थाले । “जितनारायण तिमी आयौ । मन शीतल भयो । भित्रैबाट उकुसमुकुस भएर छरिन खोज्छ । भन ! कहाँ खन्याएर मन हल्का पारूँ ? मलाई मनैमा गुम्स्याउन गाह्रो भइरहेको छ ।” मैले उसको पीठ थपथपाएर भनेँ, “दुर्गा, तिमी र म एकमनका साथी हौँ । हामी माझ के लुकेको छ र ? तिमी मन र मस्तिष्क हल्का बनाऊ ।”

ऊ एकछिन चुपचाप भयो । मलाई लाग्यो ऊ कता हराउँदै गइरहेको छ । “अहँ... ।” घाँटी खुला गरेर भन्न सुरु गर्‍यो, “अरूको भावनालाई आधार बनाएर रमाउन र खेल्न मजै होला । तर आफ्ना भावनाभित्र बसेर चलखेल गर्न सक्नु र निर्धक्कसँग बाटो फराकिलो गर्न खोज्नु गाह्रै पर्ला । मेरा अद्योपान्त वृत्तान्त सुनेर तिम्लाई कस्तो लाग्ने हो ? म अनुमान लगाउन नसक्ने भएको छु । तर पनि ती केहीलाई मनबाट भगाउन म बाध्य छु । धैर्यको बाँधलाई मात्र एकछिन थामिदेऊ ।” उसले मतर्फ आँखा हेरायो । मैले बोल्दै नबोली स्वीकृतिमा टाउको हल्लाएँ । 

“हुँ... अभीष्ट स्थानमा अभीष्ट सुखको प्राप्तिका लागि अभीष्ट लक्षको प्रतिफल र जसको परिणाम कस्तो हुँदोरहेछ भन्ने आफूलाई परेपछि मात्र पत्तो पाइँदोरहेछ । नत्र भने के हो के हो ? संसार चलिरहेछ र चलिरहनेछ... ।” मैले उसको गहन भूमिकायुक्त कुरा कति बुझेँ । कति बुझिनँ । कुनै बेला मेरी स्वर्गीय आमाले भनेको सम्झन्छु “पण्डितका घरमा मुसा पनि पण्डित ।” अहिले त यहाँ संस्कृत दर्शनशास्त्रमा आचार्य गरेको पण्डित नै बोलिरहेको छ । “जित ! म हारेँ ! म खत्तम भएँ ।” उसले लामो सुस्केरा हाल्यो । मैले उसको हात सुम्सुम्याएर बोलेँ “दुर्गा तिमी हिम्मतिला छौ । मेरो कुरा पनि सुन र मनन गर । संसारमा दुःख र हैरानीहरू यति छन् कि लेखेर, भनेर र गनेर गन्न सकिँदैन । प्रत्येक व्यक्तिलाई आफ्नै दुःख विराट लाग्छ । आखिरीमा मन त बुझाउने आफैँले न हो ।”

“तै पनि मान्छेले खोज्ने भनेको सधैँ अभाव र दुःखको विलय नै हो । जुन कुरा म तिमीलाई भन्न गइरहेछु । त्यो लेखान्त हो वा तृष्णाको चरम रूप जवाफ तिमीमा छोडिदिएको छु ।” “ठीक छ म अनुमान लगाउँला । हेर ! समयले सबै चिजबिजलाई कुनै दिन नेपथ्यमा धकेलिदिन्छ ।” उसले बिचैमा कुरा काट्दै भन्यो, “म त फगत बली चढेँ नि । मेरा यी रन्थनमन्थन अरूका लागि अर्थहीन लाग्ला तर यो टर्रो र तितो स्वाद मरुन्जेलसम्मको घिटघिटो हुने नै छ ।” 

मैले चुपचाप उसलाई हेरिरहेँ । एकछिनपछि म बोलेँ, “तिमी भन्दैजाऊ... मन हल्का गर । म सुन्दै जान्छु ।” मैले अन्त्यसम्म उसको कुरालाई न काटेर सुन्ने निधो गरेँ । ऊ बग्दै गयो...।

त्यो हप्तैभरि हाम्रो घर तनावैतनावमा गुज्रियो । छलफल एवं वादविवाद गर्दागर्दै दर्खास्त हाल्ने अन्तिम दिन भइसकेछ । हजुरबाको जमानामा तीन सय घर जजमान र भ्याइनभ्याई काम थियो । मेरा पालामा घटेर औँलाले गन्नेमा पुग्दा घरखर्च धान्न धौ धौ परिसक्यो । छोरोले अङ्ग्रेजी पढेर मास्टर भयो । नातिको त कुरै भएन.. अमेरिका, अस्ट्रेलिया बेलायत जहाँ मौका पर्छ त्यहीँ गएर पढेर कमाउँछु भन्छ । मेरो बिँडो थाम्ने कोही भएन । मेरो ज्ञान हस्तान्तरणले विराम लियो । 

मेरा दिमागमा अनेकौँ कुरा खेल्दै गर्दा छोराले जोड दिँदै थियो– “बा हजुरलाई घरको हालत थाहा भकै छ । हजुर जस्तो प्रकाण्ड पण्डितको दर्खास्त परेपछि अरू पाखा लागिहाल्छन् । घरको ठुलै समस्या टर्ने थियो । जजमानी गरेर खाने दिन सक्किँदै गए । हजुरको जजमानी र मेरो शिक्षकको नोकरीले घरखर्च चलाउन त हम्मेहम्मे छ । घरको परिपञ्च फेरि सुधार्न... हजुरबाट मात्र सम्भव देखेको छु ।” टाउको रनक्क रन्क्यो– “कस्तो परिपञ्च हो ? व्यास आसनमा बकाइदा भागवत व्याख्या गर्ने मलाई राजाको ११ दिने काट्टो खानलाई मेरै छोरोले दर्खास्त हाल्न कर गर्छ । पैसो आउँछ भने जे पनि गर्ने अहँ हुँदै हुन्न ।” 

बाबुछोरा दुवै चुप लाग्यौँ । म आफ्नो सुदूर अतीतकालमा पुगेछु । जुन बेला मेरो गधापच्चीसे उमेर थियो । राजा महेन्द्रको काट्टो खाने बाहुन गणेश भट्टलाई हात्तीमा चढाएर चार भञ्ज्याङ कटाउँदा आफू पनि भीडमा गएर कङ्कलाशब्दले चिच्याएको “काट्टे बाहुन... चार भञ्ज्याङ काट... भगाउँ... भगाउँ... काट्टे बाहुन... भगाउँ ।” सिपाहीलाई नियन्त्रण गर्न धौधौ थियो । त्यसमा पनि धुलो बुङ–बुङ्ती कुइरीमन्डल भएर हेर्नै गाह्रो । कल्की लगाएर हात्तीमा चढेका गणेश भट्टले क्राइभेन चुरोटको धुवाँ फ्वारफ्वार्ती उडाएको हिजो जस्तो लाग्छ ।

 त्रिपुरेश्वरबाट थापाथली पुग्दै जाँदा दुई घोडचढी सैनिकले हुललाई रोकेको म सम्झन्छु । अजङ्गको घोडामाथि चढेर उनीहरूको फूर्ति हेर्दा त्यसबेला मनमा आएको थियो, “वाह ! यस्तो पो जागिरी घोडा पनि चढ्न पाइने तलब पनि पाइने ।” उनीहरूप्रति आकर्षित भएर छेउमै पुगेछु । उनीहरू रमाइरमाई गफिँदै थिए, “ऊ हेर्न कति मजा छ काट्टे बाहुनलाई । निर्धक्कसँग चस्मा लगाएर क्राइभेन चुरोट तन्काइरहेको छ ।” “किन खुसी नहोस् । बाँचुन्जेलसम्म पुग्ने धन सम्पत्ति पाएपछि अरू के चाहियो र ? गाह्रो काम के छ र ? अलिकति राजाको अस्तु सिन्काले चोपेर चौरासी व्यञ्जनमा मिसाउने त हो ।” अर्कोले हाँस्दै बोल्यो, “आमै नि घाँटीबाट तल कसरी जान्छ होला हरे ।” “के गर्नु जातले दिएन । जातले पाउने भए मै खान्थेँ । एकछिनको दिगमिग त हो ।” 

अतीत खण्डबाट तँछाडमछाड गरी ओइरिएका सम्झनाले मुटु र शरीर थररर कामेर कानमा गुन्जिँदै आयो, “काट्टे बाहुन... काट्टे बाहुन... भाग... भाग ।” छोराको गनगनले वर्तमानमा ल्याइपुर्‍यायो । “बा... बा... बुझिबक्सियोस् न । हाम्रो हालत दिन प्रतिदिन खस्किँदै गइरहेको छ । राजा महेन्द्रको काट्टो खाने ब्राह्माणले आफू मरेर गए । छोरानातिलाई पुग्ने धनसम्पत्ति छाडेर गए । पहिले छाक टार्न पनि कति धौ धौ थियो रे ।” “के भन्छ यो नाक्चेले मैले हुन्न भनेपछि किन करकर गर्छस् । खान लाउन जसरी तसरी पुगिरा’छ । यस्तो निकृष्ट कार्य गरेर मेरो धनी हुने मन छैन हुन्न... ।” उसले एकटकले हेर्दै गनगन गर्न छोडेन । “हजुरको नाति आइटी पढ्न बेलायत जान्छु भन्छ । कसरी जान्छ ? लाखौँ रुपियाँ कहाँबाट पाउनु ? भिसा लगाउन पनि बैङ्कमा जम्मा गरेर टन्नै देखाउनुपर्छ ।” “के हो यो आइटी भन्या ? अङ्ग्रेजी पढेर तँ मास्टर भइस्... मैले भनेको मान्या भए प्रकाण्ड पण्डित हुनेथिस् । नाति आइटी पढेर के हुने हो खै ...?” 

बाबुछोरा बिचको गरम कड्काकड्की र माथापच्ची खलबल सुनेर नातिभित्र पस्न बाध्य भयो । नाति ढोकैनेर आई उभिएर बाउ र बाजेलाई हेरिरह्यो । दुई बिस टेकेको नातिलाई पहिलेभन्दा मैले गहिरिएर हेरेँ । मैले छोरोतर्फ फर्केर अर्थ लगाउँन थालेँ, “काट्टो खानाले के के भोग्नु पर्छ तँलाई थाहा छ ?” छोरो अकमकियो र बोल्न सकेन । “त्यसै हावामा दौडेको छ । काट्टो अशुद्ध भनिने हुनाले त्यो खाने बाहुन बिटुलिन्छ । उसले गर्ने सबै कर्मकाण्ड बन्द । त्यति मात्र हो र ? त्यसको मुख देखे पनि अशुभ हुने र साइत बिग्रिने... । यस्तो कुकर्ममा मलाई कर गर्छौ ।” छोरो नतमुख भयो । नातिको गोरो अनुहार अँध्यारो हुँदै गयो । नातिले आफ्नो बुढीऔँलाले भुइँ कोट्याउँदै बोल्यो, “ड्याडी, हजुरबालाई धेरै कर नगरौँ । म विदेश पढ्न अब जान्न । यतै केही गरौँला ।” 

गोरो वर्णको नातिलाई तलदेखि माथिसम्म अघाउँन्जेल हेरेँ । हलक्क बढेर सर्लक्क हुँदै गएको उसको जिउडाल हेर्दा मनमनै गुनेँ, “यो त मेरो ऐना भएछ । मेरो तरुणबेलाको अनौठो प्रतिरूप ।” अब म सुस्त भएँ, त्यतातिरको कस्तो पढाइलेखाइ हो ? मैले केही बुझ्न सकिनँ । के तँ अड्केर यहाँ बसेको हो र ? हजुरबाको नरम बोली सुनेर उसमा केही आशा पलायो, “हजुरबा म यहाँ अड्केकै हो । मसँगै पास भएका प्रायः सबै बाहिर गइसके । म मात्र यहाँ थुप्रिएर बसेको छु । म त यता न उताको भएँ । यति पढेर न यहाँ गतिलो नोकरी पाइन्छ, न हजुरले जस्तो जजमानी गर्न जान्या छु । हजुरलाई अप्ठ्यारो पर्छ भने भइगो, म अरू केही सोचुँला ।” मोमको पुत्लामा तातो राप परेजस्तो म लरक्क पग्लिँदै गएँ । रसिलो हुँदै गएका मेरा आँखा पोखिन नपाउँदै गलबन्दीको फेरले पुछेँ, “हुन्छ त तेरो भविष्य पनि हेर्नै पर्‍यो । उताबाट आएको मोटो रकम बैङ्कमा जम्मा देखाएर भिसा पाइहाल्छस् अनि फिस र अरू खर्चबर्च पनि टरिहाल्छ । ल म तयार भएँ ।” घरमा एकै पल्ट दसैँतिहार सँगसँगै आए झैँ रौनक छायो । 

“यहाँ पण्डित दुर्गाप्रसाद सापकोटा या उनका छोरानाति कोही छन् भने भित्र जानुपर्‍यो ।” राजाको ११ औँ दिनको काट्टो खाने नामावली हेर्न आएकालाई एक सैनिकले सोध्दै हिँडेँ । भीडबाट कसैले प्रतिप्रश्न गर्‍यो, “को दुर्गाप्रसाद सापकोटा ? किन होला ?” सैनिकले सूचित गरे “स्वर्गवासी श्री ५ को ११ औँ दिनको काट्टो खाने ब्राह्मणको कार्य गर्न उहाँको नाम स्वीकृत भएको छ । सम्बन्धित मान्छे भित्र जानुहोस् ।”

मलाई नातिले डोर्‍याउँदै भित्र लग्यो । म अलि हड्बडाएको थिएँ । घुम्ने मेचमा गजधम्म बसेर उपरखुट्टी लगाएको हाकिमले मुस्कुराउँदै बोल्यो, “बधाई छ बाजे तपाईंको नाम छनोट भएको छ । जे भन्नु छ अहिले नै भन्नुस् । पछि नाइँनुइ र कुनै बहाना गर्न पाइँदैन । चानचुने कुरा होइन राजाको काम हो ।” “हजुर म जजमानी गर्ने पुरोहित र सप्ताह लगाएर भागवत वाचन गर्ने शाकाहारी पण्डित हुँ । यसैबाट मेरो निर्वाह भएको छ । एघार दिने काट्टो खाएपछि मेरो पेसामा विराम लाग्छ । मलाई बाँचुन्जेल पुग्ने खर्चबर्चको व्यवस्था होस् ।” मैले हात जोड्दै अनुरोध गरेँ । “धन्दा मान्नु पर्दैन बाजे मनग्य पाउनुहुन्छ । बाह्र–पन्ध्र लाख नगद, मधेसमा खान पुग्ने जग्गा र गरगहना सामानहरू, फिक्री नलिनुहोस् ।” 

म ढुक्क भएँ । बाजे नाति दुवै मिठा मिठा कुरा गर्दै घर फक्र्यौं । राजपरम्पराको निरन्तरताको नाममा दिवङ्गत राजा वीरेन्द्रको काट्टो खाने तयारी अनुष्ठान त्रिपुरेश्वरस्थित कालमोचन घाटमा जोरसोरले हुँदै थियो । काशीमा म पढ्दा मलाई थाहा भएको थियो कि यस प्राच्य निरङ्कुश प्रथालाई ब्रात्यहरूले नेपालमा भिœयाएर निरन्तरता दिएको भन्ने इतिहास रहेछ । 

राजाले व्रतबन्धमा पहिरिएको पहेँलो टल्कने पोसाकको साथ कल्की मुकुट, गाढा रातो रङको जुत्ता, लट्ठी, कम्मरमा खुकुरी, चस्मा आदि मृतकको जडौरी लगाइदिएर मलाई तयारी अवस्थामा राखिदिइसकेका थिए । मेरो अगाडि ८४ व्यञ्जनका पाक्य परिकारहरू सजाइसकेपछि मूल पुरोहितले प्रधानमन्त्रीको छेउमा गएर कानमा खुसुक्क के भनेको देखे । त्यस क्रियाकर्म समारोहमा प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख, प्रधान सेनापति, मन्त्रीगण, वडागुरुज्यू, मूल पुरोहितलगायत अन्य उच्च पदस्थ व्यक्तिहरूको साथै बाक्लो सर्वसाधारणको उपस्थिति थियो । भीडमा खुसुरपुसुर हुन थाल्यो । प्रधानमन्त्री जुरुक्क उठेर भीडलाई शान्त हुने सङ्केत गर्दै मलाई भने, “पण्डितजी म के भन्छु भने... दुनियाँले के भन्ला भनेर पीर नगर्नुस् ।” उनले पस्किएको परिकारहरूलाई देखाउँदै भने “अब सुरु गर्नुहोस् बाजे । ग्रहण गर्नुहोस् ।” घरमा प्रायः दालभात र तरकारी खाने गरेको मैले एकैचोटि चौरासी प्रकारका भोजन वरिपरि हेर्दा कसरी खाऊँ भन्ने समस्याले मन आत्तियो । 

आसन्न धन प्राप्तिको कल्पनाले मन एकछिन पुलकित भयो । तर भित्रभित्र कताकता अन्धकारको गुजुल्टो बेरिँदै घाँटीसम्म अड्के झैँ भयो । दमको दीर्घरोगी म एकाएक स्वास बढ्न थाल्यो । आँखा चिम्म गरेँ । बन्द आँखाभित्र किरमिर किरमिर छेस्का जस्ता टुव्रmाहरू हान्निँदै आइरहकोे जस्तै देखेँ । प्रधानमन्त्रीज्यूको उच्च स्वर फेरि कानमा ठोक्कियो, “पण्डित बाजे धेरै विलम्ब नगर्नुहोस् । छिटोछिटो गरेर जिम्मेवारी पूरा गर्नुहोस् ।” धेरै बल गरेर आँखा उघारेँ । आँखाले धेरै थोक परिकार एकै फेरमा देख्दा मनपेट दुवै भरिएर आयो । मुखदेखि घाँटीसम्म सुकेर आयो । शरीर काँपेर ढलुँला जस्तै भयो । तात्तिएको शरीर कम्पन भएर आँठेज्वरोले झैँ लुगलुग पार्दा म शीताङ्ग भएँ । तामाको करुवा उठाएर कलकल पानी पिएँ । थरथर हात कमाउँदै चाँदीको चम्चाले प्रत्येक खाना अलिअलि खान सुरु गरेँ । 

त्यत्रो परिकार नटुटाई खानुपर्दा किलिक्क.. किलिक्क घाँटी लागेर सर्को पर्‍यो । म रन्थनिएर खोक्न थालेँ । नाक कान पीरो भएर आँखाबाट आँशु चुहिन थाल्यो । झटपट मूल पुरोहितले करुवा थमाइदिए । पानी पिएर केही राहत भयो । तर पेटभित्रको घाँटीतिर उलुक्क उलुक्क आउन खोज्दा मुस्किलले सम्हालेँ । बल्लबल्ल ८४ भक्षण चाखेर पूरा गरेँ । चारैतर्फबाट तिरस्कृत आँखाहरू झिमिक्क नगरेर मतर्फ मुसल झैँ सोझिएका थिए । मानौँ सबै राजपाठ खोसेर मैले लग्दैछु । काट्टो सकेर कुर्सीमा आई विस्तारै बसेँ । चारैतिर अरूलाई हेर्न नसकि माथि आकाशमा आँखा घुमाएँ । कुनै शून्यतामा समय सोपान क्षणक्षय हुँदै गएको प्रतीत भएर सामुन्नेमा पूरा अन्धकार छायो । मलाई लाग्यो यसबेला मेरो कुनै समय काल छैन । मगज सन्न भयो । अनि त्यहाँ सबैले सहज महसुस गरी निर्धक्कको सास फेरेँ । त्यहाँ पहिले जस्तो कौतुहल र राम रमाइलो रहेन । मैले काट्टो खाने वित्तिकै उनीहरूलाई लाग्यो राजाका लागि स्वर्गको ढोका खुल्यो । 

झ्वाट्ट मनमा के आएर म झसङ्ग भएँ । दौडँदै गएर प्रधानमन्त्रीको खुट्टा समात्न पुगेँ । उनी तर्से “के भो पण्डित बाजे ? के तमासा हो ? छोड्नुस् खुट्टा ।” “हजुर मेरो आजबाट सबै गरिखाने बाटो बन्द हुने भो । विन्ती छ मेरो प्राणधान्ने व्यवस्था होस् ।” प्रधानमन्त्रीले मेरो कुम थपथपाउँदै ढाडस दिए “किन आत्तिएको यत्तिविधि पण्डितजी सब ठीक हुन्छ । म के भन्छु भने, अहिले हात्ती चढेर जानुहोस् पछि सबै कुराको बन्दोबस्त हुन्छ । ल जानुहोस् । ” प्रधानमन्त्रीको मुखारविन्दबाट निस्केको उद्कारले प्राण सञ्चार भएर मन शीतल भएर आयो । त्यसपछि प्रधानमन्त्रीलगायत अन्य उच्च पदस्थ गण्यमान्य व्यक्तिहरू थाहा भएन कता हराए । यस्तो काट्टो खाने अशुद्ध कृत्यमा पनि घाँटीभरी अलङ्कार र छातीभरी तक्मा झुन्ड्याएर आएका थिए । कसले कति तक्मा पाएको छ भन्ने होडबाजी देखाएर दम्पच भए । मुख तीतो भएर आयो । सायद ८४ व्यञ्जनको सबै स्वाद मिसिएर होला । मभित्रको दयनीयता मैले अनुहारमा आउन नदिन पूरा कोसिस गरेँ । चाँदीको पानबुट्टे पानदानमा पान ल्याएर परिचरले टकार्दै भन्यो, “अब हात्ती चढेर अनि पान चपाउँदै बाँकी सक्याउनुपर्छ रे ..हजुर ।” 

कालमोचन घाटबाट हात्तीमा सवार भएर त्रिपुरेश्वर हुँदै मेरो काट्टोग्रहण यात्राको प्रारम्भ हुन थाल्यो । मोतीप्रसाद नाम गरेको हात्तीमाथिको हौदामा माहुतेले मलाई विस्तारै चढायो । हात्ती चल्यो लमक लमक र मैले पान चपाउँदै हुलमुलको चारैतिर आँखा हिँडाए । हात्तीका अगाडि पछाडि एवं दायाँ बायाँ हुलका हुल मान्छेहरू हात्तीसँगसँगै बग्दै गइरहेका थिए । सुरक्षाकर्मीलाई हुल नियन्त्रण गर्न कठिन परिरहेको थियो । कतिपय ठाउँमा भीडमाथि लाठी चार्ज गर्नुपरेको पनि देखेँ र मन थामेँ । रमितेहरूलाई जे मन लाग्यो त्यही भनेर कराउन छुट थियो । धक्कमधक्का र घचेटाघचेट साथै लखेटालखेट त्यो जात्रा म एक्लो काट्टेबाहुनका लागि थियो । चौतर्फी होहल्ला र मानिसहरूको ग्वार ग्वार भेलले मलाई गाली गर्दै गिज्याउँदै र अश्लील शब्दहरू प्रक्षेपण गर्न थाल्यो, “काट्टे बाहुन आयो... काट्टे बाहुन.. भगा... भगा... चार भञ्ज्याङ कटा.... भाग काट्टे बाहुन.... भाग... भाग.... ओल... ओल काट्टे बाहुन ओल...।” 

सबै मतिरै खनिएका थिए । माथिबाट खोज्दै गर्दा कतै पनि मायालाग्दो हेराइ भेट्न सकिनँ । म एक्लो थिएँ । मेरो भन्नु त्यो हुलमा कोही थिएन । सबैले मेरो हुर्मत लिइरहेका थिए । स्वसञ्चालित गज पाइलाहरू एकनासले बढिरह्यो... लमकलमक । घामघडीका तीक्ष्ण सुइराहरू छोटिँदै गर्दा त्यो काट्टो दिवसको रमिते हुल पनि टुट्दै गएर जनरव कम कम हुँदै गयो । त्रिपरेश्वरको कालमोचन घाटबाट सुरु भएर थापाथली, कोपुण्डोल, पुल्चोक हुँदै जावलाखेलसम्म फनक्क फन्को मार्दा सूर्यको घामले आफ्ना किरणरेशाहरू बटुल्दै साँझको द्वारमा प्रस्थान गर्न आतुर भइसकेको थियो । 

जावलाखेलस्थित काट्टो पाटीमा पुगेर हात्तीको सफर पूरा भयो । म थाकेर लखतरान भइसकेको थिएँ । हात्तीको प्रथम यात्रा भएर होला ढाड दुखेर कक्रक्क पा¥यो । म उठ्न र चल्न सक्ने स्थितिमा थिइनँ । माहुतेले हात समातेर हात्तीबाट विस्तारै ओराले । काट्टो पाटीमा पस्दै सोचेँ, “मजस्ता काट्टे बाहुनहरू कति यहाँ आए होलान् कति ।” लामो बेन्च जस्तो फल्याकमा थचक्क बसेर गहिरो सास लिएँ । एउटा कष्टदायक प्रहसनको पटाक्षेप सकियो । अघिको कुरा अहिले छैन र आजको कुरा भोलि हुँदैन । सुनसान बाटोघाटो र यस काट्टो पाटीले यो काट्टेबाहुनको पर्खाइमा बसिरहेको जस्तो देखेँ । बाहिरबाट एउटा कालो कुकुर लखरलखर पसेर पल्लो कुनामा बस्यो । अगाडिका दुई खुट्टामाथि च्यापु अड्याएर मलाई टुलुटुलु हेरिह्यो । 

चकमन्न मौनतालाई भङ्ग गर्दै एउटा सैनिक जिप पाटी समीप घिचिक्क रोकियो । सेनाको आकर्षक पोसाकमा एक जना व्यक्ति गाडीबाट विस्तारै ओर्लियो । उसको पिचङ्गभुँडी फ्यार्रफ्याच्च नाक र छातीमा तक्मैतक्मा भरिएको हुँदा ऊ पनि सेनाको ठुलै हाकिम होला भन्ने अड्कल काटेँ । मनमा कता कता डर पलायो । आफ्नो खल्ती छामछामछुमछुम गर्दै ऊ भित्र पस्यो । कोटको भित्री खल्तीबट कागज निकाल्दै भन्यो, “सब ठीकठाक छ हैन बाजे । आजको अनेक झमेलाले गर्दा ढिलो भइहाल्यो । अँ कुरा के हो भने बाजे तपाईंलाई दानमा दिएको सबै जिन्सी, जीव, अजीव आदिको माथिबाट मूल्य तोकेर आएको छ ।” 

उसले एकसरो मलाई हेरेर भन्दैगयो, “अँ त पण्डित बाजे सामानहरूको मूल्य तोकेबमोजिम नगद बुझ्नुहोस् । मैले माथि जाहेरी दिनुपर्छ ।” मैले “हजुर” मात्र भन्न भ्याएँ । “ल सुन्नुहोस् फेहरिस्त मूल्य, हात्ती दस हजार रुपियाँ, घोडा २ हजार २ रुपियाँ, जग्गा जमिन १० हजार २ रुपियाँ, घरबास ५ हजार २ रुपियाँ, सेफ २ हजार २ रुपियाँ, दासदासी ३ हजार २ रुपियाँ, ओमेगा घडी १ हजार २ सय, रोलेक्स घडी १ हजार चार सय, हीराको औँठी १ हजार २ रुपियाँ र दक्षिणा ५ हजार २ रुपियाँ ।” उसले लामो सास फेर्दै टुङ्ग्यायो, जम्माजम्मी ४० हजार ६ सय १२ रुपियाँ मात्र ।” मेरो कानले धोखा खायो कि भनेर दोहो¥याई तेह¥याई सोधेँ । कानले काँ धोखा दिन्थ्यो । यहाँ ठुलावडा भनाउँदा मान्छेले पो धोखा दिएछन् । 

बाहिरतिर हेरेँ । उज्यालो क्षीण हुँदै घामले घाट छोडिसकेछ । हरे ! मेरो गगनचुम्बी उडानसँगसँगै उड्ने भ्रान्त वैभवको पखेटा नउड्दै कटिसकेको रहेछ । “हजुर, मलाई ठुलो धोखा भयो । बाचुन्जेल पुग्ने व्यवस्था हुन्छ भनेका थिए । दुई दिनअघि घरमा आएर सरकारी कर्मचारीहरूले बाजे काट्टो खान आनाकानी नगर्नुहोला मधेसमा खान पुग्ने जग्गा, बाह्र पन्ध्र लाख नगद अनि सामानहरू तपाईंको हुन्छ भनेर सचेत गराएका थिए । यस्तो पनि बेइमानी कतै हुन्छ । म सरकारी तवरबाटै ठगिएँ हजुर ।” 

“यस्तो खोचे थाप्नु राम्रो हुँदैन बाजे । दरबार र तरबार एउटै कुरा हो ।” फ्यार्रफ्याच्चेले बेसारे बोलीमा भन्न थाल्यो “माथिबाट यस्तै गर्नुगराउनु भन्ने आदेश भएको छ । आदेशको बर्खिलाप हामी कहाँ गर्न सक्छौँ ?” चारैतिर हेरेर मेरो कान नजिक उसले साउती ग¥यो, “यस्तो खराब समयमा विचार गर्नुुस् है । तपाईं हामी भन्या को हो र ? कली जुग हो कली जुग, राम्ररी सोच्नुस् है ।” 

दुवै आँखा रसाएर बरर्र पोखिए । “हे ईश्वर ! अब म कहाँ जाऊँ ? घरमा कुन मुख लिएर जाऊँ, हे ईश्वर ! मलाई बाटो देखाऊ ।” उसले हाँस्दै भन्यो, “बाजे दानमा आएका हात्ती घोडा, जमिन, जायदात सबै बेचिसक्नुभयो । प्रहरीले तपाईंलाई भ्यानमा हालेर घरमा पु¥याइदिन्छन् । अँ त्यो टोपी, चस्मा र जिउको टल्किने... झल्किने लुगा फिर्ता गर्नुपर्दैन ।” बाँकी सबै हलल्ल हाँसे । काट्टो पाटी भनन रिङ्न थाल्यो । दुवै हातले टाउको समातेँ । आँखाअगाडि कालाकाला टाटाटुटी जम्न लागे । लगाएको टोपी र चस्मा भुइँमा पछारेँ । लुगाको माथिबाट टाँक छिनाल्दै ध्वार्र तलसम्म च्यातेँ । म चिच्याउँदै लडीबुडी गरेँ, “हेर सबैले । सपनामा कल्की लगाएर राजा बनेँ... सपनाको हात्ती र घोडा चढेँ । अब मलाई गोली ठोक ।” 

“पण्डित बाजे... बाजे...।” पानीको छेप्याइले आँखा खुल्यो । अपरिचित आँखाहरू मतिर सोझिएका थिए । फ्यार्रफ्याच्च हाकिम कुनबेला टाप कसिसकेछ । “हेर त । बाजे पनि यस्तरी हिम्मत हार्नुहुन्छ ।” एउटाले विस्तारै उठाएर सिटमा राम्ररी बसायो । झ्यालबाहिर हेरेँ । घरको दिशातर्फ प्रहरी भ्यान हान्निएर कुद्दै रहेछ ढननन....। मलाई फेरि जोश कहाँबाट आएछ । “मलाई पनि मार.. यसको राजपाठ स्वाहा... नाश होस् चिर्कोभुजुङ्गो परोस् यसको सर्वनाश होस्...।” “चुपचुप चुपलाग बाजे ।” “मर्छु म मर्छु... मलाई मार... । 

मलाई गोली ठोक ।” कुदिरहेको भ्यानको ढाको खोलेर हाम फाल्न खोजेँ । दुई जना प्रहरीले अठ्याइ हाले । दुईतर्फ २ जना प्रहरीले हलचल गर्न नदिएर बाँकी सफर पूरा भयो । यसरी बिरालो देखेर मुसो दुलोभित्र पस्छ । उसै गरी मेरो गृह प्रवेश भयो । 

“जितनारायण... मेरो काट्टो कथा पूरा भयो ।” म सपनाबाट बिउँझे झैँ भएँ । “दुर्गा मलाई सारै दुःख लाग्यो । तिम्रो म मिल्ने साथीलाई सुख पनि बाँड्यौ र दुःख पनि । म तिमी जस्तो साथी पाएर गर्व गर्छु । अब म जान्छु । भरेतिर आउँछु ।” 

कति कति दिनरातहरूका साथ फरक फरक पक्षमासहरू हिँड्दै दौडँदै भागे । जसरी तेज गाडीमा चढेर बाहिर हेरिबस्दा जमिनमा गाडिएका रुखपातझार र घरखेतबारी चल्दै हुत्तिँदै अनि हराउँदै जान्छन् । वर्षायामले विश्राम लियो । हिँउदको चिसो ऋतुले प्रवेश पायो । बिहानै आँखा खुलेछ । सिरकको गुटीमुटीबाट बाहिर निस्कन सकेको थिइनँ । झ्यालको पर्दा खुल्लै रहेछ । बाटोतिर हेरिरहेँ... ।

“नमस्कार, बिहान बिहानै कतातिर हो ?” 

“थाहा पाउनुभएन ? सापकोटा पण्डित बाजे सबेरै वितेछन् ।” 

“को सापकोटा पण्डित ?” “दुर्गाप्रसाद सापकोटा उही के राजाको काट्टो खाने बाहुन ।” ओहो काट्टो खाएको ६ महिनामै... ।” “काट्टो खाएर फर्केपछि बुढाले कान पटक्कै सुन्न छाडिसकेका थिए... ।” उनीहरूको संवाद नसकिँदै म दौडिहालेँ ।