गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ११ गते । कलाकारद्वय कपिलमणि दीक्षित र रोशन भण्डारीको ‘काउन्टर्स अफ टु’ नाम दिइएको संयुक्त कला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनी केवल क्यानभासको प्रदर्शनी मात्र नभई दुई कलाकारको एक दशकको समानान्तर सिर्जनात्मक यात्राको सङ्गम पनि हो । फरक शैलीमा काम गरे पनि उहाँहरूको कला स्मृति, अनुभूति र समयका तहमा एउटा भाव भेटिन्छ ।
कलाहरू स्मृतिको निष्क्रिय भावुकता मात्र नभएर रङ र मौनतालाई आकार दिने सक्रिय ऊर्जा पनि हो भन्ने सन्देश प्रदर्शनीले दिन खोजेको छ । दीक्षितका कृति निर्भीक र स्वतन्त्र छन् । उहाँका रेखाहरू स्पष्ट, रङहरू गहिरा र सशक्त छन् । प्रारम्भिक चरणमा शारीरिक संरचनाको सूक्ष्म अध्ययनमार्फत यथार्थपरक स्त्री आकृति निर्माण गर्नुभएका उक्त कलाले समयसँगै भाषालाई सङ्क्षिप्त र सारमुखी बनाएको छ । चित्रमा एउटा लामो आँखा वा तिखो नाकले सम्पूर्ण उपस्थिति जनाउन सक्छ । वर्णनभन्दा सङ्केत सशक्त छ, सजावटभन्दा सार अर्थपूर्ण छ ।
भण्डारीका रङले वस्तु होइन, अनुभूतिको परिवेश निर्माण गरेको पाइन्छ । बाल्यकालका स्मृति, आधा बिर्सिएका वाक्यांश र सांस्कृतिक प्रतिध्वनि विस्तारै प्रकट हुन्छन्, जसलाई धैर्यपूर्वक नियाल्दा मात्र कुहिरोभित्र चम्किने कथा झैँ अनुभूति गर्न सकिन्छ । व्यक्ति र समाज, परम्परा र परिवर्तन, बोली र मौनताबिचका संवाद उहाँहरूको कलामा झल्किन्छन् ।
उक्त प्रदर्शनी सौन्दर्य अनुभूतिको प्रस्तुति मात्र होइन कलात्मक विकासलाई साझा मानवीय प्रकियाका रूपमा बुझ्ने आमन्त्रण पनि हो । दुई कलाकारबिचको मौन तर सशक्त संवाद ग्यालरीको सीमाभन्दा बाहिर फैलिँदै समकालीन नेपाली कलाक्षेत्रमा दीर्घ प्रतिध्वनि सिर्जना गरिरहेको छ । तारागाउँ नेक्स्टका रोशन मिश्रले कलाकार भण्डारी र दीक्षितको काममा अन्तरमनका भावना प्रस्फुटित भएको पाएको बताउनुभयो । प्रदर्शनी म्युजिक आर्ट ग्यालरीमा चैत ७ गतेसम्म चल्ने छ ।