• ४ चैत २०८२, बुधबार

‘पेट्रोलियम पदार्थ उत्खननका लागि ताकिता गर्ने छु’

blog

कमल शर्मा

दैलेख, चैत ४ गते । हालै सम्पन्न निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नं. २ बाट लक्ष्मीप्रसाद पोखरेल प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये नेपाल कम्युनिस्ट पार्टीबाट निर्वाचित हुने उहाँ एक्लो उम्मेदवार हुनुभएको छ । उहाँ नेपाली कांग्रेसका उम्मेदवार दिक्पालकुमार शाहीलाई पराजित गरी निर्वाचित हुनुभएको हो । पोखरेलले २०७० सालको संविधान सभा सदस्यमा पनि  निर्वाचित भएर सङ्घीय संसद्को अनुभव हासिल गरिसक्नुभएको छ । २०७९ को निर्वाचनमा भने उहाँ पराजित हुनुभएको थियो । 

यस पटक निर्वाचित भएपछि उहाँले जिल्लाका समस्यालाई सदनमा प्राथमिकतासाथ उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । निर्वाचित भएपछि निर्वाचन क्षेत्रका जनतालाई धन्यवाद तथा सुझाव सङ्कलनका लागि विभिन्न पालिकामा पुगेका उहाँले यहाँका जनताको समस्या र विकासनिर्माणका सवालमा संसद्मा आफ्नो भूमिका प्रभावकारी बनाउने पनि बताउनुभयो । 

उहाँले भन्नुभयो, “दैलेख निर्वाचन क्षेत्र नं. २ मा रहेको भैरवी गाउँपालिका–१, जलजलेको पेट्रोलियम पदार्थ उत्खननका लागि अब बन्ने सरकारलाई ताकिता गर्ने छु । माथिल्लो डुङ्गेश्वर–मालिका–बैक–दुल्लु–कुसापानी–कालीकोट हुँदै मुगुको गमगढीमा जोड्ने उत्तर–दक्षिण राजमार्ग निर्माण गर्न आवश्यक बजेटका लागि पहल गर्ने छु ।” उहाँले दैलेखको आठबिस नगरपालिकाको मुकाम राकम कर्णालीबाट दैलेख सदरमुकाम जोड्ने प्रशासनिक मार्ग निर्माण गर्ने, बँदेल आतङ्क रोक्नका लागि आवश्यक कानुन निर्माण, गुठी समस्या समधानका लागि आवश्यक ऐनकानुन निर्माणमा पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । 

युवालाई नेपालमै रोजगारी दिन सकिने नीति निर्माणमो सदनमा आवाज बुलन्द गर्ने सांसद पोखरेलको भनाइ छ । उहाँले कर्णाली राजमार्गको स्तरोन्नतिसाथै दुई लेनको सडक निर्माणका लागि पहल गर्ने, जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाउने, लामो समयदेखि लालपुर्जाको पर्खाइमा रहेको पुर्जाविहीन नागरिकलाई पुर्जा वितरणका लागि आवाज उठाउने पनि बताउनुभयो । 

उहाँले जिल्लाको समग्र विकासका लागि यहाँका क्रियाशील राजनीतिक दल, सरोरकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै प्राथमिकता निर्धारण गरी काम गर्ने स्पष्ट पार्नुभयो । सडक, खानेपानी, बिजुली, सञ्चार, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत पूर्वाधारलाई प्राथमिकता राखेर काम गर्ने निर्वाचनको प्रतिस्पर्धामा रहेका राजनीतिक दल र उम्मेदवारसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने उहाँको भनाइ छ । 

उहाँले विगतमा सुरु गरिएका दैलेखको राकम कर्णालीमा निर्माणाधीन अस्पताल, दुल्लु स्मार्ट सिटी, पेट्रोलियम पदार्थ अन्वेषणलगायतका कामलाई अब बन्ने सरकारले प्राथमिकतासाथ राख्न आफूले पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “म जनताको कुरा प्रभावकारी रूपमा सरकारसम्म पु¥याउने वातावरण सिर्जना गर्ने छु ।” सांसद पोखरेलले जिल्लाका विभिन्न पालिकामा निर्माण भइरहेका अस्पताल तथा स्वास्थ्य चौकी, सडक, पुल निर्माणको काम छिटो अगाडि बढाउन तिनै तहका सरकारसँग समन्वय र सहकार्यको वातावरणका लागि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । 

उहाँले नेकपा (एमाले) का तर्फबाट आफू एक्लैले कर्णाली प्रदेशको प्रतिनिधित्व गर्नुपर्ने अवस्था आएकाले १० वटै जिल्लाका समस्यालाई संसद्मा पु¥याउने अठोट पनि गर्नुभयो ।