• ४ चैत २०८२, बुधबार

निर्वाचित भएपछि मतदाता भेट्दै रोकाया

blog

नाम्खा गाउँपालिकामा स्थानीयसँग भेटघाट गर्नुहुँदै प्रतिनिधि सभा सदस्य जयपति रोकाया । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, चैत ४ गते । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा हिमाली जिल्ला हुम्लाबाट निर्वाचित सांसद जयपति रोकाया यतिबेला मतदाता भेट्न घरदैलोमा निस्कनुभएको छ । निर्वाचित गराएकोमा धन्यवाद दिन र स्थानीयमा गुनासा सुन्न उहाँ बस्ती बस्तीमा पुग्नुभएको हो । 

निर्वाचित भएपछि प्रतिनिधि सभा सदस्य रोकायाले उत्तरी नाम्खा गाउँपालिकाबाट घरदैलो अभियान सुरु गरेको बताउँदै स्थानीयसँग आशा र अपेक्षा धेरै भएको जनाउनुभयो । उहाँले यतिबेला आफू मतदातालाई धन्यवाद दिन र समस्या तथा गुनासा सुन्नका लागि घरदैलो कार्यक्रममा सरिक भएको बताउनुभयो । काठमाडौँ जानुअगाडि जिल्लाका सातै गाउँपालिकामा पुग्ने र जनताका कुरा सुन्ने उहाँको योजना छ । कतिपय स्थानीयबाट व्यक्तिगत समस्या आउने गरेको भए पनि त्यस्ता माग प्राथमिकतामा राख्न नसकिने बताउँदै उहाँले यसअघि आफूले चुनावी घरदैलो कार्यक्रममा आफ्नातर्फबाट व्यक्त गरिएका प्रतिबद्धतालाई नै पूरा गर्नेतर्फ अग्रसर हुने जनाउनुभयो । 

शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिनका लागि पनि आफूलाई मतदाताले सुझाव दिएको उहाँको भनाइ छ । नाम्खा र सिमकोट गाउँपालिकाका मतदातासँग भेटघाट गर्ने कार्य सम्पन्न गरेका उहाँले गर्न सकिने र समन्वय गर्ने कुरा मात्र आफूले मतदातालाई बताउने गरेको जानकारी दिनुभयो । मतदातासँग आफूले विकासनिर्माणभन्दा पनि नीति निर्माणका क्षेत्रमा जोड दिने र विकासका लागि तिनै तहका सरकारसँग समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता मतदातासँग बताउने गरेको उहाँको भनाइ छ । 

मतदाताका आशा र अपेक्षा असीमित रहेको तर सीमित स्रोतसाधनका कारण सबै समस्या समाधान गर्न नसकिने बताउँदै उहाँले प्राथमिकताका आधारमा विकासका कार्य गर्नका लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।