अनिल पराजुली
हेटौँडा, चैत ४ गते ।मकवानपुरमा सवारी दुर्घटनामा चार जना घाइते भएका छन् ।दक्षिणकाली सडकखण्ड अन्तर्गत ईन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्सामा मङ्गलवार काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको बा.४ख ६०३५ नम्बरको हाईस गाडी दुर्घटनामा परेको हो ।
ब्रेकफेल भई अनियन्त्रित भएको गाडी सडकको दायाँतर्फको भित्तामा ठोक्किँदा दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
दुर्घटनामा सर्लाही बागमती नगरपालिका–९ का दुई वर्षीय आयुष मगर, सर्लाही–१० का ६ वर्षीय अभिनास परियार, बरहथवा नगरपालिका–७ का २१ वर्षीय बिक्की कुमार र गाडी चालक बरहथवा नगरपालिका–६ का २५ वर्षीय करण श्रेष्ठ घाइते भएका छन् ।
घाइतेको निधार, मुख, हात र आँखामा चोट लागेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नान्तीराज गुरुङले जानकारी दिनुभयो । घाइतेको प्रारम्भिक उपचार स्वास्थ्य चौकी सिस्नेरीमा गरिएको थियो भने चालक करण श्रेष्ठलाई थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी सिस्नेरीबाट प्रहरी सहायक निरीक्षक रामप्रसाद यादवको नेतृत्वमा गएको टोलीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ ।