• ११ फागुन २०८२, सोमबार

मोटरसाइकल दुर्घटनामा न्यौपानेको मृत्यु

blog

मोटरसाइकल दुर्घटनामा मृत्यु भएका जन्मप्रसाद न्यौपाने ।

प्रेमराज सिम्खडा

कालीकोट, फागुन ११ गते । मोटरसाइकल दुर्घटनामा परेर कालीकोटमा एक जनाको मृत्यु भएको छ । कालीकोट सदरमुकाम मान्मदेखि घर जानेक्रममा पचालझरना गाउँपालिका–४ का जन्मप्रसाद न्यौपानेको मृत्यु भएको हो ।

नेपाली कांग्रेस कालीकोट प्रदेशसभा (ख) का प्रवक्ता रहनुभएका न्यौपाने सवार भे. ६ प. ३३३१ नम्बरको मोटरसाइकल आज बिहान अन्दाजी ७ः३० बजेको समयमा कर्णाली राजमार्ग अन्तर्गत काले खोला खण्डमा दुर्घटना भएको थियो । 

काले खोला मोड दुर्घटना हुँदा मोटरसाइकल सडकमै रहे पनि न्यौपाने सडकभन्दा तल खस्नुभएको थियो । घाइते अवस्थामा उद्धार गरेर जिल्ला अस्पताल कालीकोटमा उपचार गराउँदै गर्दा उहाँको मृत्यु भएको प्रहरीको भनाइ छ ।  

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश ज्ञवालीले मोटरसाइकलमा उहाँ मात्र सवार रहेको र दुर्घटना हुँदा नै घाँटी भाँचिएर मृत्यु भइसकेको अनुमान गरिएको बताउनुभयो । बाँकी रिपोर्ट पोस्टमार्टमपछि आउने उहाँको भनाइ छ ।