गजेन्द्र गुरुङ
खजुरा, फागुन ११ गते । बाँकेको कोहलपुरमा गत फागुन ७ गतेदेखि सुरु भएको “प्रथम कोहलपुर बाँके जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता २०८२”को च्याम्पियन ब्राइटलाइट एकेडेमी कोहलपुर बनेको छ ।
सोमबार सम्पन्न भएको अन्तिम प्रतिस्पर्धामा ब्राइटलाइट प्रथम बन्दै च्याम्पियन बनेको हो । ब्राइटलाइटले बैजनाथ गाउँपालिकालाई २५–२२ र २५–१८ सोझो २–० सेटले हराएको थियो । त्यसैगरी द्वितीय बैजनाथ गाउँपालिका र तृतीय रोयल ढकेरी राप्तीसोनारी भएका प्रतियोगिता संयोजक निर्मल विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रथम हुने ब्राइटलाइटले ५० हजार, द्वितीय बनेको बैजनाथले ३० हजार रुपियाँ र तृतीय बनेको रोयल ढकेरीले २० हजार नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए ।
त्यसैगरी प्रतियोगिता अवधिभर सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्वर र उत्कृष्ट लिबेरो बनेका एक÷एकजना खेलाडीहरुलाई पनि पुरस्कृत गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार ब्राइटलाइट एकेडेमीका गङ्गाराम शर्मालाई सर्वोत्कृष्ट खेलाडी घोषणा गरिएको थियो । शर्माले नगद चार हजार रुपियाँ प्राप्त गर्नुभयो । त्यसैगरी उत्कृष्ट स्पाइकर बैजनाथ गाउँपालिकाका योञ्जल परियार, उत्कृष्ट सेटर ब्राइटलाइटका कृष्णबहादुर गुरुङ, उत्कृष्ट ब्लकर रोयल ढकेरीका पूर्णबहादुर विक, उत्कृष्ट सर्वरमा रोसन शाही र उत्कृष्ट लिबेरो ग्रिनपिस माविका राजकुमार बम बन्न बन्नुभएको थियो । उहाँहरुले दुई/दुई हजार रुपियाँ प्राप्त गर्नुभयो ।
विजेता टिम र खेलाडीहरुलाई कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्य, कोहलपुर नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र चिमाला क्षेत्री, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपाल लगायतले पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा ब्राइटलाइट एकेडेमी कोहलपुर, बैजनाथ गाउँपालिका, गितापुर भलिबल क्लब कोहलपुर, भेरी प्राविधिक शिक्षालय नेपालगन्ज, रोयल ढकेरी राप्तीसोनारी, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, ट्री गार्डेन रिसोर्ट बैजनाथ, राप्तीसोनारी भलिबल क्लब राप्तीसोनारी, ग्रीन पिस सेकेन्डेरी स्कुल कोहलपुर, नमुना विद्या सदन कोहलपुर, जन ज्ञान ज्योति मावि कोहलपुर, काहेलपुर नगरपालिका कर्मचारी र खजुरा गाउँपालिका गरी १३ वटा टिमले प्रतिस्पर्धा गरेका थिए ।
कोहलपुर नगरपालिकाको आयोजना तथा कोहलपुर नगर खेलकुद विकास समितिको सञ्चालन एवम् व्यवस्थापनमा प्रतियोगिता सम्पन्न भएको थियो ।